गाँजा खेती र आर्थिक समृद्धि

लाइसेन्सको माध्यमबाट मात्र कारोबार गर्ने गरी गाँजा खेती गर्न थाल्ने हो भने नेपालको आर्थिक समृद्धिको एउटा पाटो अगाडि बढ्नेछ ।
नेपालमा प्रतिबन्धित रहेको गाँजा खेतीलाई वैधानिक खेती गर्ने विषयमा वहस सुरु भएको छ । विघटित प्रतिनिधिसभाका ४५ जना सांसद्हरूले नेपालमा गाँजा खेती वैधानिक रूपमा हुनुपर्ने माग राखेपछि यसको बहस सुरु भएको हो । अहिले सांसदहरूले गाँजामा लगाइएको कानुनी प्रतिबन्ध हटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराइसकेका छन् । २०३३ सालभन्दा अगाडि गाँजा प्रतिबन्धित थिएन । तर २०३३ सालपछि पश्चिमी देशहरूको दबाबमा गाँजा खेती र बिक्रीलाई गैरकानुनी बनाइयो । त्यो समयमा पश्चिमी देशहरूले आफूहरूले पनि गाँजामा प्रतिबन्ध लगाएकाले नेपाललाई पनि प्रतिबन्ध लगाउन दबाब दिएका थिए । त्यो बेलामा यसो गर्नु ठीक हो वा होइन भन्नेबारेमा नेपालमा खासै बहस, छलफल र अनुसन्धान भएको देखिँदैन । तर, अहिले ६० भन्दा बढी मुलुकहरूले पूर्ण वा आंशिक रूपमा गाँजालाई खुला गरिसकेको अवस्थामा नेपालले पनि कानुनी मान्यता पाउनुपर्छ भन्ने तर्क गर्न थालिएको छ ।
नेपालमा सन् १९६० को दशकमा हिप्पीहरूको आगमन बढिरहँदा सन् १९६१ मार्च (२०१७ साल चैत) मा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सम्पन्न सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ पारित ग-यो, जसले गाँजालाई पनि अफिमसरहको कडा खालको लागूऔषध मान्दै प्रतिबन्ध लगायो । त्यो बेलामा काठमाडौंमा दुई दर्जनभन्दा बढी गाँजा र चरेस केन्द्र खुलेका थिए, ती सबै बन्द भए ।
नेपालमा गाँजा प्रतिबन्ध हुनुभन्दा अगाडि आयुर्वेदमा विजया भनिने गाँजाबाट निर्मित आयुर्वेदिक औषधि प्रयोग गरिन्थ्यो । यसबाट बनेको औषधि पेट फुल्ने, बिरामी लठ्याउन, अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, दुखाइ कम गर्न, मानसिक रोगजस्ता समस्यामा प्रयोग गर्ने गरिन्थ्यो ।
नेपालमा आन्तरिक ऐनसँगै यसले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय महासन्धिले पनि गाँजा खेती गर्न रोक लगाउँछ । तर, नेपालजस्तै सन्धिमा हस्ताक्षर गरेका अमेरिका, क्यानडा, थाइल्यान्डजस्ता देशहरूमा गाँजा खेतीले मान्यता पाइसकेका छन् । साथै तिनीहरूले वैधानिक रूपमा गाँजा खेती गरी आम्दानी गर्न पनि थालेका छन् । ती देशहरूमा औषधिका रूपमा प्रयोग गर्न खुला भएको छ । यो अवस्थामा हामी अलमलिनुभन्दा ती देशहरूले जुन कानुनका बुँदा समातेर अगाडि बढिरहेका छन्, हामी पनि त्यही बाटो समातेर अगाडि बढ्नुपर्छ ।
वैधानिक रूपमा यसको खेती गर्ने हो भने अहिले बाटोघाटो नभएको तथा विकट स्थानका ऐलानी जग्गा, खोलाको बगर, भीरपाखाजस्ता जग्गामा यसको खेती गरेर उत्पादन बढाउन सकिन्छ । यो चारदेखि पाँच महिनामा तयार हुने हुनाले चाँडो उत्पादन दिने वनस्पतिका रूपमा पनि यसलाई लिइन्छ । गाँजाको उच्चकोटिको तेलको मूल्य प्रतिलिटर १५ लाखसम्ममा बिक्री हुन्छ । विश्वभरि नै प्रतिबन्धित लागूऔषधका रूपमा सूचीकृत गाँजा विभिन्न औषधिका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएपछि धेरै देशहरूले प्रतिबन्ध हटाउने अभियान सुरु गरेबाट र त्यो बेलामा नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिने अमेरिका, क्यानडालगायतका पश्चिमी मुलुकहरूले नै अहिले आएर आफूहरूले प्रतिबन्ध हटाइसकेको अवस्थामा नेपालमा गाँजा खेती र यसको कारोबार खुला गर्नुपर्छ भन्ने बहस सुरु हुनु स्वाभाविक नै हो ।
