Logo

हाम्रो देशमा वित्तीय साक्षरता अत्यन्त कमजोर छ

मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा एनआईबीएल एस क्यापिटलका महाप्रबन्धक हुन् । थापा एनआईबीएल क्यापिटल आउनु अघि सिद्धार्थ क्यापिटल लिमिटेडको प्रमुख सञ्चालन अधिकृत थिए । सिद्धार्थ क्यापिटलमा तीन वर्ष जिम्मेवारी सम्हालेका थापा त्यसभन्दा अघि नेपाल धितोपत्र बोर्डमा कार्यरत थिए । थापाले धितोपत्र बोर्डमा उपनिर्देशक तथा विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका थापा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ इण्डिया र इस्न्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ नेपालका सदस्यसमेत हुन् । उनै थापासँंग वर्तमान सेयर बजार, मर्चेन्ट बैंकरहरूको भूमिका, ब्रोकर कमिसन तथा म्युचुअल फन्डको बुझाइबारे कारोबारले गरेको कुराकानीको सार :

पछिल्लो समय सेयर बजारमा उत्साह बढ्दै जाँदा मर्चेन्ट बैंकहरूको भूमिका कत्तिको वृद्धि हुने ठान्नुहुन्छ ? सेयर बजार बढ्नुमा मर्चेन्ट बैंकहरूको योगदान कस्तो छ ?
हामी मर्चेन्ट बैंकरहरू प्रत्यक्ष रूपमा सेयर बजारमा जोडिएको हुनाले पक्कै पनि सेयर बजारमा उत्साह आउँदा हामीले गर्ने काम–कारबाहीमा उत्साह आउने नै भयो । सामान्यतया निक्षेप सदस्य (डीपी) को हैसियतमा हामीले समग्र सेयर बजारको कारोबारमा सहजीकरण गरिरहेका हुन्छौं भने म्युचुअल फन्ड तथा लगानी व्यवस्थापन सेवाको हिसाबले सेयर कारोबारसमेत गरिरहेका हुन्छौं । त्यस्तै सेयर बजारमा उत्साह आउँदा नयाँ सेयर, डिबेन्चरहरूको सार्वजनिक निष्कासनसमेत बढ्ने हुन्छ । त्यस हिसाबमा यी सबै कामहरू निर्बाध रूपमा अगाडि बढाउन हाम्रो भूमिका रहेको र बजारको उत्साहसँगै यो स्वाभाविक रूपमा बढ्ने हुन्छ । तथापि सेयर बजारको घटबढमा हाम्रो कुनै भूमिका रहँदैन ।

साधारणतया विकसित बजारमा कुनै पनि कम्पनीको सेयरमा भन्दा म्युचुअल फन्डमा लगानीकर्ता बढी लगानी गर्छन् । हामीकहाँ म्युचुअल फन्ड नै कम भएर हो वा के कारणले अझै लगानीकर्तामा कम्पनीहरूकै सेयरमा बढी रुचि छ । मर्चेन्ट बैंकरको नाताले यहाँलाई कस्तो लाग्छ ?
विकसित बजारमा सामान्यतया वित्तीय साक्षरता बढी हुन्छ र वित्तीय साधन पनि धेरै हुन्छन् । हाम्रो देशमा वित्तीय साक्षरता अत्यन्त कमजोर छ, साथै यहाँ वित्तीय साधनहरू पनि अत्यन्त कम छन् । म्युचुअल फन्डमा लगानीकर्ताहरू खासै आकर्षित हुन नसक्नुमा एक त यससम्बन्धी जानकारी सर्वसाधारणमा पु¥याउन सकिएको छैन, राम्रोसँग यस्ता साधनको जानी–नजानीकन नराम्रा पक्षहरूको समेत सम्पे्रषण भइरहेको, साथै सरकारलगायत सम्बन्धित निकायले समेत यस सम्बन्धमा प्रष्ट नभई विभिन्न नीतिमा आवश्यकताअनुसार सम्बोधन र प्रोत्साहन गर्न नसकेको देखिन्छ । यस्तो अवस्थामा केही जानेका लगानीकर्ता स्वयं सेयर कारोबारमा लाग्ने र अन्यलाई समेत सोही सुझाव दिने हुँदा सेयरमा बढी रुचि देखिएको हो । तथापि हामी म्युचुअल फन्ड सञ्चालकहरूले कोसिस गरिराखेकै छौं र भविष्यमा राम्रो हुनेछ भन्नेमा हामी पूर्ण आशावादी छौं ।

