Logo

निषेधाज्ञाको अवधिभर खाद्यान्न र ग्यासमा २०% छुट


निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट व्यवस्था गरिएको छ ।
उपभोक्तालाई राहत दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको हो । दुई सरकारी कम्पनीले वितरण गर्ने, चामल, दाल, चिनी, गेडागुडी, तेल र एसटीसी ग्यासमा २० प्रतिशत छुटको व्यवस्था गरिएको हो । गत वर्षको बजेटमा दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

थप दुईवटा पेट्रोलियम पाइपलाइन बनाउन
आगामी आर्थिक वर्षको बजेट सार्वजनिकमार्फत थप दुईवटा पेट्रोलियम पाइपलाइन निर्माण विस्तार गरिने भएको छ । भारतको सिलगढी हुँदै सीमापारी पानीट्यांकीदेखि नेपालको झापास्थित चारआलीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने छ । चारआलीमा निगमको शाखा कार्यालय छ । त्यहाँ पाइपलाइनबाट आएको तेल भण्डारण गर्न यसअघि नै जग्गा खरिद गरिसकिएको छ ।
त्यस्तै, बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएको छ । अहिले अमलेखगञ्जसम्म भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेल आइरहेको छ । सोही संरचना प्रयोग गर्दै लोथरसम्म पाइप विस्तार गर्न लागिएको हो । लोथरमा यसअघि नै जग्गा खरिद गरिसकिएको छ । दुवै परियोजनाको सर्वे र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सकिएको छ ।
पाइपलाइनबाट आएको तेल भण्डार गर्न दुवै स्थानमा ठूलो क्षमताको भण्डारण गृहसमेत निर्माण हुनेछ । तीन वर्षभित्र दुवै पाइपलाइन सञ्चालनमा ल्याइसक्ने बजेटमा उल्लेख गरिएको छ । करिब दुई वर्षअघि मोतिहारी–अमलेखगञ्ज रुटमा पहिलो पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्