नयाँ वर्ष २०७८
अस्वाभाविक मूल्य वृद्धिको चाप बढ्दै
गत एक वर्षको अवधिमा बजारमा दैनिक उपभोग्य वस्तुदेखि पेट्रोलियम पदार्थको मूल्य अस्वभाविक रुपमा बढ्यो । यहि गतिमा पेट्रोलियम पदार्थको मूल्य २०७८ सालमा बढ्दै गयो भने बजारमा मूल्य वृद्धि सरकारले थामिनसक्नु हुने निश्चित छ । २०७६ चैत ९६ रुपैयाँ रहेको एक लिटर पेट्रोलको मूल्य २०७७ चैतअन्त्यमा १२० रुपैयाँ पुग्यो । यहि गतिमा पेट्रोलको मूल्य बढ्दा २०७८ सालमा कति पुग्छ अनुमान मात्र लगाउन सकिन्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नासाथ अन्य सबै वस्तु तथा सेवाको पनि मूल्य बढ्ने पक्का हो ।
गत वर्ष विविध कारणले बजारमा विशेष गरी खाने तेल, गेडागुडी, चामल, प्रशोधित खानेपानी, पेट्रोलियम पदार्थ, कुखुराका मासु, मासको दाल, रहर दाल, मुसुरोको दाल, लत्ताकपडाको मूल्य बढेको हो । बजारमा अस्वभाविक मूल्य वृद्धि लगातार बढ्दै गएपनि नियमनकारी निकाय भने मौन देखिन्छ । कालोबजारी गर्ने दुई÷चार वटा उद्योगलाई कारबाही गरिएपनि बजार भने पूर्णरुपमा स्वच्छ र मर्यादित बन्न सकेको छैन । नियमन गर्ने निकाय कमजोर हुँदा व्यवसायीले खुलेआम मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् ।
कोरोना भाइरसको संक्रमणमा परेका उपभोक्तालाई बजारमा भएको अस्भाविक मूल्य वृद्धिले थप मारमा पारेको छ । गत चैत ११ देखि सरकारले कोभिडको संक्रमण नियन्त्रण गर्नका लागि लकडाउन गरेको थियो । लकडाउनको बेला म्याद नाघेका, लेबल नभएका सामान व्यवसायीले खुलेआम बिक्री गरिरहेका छन् । अघिल्लो महिना सरकारले कुखुरा र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेपनि बजारमा भने कुखुराको मासुको मूल्य अस्वभाविक रुपमा बढेको छ । गत वर्ष २ सय ५० रुपैयाँमा पाइने कुखुराको मासु अहिले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ । खाने तेलको मूल्य तेब्बर बढेको छ ।
कच्चा पदार्थ बढेर आएको बहाना देखाउँदै व्यवसायीले खाने तेलमा अस्वभाविक मूल्य बढाउँदा त्यसको मार उपभोक्तालाई पर्न गएको छ । गत वर्ष चैत महिनामा प्रतिलिटर ९६ रुपैयाँ रहेको प्रतिलिटर पेट्रोलको मूल्य अहिले बढेर १ सय २० रुपैयाँ पुगेको छ । सो अवधिमा ८५ रुपैयाँ रहेको डिजेलको मूल्य अहिले बढेर १ सय ३ पुगेको छ । यति मात्र नभएर बजारमा अधिकांश सामानको मूल्य बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएकाले त्यसको असर स्थानीय बजारमा पर्न थालेको नेपाल आयल निगमको भनाइ छ । आगामी दिनमा इन्धनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन कोभिडको संक्रमणमा परेको उपभोक्तालाई बजारमा भएको अस्वभाविक मूल्य वृद्धिले थप मारमा पारेको बताउँछन् । “कालोबजारी, कृत्रिम अभाव, कार्टेलिङ्ग गर्ने व्यवसायीलाई कारबाही गर्ने ठाउँमा सरकारले सम्मान गरेको छ” उनले भने, “यसले गर्दा पनि बजारमा मूल्य बढाउन थप सघाउ पु-याएको छ ।” नियन्त्रण गर्ने सरकारी प्रयास कमजोर हुँदा बजारमा दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य बढेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा तोरीको कच्चा पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा खाने तेलको मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढाइँले बजार धेरै निकायसँग सम्बन्धित भएकाले विभागको एकल अनुगमनबाट बजार मूल्य नियन्त्रण गर्न नसकिने बताए । “बजार अनुगमन गरेर ठगि गर्ने उद्योगी व्यवसायीलाई कारबाही गरिरहेका छौं”, उनले भने, “बजार पूर्णरुपमा व्यवस्थित बन्नका लागि व्यवसायी इमान्दार र उपभोक्ता पनि सचेत हुनुपर्छ ।” पछिल्लो समय अनुगमनको मोडालिटी परिवर्तन गरेर उत्पादक र आयातकर्तामा अनुगमन गरेर मूल्य नियन्त्रण गर्न लागिएको उनको भनाइ छ ।
बजार अनुगमन गरी अस्वाभाविक मूल्य बढाउने व्यवसायीलाई कारबाही बताएपनि बजारमा भने मूल्य, गुणस्तर, नापतौलमा उपभोक्ता दिनहुँजसो ठगिएका छन् । विभागको तथ्यांकले बजारमा कालोबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगि, म्याद नाघेका सामान खुलेआम बिक्री हुँदा उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको देखाउँछ । बजार अनुगमन र नियमन गर्ने जिम्मेवारी पाएको बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रभावकारी रूपमा बजारमा अनुगमन नगर्दा बजार व्यवस्थित हुन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।