आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु «

आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु


बिहीबारबाट आन्तरिक व्यावसायिक उडान सुचारु भएको छ । कोभिड–१९को दोश्रो लहरको रोकथाम तथा नियन्त्रणको लागि सरकारले वैशाख २० गते मध्यरातबाट बन्द गरेको आन्तरिक उडान ५८ दिनपछि बिहीबारबाट नियमित उडान सुरु भएको हो ।
नागरिक उड्डयन प्राधिकरणले बुधबार असार १७ देखि साउन १६ गतेसम्मको लागि आन्तरिक उडान तालिका सार्वजनिक गरेको थियो । सोही तालिका अनुसार बिहीबारबाट उडान सुचारु भएको हो । बिहान ६ बजेबाट वेलुका ६ बजेसम्म हुने उडानका लागि प्राधिकरणले ६ वायुयान कम्पनीका लागि दैनिक ६७ उडान तालिका सार्वजनिक गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौंबाट बुद्ध एयरले ३१, यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले १० सौर्य ३ तथा सीता, समिट र तारा एयरले ८-८ उडान अनुमति पाएका छन् । यात्रुको चाप रहेको सुगमका गन्तव्यमा उडान संख्या बढी रहेको छ भने दुर्गमका गन्तव्यमा उडान संख्या कम रहेको जनाइएको छ ।
यात्रुको चाप हेरेर उडान संख्या निर्धारण हुने वायुयान कम्पनीहरुले जनाएका छन् । संक्रमण जोखिम रहेकाले गर्दा र सरकारको निर्देशन बमोजिम सामान्यमा हुने उडानमा भन्दा हाल उडान संख्यामा ५० प्रतिशत कम गरिएको छ । उडानमा कोभिड–१९को रोकथामको लागि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालन गर्न अनिवार्य गरिएको छ ।
बिहीबार विभिन्न वायुयानका लागि ५९ उडान भर्ने तालिका भएपनि मौसमका कारण ५१ उडान भएको त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थल अन्तर्गतको आन्तरिक टर्मिनलले जनाएको छ । जसमा बिहीबार ५ हजार ६ सय १ यात्रुले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ ।

सातामा २५ अन्तर्राष्ट्रिय उडान हुने
नागरिक उड्डयन प्राधिकरणले जुलाई १ देखि जुलाई ३० सम्मको लागि १३ वायुयान कम्पनीको लागि १४ गन्तव्यमा सातामा २५ अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ ।
असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्न दिएको अनुमति अनुसार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा प्राधिकरणले थप उडान तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार नेपाल वायुसेवा निगम र एयर इन्डियाले काठमाडौं–दिल्ली–काठमाडौंका लागि सातामा १÷१ उडान गर्ने छ । काठमाडौं–दोहा–काठमाडौंका कतार एयरलाइन्स र नेपाल वायुसेवा निगमले सातामा २-२ उडान भर्नेछन् । स्तानबुल–काठमाडौंमा टर्किस एयरलाइन्सले सातामा २ उडान भर्नेछ । दुवई–काठमाडौं–दुवईको लागि निगम, हिमालयन एयरलाइस, फ्लाई दुवईले सातामा १ एक उडान भर्नेछन् । त्यस्तै सारजहामा एयर अरेवियाले र आवुधाबीमा १-१ का साथै दमाममा हिमालयन एयरलाइन्सले सातामा २, कुवेतमा जजिराले २ उडान भर्नेछन् । यस्तै मस्कटबाट सलाम एयर, नारिताबाट निगम, दक्षिण कोरियाबाट कोरियन एयर, चेन्डुबाट एयर चाईना र गोन्जाओबाट चाइना साउथर्नले १-१ उडान भर्नेछन् । मलेसियाको क्वालालाम्पुरमा निगम र हिमालयन एयर १ र क्वालालाम्पु्रबाट मालिन्दो एयरले सातामा १ उडान भर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्