अमेरिका, स्पेन, नेदरल्यान्ड, पोर्चुगल, स्लोभेनिया, जमाइका, चिली, पेरु, कोलम्बिया, इक्वेडर, लक्जेम्बर्ग, इजरायल, अर्जेन्टिना, पोर्टोरिको, पनामा, मेक्सिको, टर्की, जाम्बिया, जिम्बाबे, दक्षिण अफ्रिका, बेलायत तथा अस्ट्रेलियामा गाँजाको औषधीय र अन्य प्रयोग खुला गरिएको छ ।
गाँजामाथिको प्रतिबन्ध हटाउने वहस पश्चिमा देशहरूसँगसँगै एसियामा पनि सुरु भएको छ । श्रीलंकाको संसद्ले औषधीय प्रयोगका लागि गाँजा खेतीलाई वैधानिकता दिने कानुन पारित गरिसकेकोे छ । थाइल्यान्ड सरकारले पनि गाँजा खेतीलाई वैधानिकता दिने पहल अघि बढाएको छ भने भारतमा गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्नुपर्ने बहस सुरु भएको छ ।
नेपालमा लामो समयसम्म गाँजा प्रतिबन्धित रहिरहने हो भने अन्य देशहरूले नेपालको आफूसँग रहेको परम्परागत ज्ञानको ‘पेटेन्ट राइट्स’ समेत खोस्नेछन् । यसो भएमा गाँजाको प्रयोग गरेर गरिने नेपाली उपचार पद्धति हामीले सधैंका लागि गुमाउनेछौं ।
औषधिजन्य र मनोरञ्जन दुई थरीका लागि प्रयोग हुने गाँजा खेतीमाथिको प्रतिबन्ध नेपालमा हटाइनुपर्ने बहसमा धेरैवटा कारणहरू अघि सारिएको छ । गाँजा खेतीले कानुनी मान्यता पाएमा नेपाली अर्थतन्त्रमा ५०÷६० खर्बको योगदान पुग्ने दाबी गरिएको छ । डब्लूएचओले औषधि मानेको र संयुक्त राष्ट्रसंघले गाँजा लागूऔषध हैन भनेको सन्दर्भमा गाँजाले युवा पुस्तालाई हेरोइन, रक्सी, चुरोट र अन्य फर्मास्युटिकल ड्रग्सको कुलतबाट जोगाउन सकिन्छ । लागूऔषधिका प्रयोगकर्ताले एउटा न एउटा विकल्प खोजिरहेका हुन्छन्, त्यसैले सबभन्दा कम हानिकारक विकल्पका रूपमा गाँजालाई प्रयोग गर्न सकियो भने अन्य कडा खालका लागूपदार्थको कुलत हटाउन सकिन्छ ।
औषधीय गुण भएको अत्यन्तै महँगो वनस्पति भएकाले यसको कारोबार खर्बांैको हुने गरेको, यसको सानो अंशमात्र नेपालले लिन सक्ने हो भने पनि देशलाई ठूलो आर्थिक लाभ हुन्छ । सीमान्तकृत जनताको जीवनस्तर उकास्न सकिन्छ । हामीले दलित भनेर हेपिनुपर्ने अवस्था समाप्त भएर जान्छ । केहीले भने अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको नेपाली चरेस निर्यात गरेर देशले ठूलो आम्दानी गर्ने दाबी पनि गरेका छन् । नेपालको गाँजा विश्वबजारमा नम्बर एक मानिन्छ । यहाँको गाँजाको प्रयोग गर्न विश्वका मानिसहरू लालायित हुन्छन् । आज पनि विश्वमा यसको माग पूरा हुन सकेको छैन । यही समयमा हामीले उत्पादन गरेर विश्वमा निर्यात गर्ने हो भने ठूलो आर्थिक लाभ लिन सकिन्छ । यसो गर्न सके पाँच वर्षमा हाम्रो जीडीपी दोब्बर हुन जान्छ । नेपालमा अहिले पनि गाँजाको व्यापार र प्रयोग भएकै छ, तर यसो हुँदा अर्थतन्त्रमा यसको योगदान देखिएन, राजस्व उठेन तर वैधानिक गर्ने हो भने अर्थतन्त्र फर्मलाइज हुन्छ । यसका लागि आजैबाट यसको अध्ययन र अनुसन्धानमा लागौं ।
