मनाङको शैक्षिक सत्र सकिँदै, पढाइ नहुँदा विद्यार्थीहरू अन्योलमा «

मनाङको शैक्षिक सत्र सकिँदै, पढाइ नहुँदा विद्यार्थीहरू अन्योलमा

लमजुङ-विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ बाट प्रभावित हिमाली जिल्ला मनाङको शैक्षिक सत्र अन्योलमा परेको छ । प्रत्येक वर्ष फागुनबाट सुरु हुने मनाङको शैक्षिक सत्रको यस वर्ष अहिलेसम्म पनि पढाइ नहुँदा विद्यार्थी तथा अभिभावकहरूमा अन्योलता छाएको हो ।
मनाङमा हरेक वर्ष फागुनबाट नयाँ शैक्षिक सत्र सुरु भई मसिरमा अन्तिम परीक्षा हुने गरेको भए पनि यसपटक भने विद्यालय सञ्चालन नै नभई शैक्षिक सत्र सकिन लागेको हो । शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीका अनुसार शैक्षिक सत्रको सुरुमा विद्यालयले पठन पाठन सुरु गरेको भए पनि चैत्रयता नियमित पठन पाठन ठप्प छ ।
चारवटा स्थानीय तह रहेको मनाङमा तल्लो क्षेत्रको नासोङ गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा भने साउनयता पढाइ सुरु भएको एकाइ प्रमुख रेग्मीको भनाइ छ । यस्तै सदरमुकाम समेत रहेको चामे गाउँपालिकामा भने सरकारले निर्देशन गरेअनुरुप बैकल्पिक विधिबाट पढाउने पहल भए पनि प्रभावकारी हुन नसकेको बताइएको छ ।
‘जिल्लाको तल्लो क्षेत्रमा श्रावण यता पढाइ भएको हो’, रेग्मीले भने, ‘तर माथिल्लो क्षेत्रमा पढाइ सुरु हुन नै सकेको छैन, सदरमुकाम चामेको पढाइ पनि अपेक्षित प्रभावकारी छैन ।’
माथिल्लो मनाङका ङिस्याङ र नारफु गाउँपालिकामा भने अहिलेसम्म कक्षा सञ्चालन हुन सकेको छैन । कोभिड–१९ को प्रभावसँगै उक्त स्थानिय तहमा अध्यापन गराउने अधिकांश शिक्षकहरू अन्य जिल्लाबाट आउनुपर्ने हुँदा सम्बन्धित स्थानीय तहले नै संक्रमण जोखिम रोक्न विद्यालय सुचारु नगर्ने निर्णय गरेका हुन् ।
राज्यले बनाएको शैक्षिक क्यालेण्डर अनुसार कुनै पनि हालतमा अब मनाङको शैक्षिक सत्र पूरा हुँँदैन । मंसिरमा शैक्षिक सत्रको अन्तिम परीक्षा सकेर पुसको पहिलो साता नतिजा प्रकाशन हुँदै आएको मनाङमा यस वर्ष कात्तिक महिना सकिन लाग्दा शैक्षिक क्यालेण्डरअनुसार शैक्षिक सत्र करिब सकिएको छ ।
चिसो बढेसँगै अधिकांश मनाङका स्थानीयले जिल्ला छोड्ने र जिल्ला छोड्नेहरू पनि छरिएर देशका विभिन्न ठाउँमा पुग्ने हुँदा नियमित कक्षा सञ्चालन गर्न कठिनाइ हुने भएको छ । राज्यले अर्को विकल्प नसोचेमा मनाङका बालबालिकाको एक वर्ष त्यसै खेर जानेभएको छ ।
सदरमुकाम वरिपरि र तल्लो मनाङमा रहेका विद्यार्थीहरूलाई वैकल्पिक शिक्षाको रूपमा पढाउन थाले पनि माथिल्लो क्षेत्रका विद्यालय भने प्रभावितनै भएका छन् । यसविषयमा सम्बन्धित निकायमा खवर गरिए पनि हालसम्म कुनै निर्देशन तथा परिपत्र नआएको शिक्षा समन्वय एकाइ मनाङले जनाएको छ ।
मनाङसहित देशभरका पाँचवटा हिमाली जिल्लाहरूमा सरकारले फागुनबाट शैक्षिक सत्र सुरु गरी मंसिरमा अन्तिममा परीक्षा लिने व्यवस्था गरेको छ । चैतदेखि सबै प्रकारका संघ–संस्थाहरू बन्द भएपछि पढाइ पनि रोकिएको अहिलेको अवस्थामा मनाङको शैक्षिक सत्र नै करिब सकिएपछि विद्यार्थीको भविष्य अन्योलमा परेको हो । मनाङ सहित हिमाली जिल्लाहरू मुस्ताङ, हुम्ला, मुगु र डोल्पामा पनि विद्यालय सञ्चालन नभई शैक्षिक सत्र सकिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्