मर्चेन्ट बैंकरको नाताले नियामक निकायले हामीलाई यसो गरिदिए वा यस्तो गर्न दिए सेयर बजार अझ परिष्कृत हुन्थ्यो भन्ने के छ ? नियामक निकायले यहाँहरूलाई सहजीकरण गरिदिनुपर्ने के–कस्ता विषय छन् ?
नियामक निकायको काम समयको मागअनुसार नीति–नियमहरू बनाउने र परिस्थितिअनुसारको कार्यहरूलाई सहज बनाई दिशानिर्देश गर्ने हो, त्यो उहाँहरूले गर्नुभएकै छ । हामी सो नीति निर्देशन कार्यान्वयन गर्ने धितोपत्र व्यवसायीहरू उहाँहरूसँग निरन्तर छलफल र संवादमै हुन्छौं । अप्ठ्यारो परेका विषय वा नयाँ ल्याउनुपर्ने विषयका सन्दर्भमा हामीले सल्लाह–सुझाव दिने र सम्बोधन गर्ने भइरहेको नै छ ।

हाल ब्रोकर कमिसन धेरै भयो भन्ने जोडतोडका साथ आइरहेको छ, मर्चेन्ट बैंकको नाताले यहाँहरूलाई के लाग्छ, ब्रोकर कमिसन धेरै नै भएको हो ? के कमिसन घट्दा सेयर कारोबार बढ्छ ?
ब्रोकर कमिसन धेरै भयो भनेर हामीले भन्ने कुरा हैन र यो धेरै थोरै भन्ने सापेक्षिक विषय पनि हो । यसबारेमा धितोपत्र बोर्डले अध्ययन गरिसकेर केही परिवर्तन गर्ने कुरा आएको छ । त्यसकारण पनि यसमा खासै मर्चेन्ट बैंकरहरूले बोल्नुपर्ने केही छैन । साथै कमिसन घट्दा बजारमा सेयर कारोबार बढ्छ भन्नेचाहिँ मलाई लाग्दैन, सेयर कारोबार घटबढ हुनुमा अन्य धेरै तŒव बढी महŒवपूर्ण हुन्छ जस्तो मलाई लाग्छ ।
तथापि ब्रोकर कमिसन मात्र हैन, पुँजीबजारमा लाग्ने सम्पूर्ण शुल्क यथोचित र समयसापेक्ष हुनुपर्छ, अझ बढी महŒवपूर्ण कुरा यसको वितरण न्यायसंगत र कार्यसहभागिताका आधारमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

म्युचुअल फन्डहरूले सेयर बजारमा खेल्नुपर्ने भूमिका नखेली सहज तरिकाले बैंकमा पैसा राखेर लाभांश बाँडे भन्ने आरोप पनि छ । यसमा कत्तिको सत्यता छ ?
तपाईंले म्युचुअल फन्ड भन्न खोज्नुभएको होला । म्युचुअल फन्डहरूले स्वीकृत विवरण पुस्तिकाअनुरूप लगानी गर्ने हो र यसको प्रमुख उद्देश्य एकाइ धनीहरूलाई उच्चतम प्रतिफल प्रदान गर्ने हो । हामी नीति नियमभित्र बसेर काम गर्छौं र सो गर्दा प्राप्त प्रतिफल एकाइ धनीहरूलाई वितरण गर्छौं । अब बजारमा हाम्राबारे गलत बुझाइ भएको भए सो बुझाइ परिवर्तन गर्नुप¥यो । हामीले गलत गरेमा नियामक निकायले हामीलाई कारबाही गरिहाल्छ नि ।

तपाईंको नयाँ योजना कहिले आउँदैछ ? यसका विशेषता के–के हुन् ?
हामीले एनआईबीएल म्युचुअल फन्डअन्तर्गत एनआईबीएल समृद्धि फन्ड–२ केही समयअगाडि स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पेस गरेका छौं । बोर्डले स्वीकृत गरेपश्चात हामी यस योजना सर्वसाधारणमा ल्याउनेछौं । यो योजना समृद्धि फन्ड–१ जस्तै ६० देखि ७० प्रतिशत बजारमा लगानी गर्ने र ३० देखि ४० प्रतिशत डिबेन्चर, मुद्दती आदिमा लगानी गर्ने किसिमको हुनेछ । यस नयाँ योजनामा पनि हामीले समृद्धि फन्ड १ मा जस्तै यसको अवधिभर निरन्तर समुचित प्रतिफल वितरण गर्ने र अन्त्यमा पुँजीगत लाभसहित एकाइ धनीहरूलाई रकम फिर्ता गर्ने हाम्रो प्रक्षेपण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्