रेमिट्यान्सको आयको वृद्धिदर प्रभावित «

रेमिट्यान्सको आयको वृद्धिदर प्रभावित


कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या उल्लेख्यरुपमा घटेपछि देशको मुख्य आयस्रोत रेमिट्यान्स आम्दानी पनि प्रभावित हुन थालेको छ ।
महामारीका कारण रेमिट्यान्स पठाउने अवैध माध्यमहरू बन्द हुँदा गत आर्थिक वर्षसम्म बढेको रेमिट्यान्सको बृद्धिदर चालू आर्थिक वर्षबाट भने घट्न थालेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिना साउनमा रेमिट्यान्स २३ प्रतिशतले वृद्धि भएकोमा वृद्धिदर घट्दै फागुनमा ८.६ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकका अनुसार फागुनसम्ममा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
विश्वव्यापी रूपमा कोभिड फैलिएसँगै रेमिट्यान्स आम्दानीमा असर गर्ने अनुमान गरिएको थियो । राष्ट्र बैंकले कोभिडका कारण रेमिट्यान्स आम्दानी १० प्रतिशतसम्म गिरावट आउने अनुमान गरेको थियो भने विश्व बैंकले २० प्रतिशत असर पर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, वार्षिक रूपमा अघिल्लो आवको तुलनामा गत आवमा रेमिट्यान्स ०.५ प्रतिशतले मात्र घटेको थियो ।
कोभिडको संक्रमण र लकडाउनका कारण गत वर्ष चैत महिनामा ३४ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो । त्यसपछि क्रमशः बढ्दै असार महिनामा मात्र १६ अर्ब रेमिट्यान्स भित्रिएको थियो । साउनबाट भने रेमिट्यान्सको वृद्धिदर क्रमश घट्न थालेको हो ।
कोभिड र लकडाउनका कारण रेमिट्यान्स पठाउने अनौपचारिक च्यानल बन्द हुँदा वैधानिक च्यानलबाट रेमिट्यान्स वृद्धि भएको थियो । यसैगरी कोभिडका कारण रोजगारी गुमाएर फर्किने कामदारले एकमुस्ट रकम पठाएकाले पनि रेमिट्यान्स बढेको देखिएको थियो । यसैगरी अमेरिकी डलरको भाउ उच्च भएकाले रेमिट्यान्सको वृद्धि सकारात्मक भएको हो ।
कोभिडको असरले वैदेशिक रोजगारी प्रभावित भएकाले त्यसको असर रेमिट्यान्समा विस्तार देखिन थालेको केन्द्रीय बैंकले अनुमान गरेको छ ।
राष्ट्र बैंकको प्रतिवेदनमा चालू आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो । यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले मात्र घटेको थियो ।

निक्षेपको तुलनामा कर्जा वृद्धि उच्च
फागुनसम्ममा पनि बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप वृद्धिको तुलनामा कर्जा लगानी बढाएका छन् । कोभिडको प्रभावका कारण लामो समय लगानी बढाउन नपाएका बैंकहरू कोभिड प्रभाव कम हुनेबित्तिकै व्यवसाय विस्तारमा आक्रामक भएका हुन् । फागुनसम्ममा बैंकहरूमा निक्षेप ११ प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी भने १७.४ प्रतिशतले वृद्धि भएको छ ।
फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.४ प्रतिशत, ३४.४ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ । यसैगरी बैंकहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २८.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५.२ प्रतिशतले बढेको छ ।
बैंकहरूको कर्जामध्ये आवधिक कर्जा १७.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १९.१ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १७.३ प्रतिशतले, रियल स्टेट कर्जा ७.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ६१.५ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा ३०.३ प्रतिशतले बढेको छ । हायर पर्चेज कर्जा ४.६ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्