Logo

माथिल्लो तामाकोसीले वैशाखभित्रै विद्युत् उत्पादन सुरु गर्ने

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाख महिनाभित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।
संसद्को अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु हुने जानकारी गराएका हुन् । उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए । उनले भने, “आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।”
बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थप्दै लगिने बताए । यसरी आगामी भदौ महिनाभित्रमा माथिल्लो तामाकोसीबाट ४ सय ५६ मेगावाट विद्युत् उत्पादन भइसक्ने सचिव घिमिरेले दाबी गरे । उनले भने, “हामी वैशाखभित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत् सिस्टममा ल्याउँछौं ।”
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोसीबाट विद्युत् उत्पादन सुरु गर्ने रहे पनि वैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइराखेको बताए । वैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भए पनि एकदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिनपछि विद्युत् उत्पादन सुरु हुँदा वैशाख ३१ गते सम्भव हुने बताए ।

प्रतिक्रिया दिनुहोस्