जहाँ मान्छे त्यहाँ गाँजा हुने भएको हुनाले पनि नेपालको गाँजामा विविधता भन्ने कुरा अनुसन्धानबाट प्रमाणीत भएको छ । कुन ठाउँमा कुन गुणस्तरको गाँजा हुन्छ, कुनमा लठ्याउने गुण बढी हुन्छ, कुनमा कम हुन्छ, कुनमा रेसा बढी छ ? खोजौं । खाडीमा काम गर्न गएर परिवार विखण्डन भएका छन् । विदेश गएर ४० डिग्रीको घाममा काम गर्नुभन्दा गाँजा खेती गरेर देशमा नै बस्नु उपयुक्त हुन्छ । यो खेती पूर्ण श्रममा आधारित भएको हुनाले धेरै ग्रामीण भेगका सीमान्तकृत नेपालीले रोजगारी प्राप्त गर्ने देखिन्छ । अमेरिका, बेलायत वा अन्य पश्चिमा मुलुकले के भन्छन् भन्नुभन्दा पनि हामीलाई के कुराको आवश्यकता छ भन्नुपर्ने बेला हो यो । हामीले यसको धेरैभन्दा धेरै उत्पादन गरेर विश्व बजारमा लाभ लिन सक्यौं भने बल्ल विश्व्यापीकरणको फाइदा लिन सक्छौं । देशमा मोबाइलको सिम बाँड्नुभन्दा अगाडि आफ्नै देशमा मोबाइल सेट उत्पादन गरेर सोहीअनुसारको सिम निर्माण गरी बजारमा जान सकेको भए आज हामीसँग पनि ठूलो मोबाइल उत्पादन कम्पनी हुने थियो । सरकारी जागिर खानेहरूका लागि पोसाक भत्ता वितरण गर्नुभन्दा अगाडि आफ्नै देशमा एउटा राम्रो कपडा उद्योगको स्थापना गरी सोही उद्योगका कपडा अनिवार्य गर्न सकेको भए देशमा एउटा ठूलो कपडा उद्योग आज हामीसँग हुने थियो, तर हामीले त्यो मौका गुमायौं । तर, अब फेरि अर्को त्यस्तै मौका हामीसामु आएको छ, यो मौकालाई सदुपयोग गराँै, गाँजा खेतीलाई चाँडै नै वैध बनाऔं, पेटेन्ट राइट लिएर देशलाई एक हदसम्म भए पनि समृद्धितर्फ अगाडि बढाऔं ।
गाँजाको खेती भएको ठाउँमा कीरा लाग्दैन । यसको रेसाबाट महँगो कपडा बन्छ । यसबाट बनेको कपडाको प्रयोगले शरीरमा छालाको रोग लाग्दैन । यसमा एउटा लठ्याउनेबाहेक अन्य अवगुण नभएको र विश्वमा आजसम्म गाँजा खाएर मान्छे मरेको तथ्यांक छैन । घरबारविहीन भएको पनि छैन, बरु यसको सही प्रयोगले शान्त भएर बस्ने, विभिन्न रोगहरू जस्तो अल्जाइमर्स, क्यान्सर, पेटका समस्या कम हुने तथ्यांकले बताएको छ । गाउँघरमा अहिले पनि किसानले गाईगोठसँग गाँजा खेती गर्ने गरेको र वस्तुभाउले छेरेमा, पेट फुलेमा वा अन्य पेटका समस्या भएमा वा खान नरुचाएमा गाँजालाई औषधिका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । धार्मिक दृष्टिकोणले हेर्ने हो भने शिवजीको बुटी भनेर गाँजालाई चिनिन्छ । त्यसैगरी पूजापाठमा पनि यसको प्रयोग गरिन्छ । यसमा ओमेगा तŒव पाइने हुनाले शरीरका लागि अति नै उपयोगी शिद्ध भएको छ । हामीले गाँजाको प्रयोग भन्नेबित्तिकै धूवाँ लिने वा गजेडी बन्ने भन्ने बुझाइ रह्यो तर त्यसो मात्र होइन ।
बिरामीलाई दुखाइकम गर्ने औषधिहरूको अत्यधिक प्रयोग गर्नाले उसको मृत्युको सम्भावना बढी भएकोे, तर गाँजा सेवनले मृत्युदरलाई कम गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । त्यसैगरी स्ट्यान्फोर्ड विश्वविद्यालयका खोजकर्ताहरूले गरेको एउटा अध्ययनले मानव शरीरमा क्यान्सरका कोष मार्न तथा विभिन्न लागू औषध र रक्सीको लत छुटाउन गाँजाको प्रयोग बढी प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।
