सातामै २७ अर्ब कर्जा

वाणिज्य बैंकहरूले पछिल्लो एक सातामै २७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । कोभिड–१९ को महामारी कम भएसँगै आर्थिक गतिविधि बढ्दै गएकाले बैंकहरूको लगानी पनि वृद्धि हुन थालेको हो ।
यसैगरी पछिल्लो समयमा बैंकहरूको आधारदर घट्दा ब्याजदर सस्तो भएकाले पनि कर्जाको माग वृृद्धि भएको बैंकरहरू बताउँछन् ।
नेपाल बैंकर्स संघका अनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले फागुनको दोस्रो साता २७ अर्ब ऋण लगानी गरेका छन् । उक्त अवधिमा बैंकको निक्षेप भने ११ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ ।
फागुनको दुई सातामा मात्र बैंकहरूले ४४ अर्ब रुपैयाँ ऋण दिएका छन् । यस अवधिमा बैंकको निक्षेप भने २३ अर्बले मात्र बढेको छ ।
माघसम्ममा वाणिज्य बैंकहरूले ३६ खर्ब ८६ अर्ब निक्षेप संकलन गरी ३३ खर्ब २७ अर्ब ऋण प्रवाह गरेका थिए । फागुन १४ गतेसम्ममा बैंकहरूको निक्षेप ३७ खर्ब ६ अर्ब र कर्जा ३३ खर्व ६२ अर्ब रुपैयाँ पुगेको छ ।
संघको तथ्यांकअनुसार चालू आवको सात महिनामा वाणिज्य बैंकहरूले ४ खर्ब १५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । साउनमा बैंकहरूको कर्जा २५ अर्बले घटे पनि त्यसपछि भने लगातार वृद्धि भइरहेको छ । बैंकहरूको भदौमा २५ अर्ब, असोजमा १ खर्ब ३१ अर्ब, कात्तिकमा १७ अर्ब, मंसिरमा ४९ अर्ब, पुसमा १ खर्ब ४३ अर्ब र माघमा ७४ अर्ब ऋण बढेको छ ।
कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धिदर भने सुस्त छ । चालू आवको माघसम्ममा निक्षेप ३ खर्ब रुपैयाँ वृद्धि भए पनि साउन र कात्तिकमा ऋणात्मक थियो ।
कोभिड महामारीका कारण आर्थिक गतिविधि सुस्त भएपछि बैंकको कर्जा प्रवाह पनि सुस्ताएको थियो । महामारी कम भएसँगै बैंकहरूले कर्जा विस्तारमा जोड दिएका छन् ।
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी उच्च हुँदा बैंकको ब्याजदर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार एक वर्षअघि औसतमा १० प्रतिशत हाराहारीमा पुगेको बैंकको आधारदर अहिले घटेर ७ प्रतिशतमा झरेको छ । आधारदर कम हुँदा सर्वसाधारणले सस्तोमा ऋण पाइरहेका छन् ।