कृषि विकास बैंकको नाफा १८ करोड

कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय घोराहीले चालु आर्थिक वर्ष २०७४-७५ को ५ महिनामा १८ करोड रूपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । साउनदेखि मंसिरसम्ममा १८ करोड ३० लाख रूपैयाँ खुद नाफा गर्न बैंक सफल भएको क्षेत्रिय कार्यालयका सूचना अधिकृत नरवदेश्वर चौधरीले जानकारी दिए ।
बैंकले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा २ अर्ब ३२ करोड १ लाख लगानी गरेको जनाएको छ । क्षेत्रिय कार्यालयले ११ वटा शाखा कार्यालय तथा १ क्षेत्रिय कार्यालय मार्फत यो रकम लगानी गरेको सूचना अधिकृत चौधरीले बताए । यो लगानी बैंकले पुससम्मका लागि लिएको लक्ष्यको ८३ प्रतिशत हो । त्यसैगरी बैंकले मंसिरसम्म २ अर्ब १६ करोड ६० लाख असुली गर्ने सफल भएको छ । जुन बैंकले पुससम्मको लक्ष्यको ८६ प्रतिशत रहेको चौधरीले बताए ।
त्यसैगरी ब्याज २२ करोड ६१ लाख रूपैयाँ असुली गरेको छ । सूचना अधिकृत चौधरीका अनुसार क्षेत्रिय कार्यालयमार्फत ५ जिल्लामा कृषि क्षेत्रमा १३ करोड ६४ लाख, पशुपालनमा २१ करोड १० लाख, वन पैदावारमा २२ लाख, कृषि तथा कृषिजन्य सेवामा २६ करोड २१ लाख लगानी गरिएको छ । त्यसैगरी खानीमा ५ लाख, कृषिजन्य उद्योगमा ९ करोड ७६ लाख, पेय पदार्थ तथा निर्माण सामग्री उत्पादन तथा निर्माणमा ३ करोड १८ लाख, अन्य उत्पादनसम्बन्धमा ४ करोड ८९ लाख लगानी गरेको छ । त्यस्तै आवास कर्जामा ७१ लाख, विद्युत्, ग्यास र पानीमा २१ लाख, इलेक्ट्रोनिक औजारमा ३७ लाख, व्यापारमा ६४ करोड ९८ लाख र होटेल रेस्टुरेण्टमा ८ करोड ६१ लाख लगानी गरेको छ ।
त्यस्तै बैंकले घरायसी काममा ५० करोड ३१ लाख, ओभरड्राफ्ट कर्जामा १४ करोड ६५ लाख, विविध सेवामा १३ करोड १२ लाख लगानी जनाएको छ । क्षेत्रिय कार्यालयले ५ महिनाको अवधीमा दाङमा १ अर्ब ७४ करोड १९ लाख, रोल्पामा १५ करोड ८१ लाख, रुकुममा ९ करोड ६० लाख, सल्यानमा १४ करोड ६० लाख, प्युठानमा १७ करोड ८१ लाख लगानी गरेको सूचना अधिकृत चौधरीले बताए । क्षेत्रिय कार्यालयले मंसिरसम्ममा ४ अर्ब ४३ करोड ६१ लाख लगानी गरेको जनाएको छ । बैंकमा मंसिरसम्म १ अर्ब ५५ करोड ६८ लाख निक्षेप संकलन भएको जनाइएको छ ।