कठै ! भाइरसमा पनि भ्रष्टाचार «

कठै ! भाइरसमा पनि भ्रष्टाचार

कोरोना भाइरसको नयाँ भेरियन्टको दोस्रो लहरले जनजीवनलाई आक्रान्त बनाउँदै छ । कोरोना कहरले मानव दिनचर्यालाई अस्तव्यस्त बनाउँदै लगेको जगजाहेर नै छ । कोरोना आक्रमणबाट धनी–गरिब, ठूलो–सानो, शक्तिशाली–निमुखा, महिला–पुरुष, जातजाति, भौगोलिक अवस्थिति आदिमा विभेद नगरी आक्रमण गरिराखेको छ । विश्वव्यापी रूपमा आइलागेको यस महासंकटले सर्वत्र अस्तव्यस्त र अन्योलता छाएको छ । अदृश्य काल बनेर अहिले कोरोना विश्वभर घुम्दै छ । चिकित्सा क्षेत्रमा मानवले गरेको वैज्ञानिक चमत्कारलाई समेत चुनौती बन्दै गएको छ कोरोना । सर्वत्र संक्रमणको त्राहिमाम छाइराखेको अवस्थामा केही मतिभ्रष्टहरू व्यक्तिगत लाभका लागि कमिसन र कालोबजारीमा कमाउन र रमाउन तल्लीन देखिँदै छन् । औषधिलगायतका स्वास्थ्य सामग्री खरिद, अस्पतालहरूले प्रदान गर्दै आएका सेवाहरूमा अस्वाभाविक शुल्कको असुली आदि भ्रष्टाचारजन्य गतिविधि मौलाउँदै गएको दिनप्रतिदिन सार्वजनिक हुँदै छ । घातक भाइरस आक्रमणले जनजीवन त्राहिमाम बनाएको बेलामा पनि भ्रष्टाचारजस्तो अमानवीय र अनियमित लिप्त जोकोहीलाई कठै मात्र भन्न सकिन्छ । यस विपद्को घडीमा जनतालाई सहयोग गरेर मानवता देखाउन नसक्ने भ्रष्टचारीहरू भाइरसभन्दा खतरनाक छन् ।
कोरोना लकडाउनको दुरुपयोग गर्दै गलत बाटोबाट कालोबजारी गरेर फाइदा लिने तत्वहरूका लागि अहिले चिट्ठा परेको छ । कोरोना कहरको चपेटामा परेका व्यक्तिहरूलाई सहयोग गर्नेको कमी नभए पनि अनेक तिकड्म रच्दै संकटमा सम्पत्ति थुपार्नेहरूको जमातको कमी पनि समाजमा छैन । मास्क, औषधि, खाद्यवस्तुहरूमा कृत्रिम अभाव बनाएर अत्यधिक मूल्यमा बिक्री गर्नेहरू सलबलाएका छन् । यस कुकृत्यमा लाग्ने केही कारबाहीको दायरामा आए पनि स्थितिमा सुधार आएको छैन ।
मानव सभ्यता र समाजलाई तहसनहस पार्ने गरी दिनानुदिन फैलिँदै गएको अदृश्य शत्रु कोरोनालाई परास्त पार्ने ठोस उपाय र औषधि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । खोपको विकास भए तापनि नयाँ–नयाँ भेरियन्टमा रूपान्तरित कोरोनाले मानव जीवन खोस्दै छ । नेपाल, भारत, ब्राजिललगायतका देशहरूमा यसको प्रकोप झन् डरलाग्दो हुँदै गएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन थपिँदै छ । स्वास्थ्य सामग्री तथा औषधिहरूको अनिकाल बढ्दै गएको छ । दैनिक उपभोग्य सामग्रीहरूको अभाव पनि बिस्तारै खट्किँदै छ । कोरोना संक्रमणको दुष्चक्रीय साङ्लो तोड्न लकडाउन नै रोकथामको अहिलेसम्मको उत्तम उपाय ठहरिएको छ ।
आपूर्ति व्यवस्था सहज नभएको कारणबाट खासगरी दैनिक काम गरेर बिहान–बेलुकी छाक टार्ने विपन्न परिवारलाई लकडाउनले नराम्रोसँग अस्तव्यस्त बनाएको जगजाहेर छ । विपन्न, सुकुम्बासी, दैनिक ज्यालादारी, साना व्यवसायीलगायतका निम्न आय वर्गका परिवारलाई लकडाउनको निरन्तरताले कोरोना भाइरसको त्रासले भन्दा बढी भोकले पिरोलोको छ । यो वर्ग रोग र भोक दुवै शत्रुको सामना गर्न विविश छन् । आफ्ना अबोध बालबच्चाको भोक मेटाउन झिनो आस गरेका सरकारी राहत प्राप्तिमा नागरिकता, सिफारिस आदिको झमेलाले टाठाबाठालाई फाइदा पुग्ने देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विपन्न ८० करोड जनतालाई आगामी तिहारसम्म निःशुल्क खाद्यवस्तु वितरण गर्ने घोषणा गरेका छन् । तर, नेपाल सरकारले विपन्न जनताका लागि त्यस्तो ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
