पुराना पाइपलाइनमा करिब आधा चुहावट

सरकारले खानेपानी चुहावट (लिकेज) घटाउनका लागि पुराना पाइपलाइन विस्थापन गर्ने भएको छ । पुराना पाइपका कारण चुहावट बढिरहेको गुनासो बढ्न थालेपछि सरकारले नयाँ पाइपलाइन बिछ्याएर पुराना पाइपलाइन विस्थापित गर्न लागेको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी लिकेज घटाउन मेलम्चीको खानेपानी वितरण गर्नका लागि नयाँ पाइपलाइन बिछ्याउने काम भइरहेको बताएको छ । खानेपानी मन्त्रालयका अनुसार, नयाँ पाइपलाइन विस्तारको काम काठमाडौंमा ८० प्रतिशत भागमा सम्पन्न भइसकेको छ । अरु बाँकी भागमा पाइपलाइन बिछ्याउनका लागि पनि सम्झौता भएर काम सुरु भइसकेको मन्त्रालयले बताएको छ ।
हाल नयाँ पाइपलाइन बिछ्याउन बाँकी रहेका स्थानमा पुरानै पाइपलाइनबाट मेलम्चीको पानी वितरण भइरहेको तर खानेपानीको चुहावट कम गर्न छिट्टै नै नयाँ पाइपलाइनको प्रयोग गरिने केयूकेएलले बताएको छ । पुराना पाइपलाइनका कारण पानी चुहावट बढ्न थालेको केयूकेएलले जनाएको छ । केयूकेएलका अनुसार, पुरानो पाइपलाइनमा ४० प्रतिशत लिकेज छ । लिकेजकै कारण मेलम्चीको पानीले सडकमा पानी बगेर पोखरी बन्न थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसको व्यवस्थापनका लागि पत्रसमेत पठाइसकेको छ ।
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले लिकेज कम गरेर उपभोक्ताको मागअनुसारको पानी आपूर्ति व्यवस्थापन सहज बनाउन नयाँ पाइपलाइन प्रयोग गर्नुपर्ने बताए । “अहिले करिब करिब रिंगरोडभित्र चाहिँ नयाँ पाइपलाइनहरू बिछयाउने अवस्था छ, रिंगरोडभित्र त्यसरी नयाँ पाइपलाइन बिछयाउँदा पनि अहिले तुरुन्तै नयाँ पाइपलाइनबाट पानी वितरण गर्नलाई परीक्षणको काम बाँकी छ,” उनले भने, “तत्कालका लागि पुरानै पाइपलाइनबाट पानी वितरण हुन्छ तर पुरानो पाइपलाइनबाट पानी वितरण गर्दा समस्या आएका छन्, पुरानो पाइप भूकम्पको समयमा पनि धेरै क्षति पुगेकाले बढी चुहावट छ, मर्मत त सुरु भएको छ तर अब पनि बढ्दै जानेछ ।”
उनका अनुसार, पुरानो पोखरीबाट पुरानो पाइपलाइनमा पानी वितरण गर्दा पाइप साइजहरू सानो भएकाले समस्या छ । “जति धारालाई दिनुपर्ने पानी हो त्यति दिनलाई पाइप साइज पनि त्यहीअनुसार हुनुपर्छ,” उनले थपे, “त्यो पाइपको साइज सानो हुनाले हामीले पर्याप्त पानी दिए पनि पाइपले तान्न सक्ने अवस्था पनि हुँदैन ।”
मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा करिब ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको जनाएको छ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अन्तिम अवस्थामा पुगेको निर्देशनालयले बताएको छ । बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयले बताएको छ । निर्देशनालयका अनुसार, थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमि सम्पन्न भइसकेको र थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ ।