Logo

अर्बमाथिका २० परियोजनामा लगानी प्रतिबद्धता

उद्योग विभागमार्फत चालु आर्थिक वर्ष २०७७-०७८ मा एक अर्ब माथिका २० वटा परियोजनाले लगानीको प्रतिबद्धता जनाएका छन् । स्वदेशी लगानीमा सञ्चालन हुने १८ वटा र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) का २ गरी २० वटा परियोजनामा लगानीको प्रतिबद्धता आएको हो । ठूलो लगानीका साथ आउन लागेका परियोजनामा अधिकांश हाइड्रोपावर कम्पनी छन् भने कृषि फार्म, निर्माण तथा होटलले पनि लगानीका लागि प्रतिबद्धता जनाएका छन् ।
चालु वर्षमा एक अर्ब माथि लगानीको प्रतिबद्धता जनाउने विदेशी लगानीमा व्रिटिस भर्जिन आइस्ल्याण्डले शतप्रतिशत विदेशी लगानीमा कास्कीमा ९० वेड क्षमताको होटल तथा २०० सिट क्षमताको रेष्टुराँ खोल्न विभागसँग अनुमति माग गरेको छ । यसका लागि उसले ३ अर्ब रुपैयाँ लगानी गर्नेछ भने एक सय ४६ जनालाई प्रत्यक्ष रोजगारी दिइ ५ सय केभिए पावर खर्च गर्नेछ । त्यसैगरी ठूलो लगानीमा आउन लागेको अर्काे विदेशी प्रतिबद्धता प्राङ्गारिक मल उत्पादन उद्योगसँग सम्बन्धित छ । अमेरिकाको लगानी रहने यस उद्योगमा १ अर्ब ४८ करोड लगानी हुनेछ भने १५ प्रतिशत स्थानीय र ८५ प्रतिशत विदेशी लगानी रहनेछ । यो उद्योगले १२ सय केभिए विद्युत् खर्च गर्ने गरी प्रतिबद्धता लिएको छ ।
पछिल्लो समय विभागले एफडीआई स्वीकृत भएको २ वर्षभित्र सम्बन्धित लगानीकर्ताले उद्योग व्यवसायमा लगानी गरिसक्नुपर्ने व्यवस्था गरेको छ । विभागले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियामावली २०७७ जारी गर्दै स्वीकृत विदेशी लगानीलाई बढीमा २ वर्षभित्र उद्योग व्यवसायमा लगानी गरिसक्नुपर्ने प्रावधान कायम गरेको हो ।
यता स्वदेशी लगानीमा आउन लागेका उद्योगमा भने अधिकांश हाइड्रोपावर कम्पनी छन् । म्याग्दी जिल्लामा मात्रै १० अर्ब रुपैयाँमा हाइड्रो भिलेज प्रालि र ३ अर्ब ८३ करोड लगानीमा सुस्मीत हाइड्रोपावरले लगानीको प्रतिबद्धता जनाएका छन् । हव पावरका लागि लम्जुङमा २ अर्ब ५२ करोड, शंखुवासभामा केवीएनआर इस्वा पावरका लागि १३ अर्ब, सुपर बागमती हाइड्रोपावर मकवानपुरलाई ५ अर्ब ८७ करोड, सोलुखुम्बुमा एपेक्स मकालु हाइड्रोपावरका लागि ४ अर्ब, सोलखुम्बुकै गौरीशंकर पावर डेभलपमेन्टलाई ४ अर्ब ६९ करोड लगानी प्रतिबद्धता आएको छ । त्यसैगरी सोतीखोला हाइड्रोपावर कास्कीका लागि ५ अर्ब, आलम्पु जलविद्युत् विकास कम्पनी दोलखा १ अर्ब ६६ करोड, जय भद्रकाली डेलपर्स कास्कीमा १ अर्ब ५७ करोड लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । कावेली हाइड्रोपावर ताप्लेजुङमा ४ अर्ब २७ करोड, बलेफी इनर्जी सिन्धुपाल्चोक ५ अर्ब ९६ करोड, रेमिट हाइड्रो ताप्लेजुङ १७ अर्ब ६२ करोड र गुरांस हाइड्रोपावर संखुवासभामा ५ अर्ब ९७ करोडको प्रतिबद्धता आएको छ ।
हाइड्रोपावरका अलावा काठमाडौंमै होटल सञ्चालन गर्न २ अर्ब, गोरखामा कालिका कन्स्ट्रक्सर्नका नाममा दुईवटा लगानी प्रतिबद्धता स्वीकृत भएका छन् । जसमा एउटा परियोजना १ अर्ब ६५ करोडको छ भने अर्काे १ अर्ब ९२ अर्बको छ । । धनुषामा कृषि फार्म खोल्न १ अर्ब ४ करोडको प्रतिबद्धता आएको छ । उद्योग विभागका महानिर्देशक जिवलाल भुसालले कोभिड महामारीकै बिचमा पनि यो लगानी प्रतिबद्धता आउनु सकारात्मक पक्ष भएको बताए । तुलनात्मक रुपमा चालु वर्षमा स्वदेशी लगानीकर्तामा लगानी प्रतिबद्धता बढ्नु त्यसमा पनि उद्योगमा लगानीका अवसर खोजिनु अझ राम्रो पक्ष भएको बताउँछन् ।
औद्योगिक व्यवसाय ऐन–२०७५ ले उद्योगले ५ विधामा वर्गिकरण गरेको छ । जसमध्ये १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएमा साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला उद्योग विभागले दर्ता गर्छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी ६ प्रकारका उद्योग दर्ता हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्