बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडान गरिने

ललितपुर महानगरपालिकाभित्रको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ ।
ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी–बल्खु सडक खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
स्मार्ट सडक बत्ती जडानका लागि प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकोमा ललिपुर महानगरपालिकाले कुल लागतको ६० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत र ललितपुर महानगरपालिकाले बेहोर्ने ६० प्रतिशत रकममध्येबाट सडक विभागले ३ करोड रुपैयाँ बेहोर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।
सडक बत्तीलाई सर्भर रुमबाट नियन्त्रण गरिने र सडकबत्ती बालेवापतको शुल्क ललितपुर महानगरपालिकाले तिर्ने बताइएको छ । प्रमुख महर्जनले सहरलाई उज्यालो बनाउनुका साथै रातको समयमा हुने दुर्घटना रोक्नका लागि पनि सडकमा बत्ती जोड्न लागिएको बताए । उनले महानगरपालिकाभित्रका रिङरोड बाहिरका बस्ती खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा पनि स्मार्ट सडकबत्ती जडान गर्नका लागि टेण्डर प्रकाशित भइसकेको जानकारी पनि दिए ।