फेवातालको पानी पहिलाकै अवस्थामा फर्कियो «

फेवातालको पानी पहिलाकै अवस्थामा फर्कियो


पोखराको मुख्य पर्यटकीयस्थल फेवातालले करिब ४ महिनापछि आफ्नो आकार लिएको छ । पोखराको फेवाबाँधको मर्मत पश्चात हाल तालको पानीको सतह पहिलाकै अवस्थामा फर्किएको जलस्रोत तथा सिँंचाइ विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख किरण आचार्यले बताए ।
फेवाबाँध मर्मतका लागि गत माघबाट फेवातालको पानीको सतह करिब एक मिटर घटाएपछि पुनः बाँध मर्मत पश्चात बाँध बन्द गरे पनि ४ महिनासम्म ताल पहिलाको अवस्थामा फर्किन नसकेको अवस्थामा केही दिनदेखि निरन्तर पानी परेकाले हाल तालको पानी पहिलाकै सतहमै पुगेको आचार्यले जनाए । उनले भने, “फेवातालको पानीको सतह लगभग पहिलाकै अवस्थामा पुगेको छ, हामीले बाँध मर्मतको फिनिसिङसहितको काम सकेसंँगै पुनः एक मिटर पानीको सतह बढाउने लक्ष्यमा रहेका छौं ।” फेवातालमा अतिक्रमण र दोहोन नरोकिएकोले गर्दा तालको भू–भाग बढाउने अभियानअन्तर्गत पानीको सतह बढाए पश्चात तालले आफ्नो आकार आफै लिने प्रमुख आचार्यले जनाए । अबको करिब एक सातापछि फेवाबाँधबाट करिब ९९ प्रतिशत पानी चुहावट रोकिने उनले दाबी गरे ।
करिब ९२ प्रतिशत रबरशिल फेर्नेदेखि मर्मतको काम सकिएको बताएका उनले अहिलेकै अवस्थामा तालको बाँधको पानी ९२ प्रतिशतजसो नियन्त्रण भएको आचार्यले जनाए । उनले करिब एक दशक पानीको बहाव नियन्त्रण वा थेग्न सक्ने दाबी गरे । उनले भने, “हामीले गन प्रयोग गरी चर्केको भागमा मसला भर्ने (प्रेसर सिमेन्ट ग्राउटिङ) गरेका छौं ।” डाउनसिल साइटको लन्चिङ एप्रोनलगायतको काम सम्पन्न भएको डिभिजन प्रमुख आचार्यले जनाए ।
पोखराको फेवातालको बाँध करिब ३८ वर्षपछि मर्मत भएको हो । यस अघि बाँधको रबरशिल पानीले खियाएका कारण बाँधबाट पानी चुहावट भएको थियो । २०१८ सालमा पोखराको फेवातालमा भारतको सहयोगमा बाध निर्माण भएको त्यस पशचात २०२८ सालदेखि भत्कन सुरु भएको बाँध २०३१ सालमा बाध फुट्न गएको आचार्यले बताए ।
गत वर्ष कार्यालयले फेवातालको बाँधको अध्ययन अवलोकनसहितको प्रतिवेदन तयार गरी तत्काल बाँध मर्मत गर्नुपर्ने भनी गण्डकी प्रदेश सरकारलाई राय पेस गरेबमोजिम फेवा सिँंचाइ प्रणालीअन्तर्गत २ करोडको टेण्डर भएको थियो । फेवातालको पानीको सतहः बढेसँंगै आफूहरू निकै खुसी भएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्