माथि उल्लेख गरिएका धेरै फाइदा हुँदाहुँदै पनि गाँजालाई आर्थिक जोखिम रहेको सामाजिक विकृति जन्माउन सहायक बन्नचाहिँ दिनु हुँदैन । उच्च आर्थिक जोखिम र सामाजिक विकृतिलाई संस्थागत गर्ने चुनौती रहेका गाँजाजस्ता पदार्थलाई औषधीय प्रयोजनमा मात्र उपयोग गर्ने, २१ वर्षभन्दा कम उमेरका व्यक्तिहरूकोे पहुँचमा पुग्नबाट रोक्ने, सरकारबाट पूर्ण नियन्त्रित वितरण प्रणाली लागू गर्ने, उच्च नियन्त्रित माहौलमा मात्र मनोरञ्जनात्मक गतिविधिमा प्रयोग हुन दिने, यदि काला बजारी र तस्करहरूको हातमा व्यवसाय पुगे पनि यसलाई कानुनी संयन्त्रमा ल्याई कालोबजारी र तस्करी रोक्ने, तस्करी हुने रकम सरकारी ढुकुटीमा जम्मा हुने कानुनी व्यवस्था गर्नेे, मानव अधिकार र मानवताको रक्षा गर्नेजस्ता मूल उद्देश्यका साथ यसको उत्पादन र बिक्री–वितरणलाई अगाडि बढाइएन भने कार्यान्वयनको चरणमा सफल हुन असम्भव छ ।
यसरी जथाभावी रूपमा गाँजा खेती तथा यसको सेवनलाई नियन्त्रण गरिएन भने वा झोलामा हालेर बिक्री–वितरण गर्ने अवस्थाको सिर्जना भयो भने युवाहरू लागूऔषधको कुलतमा फस्ने खतरा बढेर जाने हुन्छ । सुरुमा गाँजा सेवन गर्ने युवाहरू पछि त्यो नपाउँदा अफिम, ब्राउन सुगर, आदि विभिन्न प्रतिबन्धित औषधितर्फ आकर्षित हुने गरेका तथ्यांकहरू समाजमा प्रशस्तै पाइन्छन् । यसको खेती र कारोबार गर्दा निश्चित स्थान तोकिनुपर्छ, व्यक्तिले भन्दा लाइसेन्स प्राप्त सहकारीमार्फत गर्नुपर्छ । २१ वर्ष वा सोभन्दा माथिको उमेरकाले मात्र डाक्टरको पे्रस्क्रिप्सन लिएर मात्र उपभोग गर्न पाउने, कानुन उल्लंघन गरेमा कैद र नगद जरिवानाजस्ता प्रावधान राख्नुपर्छ । गाँजा उत्पादन गर्ने नाउँमा गजेडी उत्पादन हुन दिनु हुँदैन । नियमन र नियन्त्रण गर्ने चुस्त कानुनी व्यवस्था र कानुन कार्यान्वयन गर्ने प्रभावकारी राज्य संयन्त्र बनाइएन भने नेपाल अन्तर्राष्ट्रिय ड्रग्स माफियाको केन्द्र बन्न सक्छ । थोरै दुःखमा धेरै आम्दानी हुने क्षेत्रमा माफियाहरूको चलखेल बढी हुने गर्छ ।
गाँजा खेतीबाट प्रशस्त लाभ लिइरहेका अमेरिकादेखि अन्य धेरै देशहरूमा माफियाहरूकै सिन्डकेट छ । यहाँ पनि निश्चित समूहले लाइसेन्स पाएर ड्रग्स सिन्डिकेट खडा हुने जोखिम हुँदैन भन्न सकिँदैन । हाल नेपालका डाँडापाखा, वनजंगल, खोलाको बगर र खेतबारीमा आफैं उम्रिने गाँजाले कानुन, व्यवस्थालाई चुनौतीपूर्ण बनाएका बेला यसको खेती नै हुन थालेपछिको कानुनले बाध्न सकेनाँै भने चुनौती अकल्पनीय पनि हुन सक्छ । गाँजा केका लागि खुला गर्ने भन्ने प्रश्नको उत्तर प्रस्ट हुनुपर्छ । यसको गलत प्रयोगबाट हाम्रा युवाहरूलाई जोगाउन जनचेतनामूलक शिक्षा पनि एउटा समाधान हुन सक्छ । यदि यी अवस्थाहरू पूरा गरेर उत्पादन, बिक्री–वितरण आदिमा सीमान्तकृत जनताको पहुँच हुने गरी लाइसेन्सको माध्यमबाट मात्र कारोबार गर्ने गरी गाँजा खेती गर्न थाल्ने हो भने नेपालको आर्थिक समृद्धिको एउटा पाटो अगाडि बढ्नेछ ।