सामाजिक सुरक्षा कोषको रकम रोजगारी अन्त्यपछि निकाल्न मिल्ने दावी «

सामाजिक सुरक्षा कोषको रकम रोजगारी अन्त्यपछि निकाल्न मिल्ने दावी


सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जम्मा भएको रकम अवकाश वा रोजगारी अन्त्य भएपछि निकाल्न मिल्ने दावी गरेको छ ।
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जुनसुकै बेला पनि निकाल्न नपाउने भन्ने बारेको बुझाइ गलत रहेको जनाउँदै कोषले यसबारे स्पष्ट पारेको हो । बिहिबार कोषले सूचना जारी गर्दै चालु आवको असार मसान्तभित्र आबद्ध भई योगदान प्रारम्भ गर्ने योगदानकर्ताले अवकाश हुँदा वा जुनसुकै समयमा रोजगारीबाट अन्त्य हुँदा तत्कालै वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको प्रतिफलसहितको सम्पूर्ण रकम भुक्तानी लिन चाहेमा एकमुष्ट रुपमा लिन सक्ने जनाएको छ । सूचनामा योसहित अन्य व्यवस्थासमेत सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (दोस्रो संशोधन) ले गरेको हुँदा २०७८ असार मसान्तसम्म योगदानकर्ताको योगदान प्रारम्भ गरी-गराई कार्यविधिले प्रदान गरेका सुविधाहरू उपयोग गर्न अनुरोध गरिएको छ ।
कोषका सहप्रवक्ता रोहित रेग्मीले २०७८ श्रावणपछि योगदान प्रारम्भ गर्ने योगदानकर्ताका लागि समेत अवकाश हुँदाका बखतमा नै अवकाश सुविधा योजनामा जम्मा भएको रकम प्रतिफल (ब्याज) सहित फिर्ता पाउने व्यवस्था रहेको विषय प्रष्ट रहेको बताए । उनले योगदानकर्ताले चाहेमा निवृत्तिभरण योजनामा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा रकम मात्र जम्मा हुने गरी सोभन्दा बढी रकम अवकाश योजनामा जम्मा हुने व्यवस्थाबाट जुनसुकै समयमा जागिरबाट अलग हुँदा सम्पूर्ण रकम निकाल्न सकिने व्यवस्था रहेको जनाए ।
जुनसुकै योगदानकर्ताको १८० महिनाभन्दा कम अवधिको योगदान रकम जम्मा भएमा निवृत्तभरण योजनाको रकमसमेत निवृत्तभरण नलिई एकमुष्ठ भुक्तानी लिन चाहेमा लिन सक्ने व्यवस्था समेत रहेको कोषले जनाएको छ । सम्बन्धित योगदानकर्ताले चाहेमा अन्य अवकाश कोषमा रहेको पुरानो रकम कोषमा हस्तान्तरण गर्ने व्यवस्था कार्यविधिले गरेकाले त्यस्तो हस्तान्तरण अनिवार्य नभई स्वेच्छिक प्रावधान रहेको उल्लेख छ ।
श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार श्रम ऐन लागु हुने सम्पूर्ण क्षेत्रका लागि सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य प्रावधान रहेको पनि सूचनामा उल्लेख छ । “यसअघि सरकारले मिति २०७४ कात्तिक २६ गतेकै राजपत्रमार्फत् सूचना प्रकाशित गरी ऐनद्वारा निर्धारित समयावधिभित्र कोषमा रोजगारदाता आबद्ध भइ श्रमिकहरूलाई समेत आबद्ध गराउन सूचित गरेको पुनः स्मरण गराउन चाहन्छौं,” सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्