नेपालमा कोरोना परीक्षणका पर्याप्त प्रयोगशालाहरू नभएकाले संक्रमणको खास स्थिति पत्ता लागेको छैन । घरमा आगो लागेपछि इनार खन्ने प्रवृत्तिका कारण कोरोना पहिचान र उपचार समयमा नहुँदा ठूलो विपत्तिको जोखिम उत्तिकै छ । विगतमा चीनबाट ठेकेदारमार्फत ल्याइएको चिकित्सकको सुरक्षाका लागि आवश्यक पीपीई तथा कोरोना भाइरस परीक्षण कीटमा गुणस्तर र भ्रष्टाचारबारेको बहस चुल्लिएको छ । यस्तो राष्ट्रिय संकट र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील विषयमा भ्रष्टाचारजस्तो गम्भीर प्रश्न उठ्नु निन्दनीय छ । महामारीका रूपमा फैलिएको कोरोना भाइरस भन्दा पनि मानवताविरोधीयस्ता प्रकृतिका भ्रष्टाचारको खतरा डरलाग्दो हो । महामारी संकटबाट आक्रान्त देश र जनतालाई यो वा त्यो बहानाबाट लुट्ने यस्ता भाइरसहरूको उपचार बेलैमा गर्न सरकार चुक्नु हुन्न ।
कोरोनाविरुद्धको लडाइँ प्रभावकारी बनाउन सरकार र सरोकार पक्ष चनाखो हुनुपर्छ । बुद्धिमान देखेर र मूर्ख परेर चेत्छ भनेझैं हामीले पनि अरूको अवस्थाबाट सिकेर बेलैमा कोरोनाविरुद्धको मार्गचित्र बनाएर नै रोकथामको उपाय अवलम्बन गर्न विलम्ब गर्नु हुँदैन । विश्वका कतिपय देशहरूले कोरोना संक्रमणलाई गम्भीरतापूर्वक लिएर आवश्यक पूर्वतयारी गरेर कोरोना संक्रमणको गतिलाई निस्तेज पार्न सफल भएका छन् । वर्तमानमा खोपको सीमितता तथा भाइरसको रूपान्तरणका कारण कोरोनाको प्रभावकारी उपचार होला भन्ने शंका नै छ । रोग लागेपछिको उपचारमा ढुक्क हुने अवस्था नहुन्जेल रोकथामका उपायको अवलम्बन नै उत्तम उपाय ठहर्छ । अहिलेसम्मको अध्ययन र अनुभवबाट कोरोना संक्रमितमध्ये २ देखि ३ प्रतिशतको मात्र मृत्यु हुने देखिए तापनि संक्रिमितमा नयाँ–नयाँ जटिल रोगहरू देखिँदै छन् । पछिल्लो समय कालो ढुसी नामक रोगको संक्रमणले भारतमा थप आतंक फैलाउँदै छ । खासगरी कोरानाको कारण रोग प्रतिरोधात्मक क्षमता कम भएका र तङ्ग्रिँदै गरेका बिरामी यसका सिकार भएका छन् ।
अप्रत्याशित देखिएको यस रोगको उपचारका औषधि पर्याप्त पाउन सकेको अवस्था छैन । स्वास्थ्यकर्मीको भनाइअनुसार यसको उपचारभन्दा पनि रोकथामका उपायहरू प्रभावकारी रूपमा अवलम्बन गर्नुको विकल्प छैन । रोगको लक्षण र सर्ने माध्यम तथा बच्ने उपायहरूबारे व्यापक जनचेतनाको खाँचो टड्कारो देखिन्छ । मानिसले आफ्नो बानीबेहोरा र आहारविहार स्वस्थकर बनाएमा कोरोना भाइरस संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीको सुझावलाई आत्मसात् गर्नेतर्फ हेक्का राख्नु बुद्धिमानी हुन्छ ।
जनसम्पर्कबाट सहजै सर्ने यस भाइरसबाट बच्ने उपाय भनेकै मानव जमघटलाई बन्देज वा कम गर्नु नै हो । अहिले देशमा लकडाउन चलेको छ । साथै सभासम्मेलनलगायतका भीडभाडजन्य कार्यक्रम नगर्न नगराउन सरकारले अपिल गरेको छ । तथापि सर्वसाधारणको जमघट र बेफिक्री चहलपहल हेर्दा थप कडाइको खाँचो देखिन्छ । सरकारी निकायको आदेश, निर्देश र अपिलका कागजी झटारोले मात्रै भविष्यमा आइपर्ने विपत्ति टर्नेछैन । कोरोनाविरुद्धको भाषण र आश्वासनभन्दा एक्सन अहिलेको आवश्यकता हो । लकडाउनलाई अनुशासित बनाउन, आपूर्ति व्यवस्थालाई भरपर्दो बनाउन तथा अनियमितताहरूलाई निर्ममतापूर्वक नियन्त्रण गर्न अन्य देशहरूको जस्तै आवश्यकताअनुसार स्वास्थ्य आपत्काल लगाउन पछि हट्नु हुन्न । विपत्तिमा नियम कानुनको खिल्ली उडाउँदै देश र जनतालाई लुट्ने जोकोही भ्रष्टाचारीलाई निर्मम कारबाही गर्न सरकारले साहस देखाउने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्