Logo

४२ अर्ब निक्षेप थपिँदा ७ अर्ब मात्र कर्जा

बैंकिङ प्रणालीमा स्रोत अभाव बढेको भन्दै सरकारले स्थानीय तहलाई छुट्याएको बजेट बैंक खातामा हालेपछि निक्षेप बढेको हो ।

चालू आर्थिक वर्षको पाँचौं महिनाको तेस्रो सातामा बाणिज्य बैंकहरूले कर्जाको तुलनामा ६ गुणा बढी निक्षेप संकलन गरेका छन् । सरकारले स्थानीय तहका लागि विनियोजन गरेको बजेट बाणिज्य बैंकमा गएकाले निक्षेप बढेको हो ।
मंसिरको १४ गतेदेखि २१ गतेसम्ममा बैंकहरूले ४२ अर्ब निक्षेप संकलन गरेर ७ अर्ब रूपैयाँ मात्र कर्जा लगानी गरेका छन् । बैंकहरूले नयाँ निक्षेपको अभावमा कर्जा नियन्त्रण गरेका थिए । तर, बैंकिङ प्रणालीमा स्रोत अभाव बढेको भन्दै सरकारले स्थानीय तहलाई छुट्याएको बजेट बैंक खातामा हालेपछि निक्षेप बढेको हो । तर पनि बैंकहरूले कर्जा लगानीमा भने नियन्त्रण नै गरेको अवस्था छ । बैंकहरूको पुँजी, कर्जा तथा निक्षेप (सीसीडी) अनुपात कसिलो अवस्थामा भएपछि बैंकहरूले कर्जा प्रवाह नियन्त्रण गर्नुपरेको हो ।
बैंकहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आक्रामकरूपमा कर्जा प्रवाह गरेपछि सीसीडी रेसियो कसिलो अवस्थामा पुगेको हो । दोस्रो त्रैमास सुरु भएसँगै बैंकहरूले निक्षेप नआउँदासम्म कर्जा दिने अवस्था नभएपछि नियन्त्रण गरेका थिए ।
सरकारले स्थानीय तहलाई पठाएको ३८ अर्ब ६५ करोड रूपैयाँ बायिाज्य बैंकहरूमा आएपछि निक्षेप ४२ अर्बले बढेको हो । सरकारले स्थानीय तहको बजेटको ५० प्रतिशत वाणिज्य बैंकहरूमा पठाएको हो । स्थानीय तहहरूले खोलेको वाणिज्य बैंकका खातामा सरकारले सोमबार ३८ अर्ब ४६ करोड रूपैयाँ जम्मा गरेको हो । स्थानीय तहको बजेट राष्ट्र बैंकमा रहेको सरकारको खातामा बसेको भन्दै बैंकरहरूले स्थानीय तहले नै बैंकहरूको खातामा राख्न पाउने व्यवस्था मिलाउन आग्रह गर्दै आएका थिए । महालेखा नियन्त्रकले नमान्दा नमान्दै पनि सरकारले कार्यविधि संशोधन गरे डेढ वर्षपछि स्थानीय तहको पैसा बाणिज्य बैंकहरूमा निक्षेप राख्न पाउने व्यवस्था गरेको हो ।
दोस्रो त्रैमासपछि निक्षेपको अभाव बढेपछि कर्जा प्रबाहमा समेत नियन्त्रण गर्नुपरेको थियो । उच्च दरमा बढेको ब्याजदर नियन्त्रणका लागि बैंकहरूले भद्र सहमति गरेर निश्चित सिमा तोकेका थिए । अहिले बैंकहरूले ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै असर नगरोस् भन्दै मुद्दती निक्षेपमा संस्थाका लागि १० प्रतिशत तोकका छन । त्यो सहमतिमा पनि ब्यक्तिगत निक्षेपकर्ताको सिमा भने हटाएका छन् । त्यसले पनि निक्षेप थपिनमा केही सहयोग गरेको हो ।
चालू आर्थिक वर्षको मंसिर २१ गतेसम्ममा बैंकहरूमा कूल २६०७ अर्ब निक्षेप रहेको छ । सो अवधिमा बैंकहरूले २३०९ अर्ब कर्जा प्रवाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्