उपभोग्य वस्तु महँगिँदै

- बजारमा एउटै तेलको तीनथरी एमआरपीः खुद्रा व्यवसायी
- अस्वाभाविक मूल्य बढाउनेलाई कारबाही गरेका छौंः विभाग
पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्न थालेको छ । संसद् विघटनसँगै चुनावको घोषणा र सत्तारुढ दलहरूबीच विवाद बढ्दै गएपछि सरकारको सेवा प्रवाहमा सुस्तता आएको छ । यही मौका छोपेर विभिन्न बहानामा उत्पादक तथा विक्रेताले उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाएको छन् । बजारमा खाने तेलको मूल्य ५० रुपैयाँसम्मले बढेको छ । तेल उद्योग र व्यवसायीले कार्टेलिङ गरेर अस्वाभाविक रूपमा मूल्य बढाउँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न गएको हो । एक महिनाअघि १६० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य अहिले बढेर लिटरमा २१० रुपैयाँ पुगेको छ । तेलको कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।
तेलसँगै चामल, पिठो, चिनी, निर्माण सामग्री लगायतका अन्य सामानमा मूल्य बढेको छ । मंसिर महिनाको ब्याच नम्बर राखेर फरक फरक एमआरपी भएका तेल आउँदा त्यसको मार उपभोक्तालाई पर्न गएको छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले ठूला व्यवसायीले कच्चा पदार्थको मूल्य बढेर आएको बहाना देखाएर खानेतेलमा मनपरी मूल्य बढाउँदा त्यसको मार खुद्रा व्यवसायी र उपभोक्तालाई पर्न गएको बताए ।
अहिले बजारमा खाने तेल, चामल, केराउको मूल्य बढेको उनको भनाइ छ । “एउटै तेलमा तीन थरीको एमआरपी राखेर तेल बजारमा आएको छ,” उनले भने, “यस विषयमा सम्बन्धित निकायमा गुनासो गर्दा सुनुवाई नहुँदा बजारमा मनपरी मूल्य कायम रहेको अवस्था छ ।”
संघका अनुसार दुगड गु्रपको सनफ्लो र धारा हेल्थ तेल एक महिना अघि प्रतिलिटर १९० रुपैयाँ रहेकोमा अहिले बढेर २५० रुपैयाँ पुगेको छ । यस्तै, चामलमा प्रतिबोरा ५० देखि एक सय रुपैयाँसम्म मूल्य बढेको छ । यस्तै केराउमा प्रतिकेजी १० देखि १५ रुपैयाँ मूल्य बढेको संघको तथ्यांक छ । यस्तै चिनीमा पनि प्रतिकेजीमा ५ देखि १० रुपेैयाँ मूल्य बढेको छ । एक महिनाअघि प्रतिकेजी ८० देखि ८५ रुपैयाँ रहेको चिनीको मूल्य बढेर ९० पुगेको छ ।
बजारमा अस्वाभाविक रुपमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दो पनि बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता ठगिनु परेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढाई खानेतेलमा अस्वाभाविक रूपमा मूल्य बढेको स्वीकार गर्छन् । पछिल्लो समय नियमति रूपमा बजार अनुगमन गरेर तेलमा अस्वाभाविक मूल्य लिने तेल उद्योगलाई कारबाही गरिएको उनले जानकारी दिए । “कच्चा पदार्थको मूल्य बढेर आएकाले मूल्य बढ्न गएको व्यवसायीले बताएका छन्,” उनले भने, “के कारणले मूल्य बढ्न गएको भनेर तथ्यांक संकलन गरेर मूल्य विश्लेषण गर्दैछौं ।”
विभागले हालै बारामा रहेका अन्नपूर्णा भेजिटेबल प्रालि र महालक्ष्मी सोल्भेट एण्ड रिफाइनगरी प्रालिलाई उत्पादन लागतभन्दा बढी मूल्य लिएको फेला परेपछि तीन÷तीनलाख रुपैयाँ जरिवाना गरेको थियो । यस्तै काठमाडौको नागार्जुन नगरपालिका–४ मा रहेको श्री भण्डारी स्टोरलाई दुई लाख ५० हजार जरिवाना गरेको विभागले जानकारी दिएको छ ।