विकास नभएको श्रमको सम्मान गर्ने संस्कृति «

विकास नभएको श्रमको सम्मान गर्ने संस्कृति

वास्तविक श्रमिकलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने जुन गलत दृष्टि छ, त्यसमा परिवर्तन नआएसम्म देश विकासको मार्गमा अगाडि बढ्न कठिन हुन्छ ।

श्रम ऐन, २०४८ अनुसार श्रमिक भन्नाले त्यस्तो कार्यसँग सम्बन्धित कार्य हो, जसबापत पारिश्रमिक दिई सबै श्रमिकले उचित पारिश्रमिक पाउनुपर्छ । श्रमको सम्मान पनि हुनुपर्छ । हाम्रो सन्दर्भमा भन्नुपर्दा श्रमको सम्मान गरिने प्रणालीको विकास नै हुन सकेको छैन । सरकारी कार्यालय, त्यो पनि उच्चपदस्थ व्यक्ति मात्रै ठूला हुन्, नेता त्यो पनि विशिष्ट तहका केन्द्रिय नेता मात्रै नेता हुन् भन्ने गलत मानसिकताले जरो गाडेको छ । जहाँ श्रमको सम्मान गरिन्छ त्यहाँ नै विकास र सद्भावको राम्रो प्रभाव देखिन्छ । हामी आफ्नो जन्मभूमिमा पसिना बगाउन वा जुनसुकै श्रम गर्न पनि हुन्छ भन्ने सोचाइमा हुँदैनौँ । ज्यालामा काम गर्न, खेती–किसानीमा श्रम गर्न पनि हुन्छ भन्ने सोचाइमा हुँदैनौं । ज्यालामा काम गर्नु, खेती–किसानीमा श्रम गर्नुजस्ता कार्यलाई निकृष्ट कार्यमा राखेर त्यस्ता कार्यबाट परै रहन्छौं । जुन देशमा श्रमको सम्मान हुन्छ त्यहाँ छिटो विकास र प्रगति भएको देखिन्छ । अमेरिका, युरोपलगायतका देशहरू आज विकसित हुनुका पछाडि श्रमको सम्मान गर्ने संस्कृति पनि प्रमुख कारण हो ।
आज हाम्रो समाजमा आफ्नै आमाबाबुलाई अपहेलना गरी अस्पताल जाने बहानामा वृद्धाश्रम पु-याइन्छ । आफ्नै छोराछोरीबाट तिरष्कृत भएर बिरानो अबला र बेसहारा बनेर जीवनको उत्तरार्ध व्यतीत गर्न बाध्य भएका दृष्टान्त प्रशस्तै पाइन्छ । स्वार्थी र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिको विकास भएर गएको छ । यहाँ आमाबाबुको सामान्य रेखदेख गर्न घृणा मान्ने हामीहरू नैै विदेशमा भने केयर गिभर भएर कार्य गरिरहेका छौँ । अर्काको देशमा जस्तोसुकै काम गर्न तयार हुने, आफ्नो देशमा भने सामान्य श्रममा पनि लाज लाग्ने प्रवृत्तिले नै लाखौँको संख्यामा युवा जनशक्ति बिदेसिएका हुन् । राज्यले रोजगारी सिर्जना गर्न नसक्ने अनि श्रमिकलाई पनि सानोतिनो श्रममा लाज लाग्ने र आँखा नलाग्ने संस्कृतिकै कारण चर्को ब्याजमा ऋण लिई घरखेत बन्दकी राखेर खाडी मुलुक जान विवश भएका छन् ।
‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ जाँगर भए आफ्नै घर आँगनमा अनेकौं रोजगारीका अवसर छन् भन्ने सत्यतालाई बिर्सिएर अरबका खाडीमा अनेकौं कष्टको सामना गर्न पुग्छन् । कृषि ऋण लिई सामान्य तरकारी खेतीलगायतका अनेकौँ कार्यमा खट्ने हो भने मनग्य आम्दानी गरी आफ्नै भूमिमा आरामसँग जीवनयापन गर्न सकिने उदाहरण गाउँगाउँमा जाँगरिला युवाहरूले प्रस्तुत पनि गरेका छन् । पसलमा चिया–चुरोट पिएर बिनाकाम समय व्यतीत गर्ने तर स–साना श्रमका कार्यप्रति मन नलाग्ने गलत मनोवृत्तिकै कारण समाजमा विभिन्न आपराधिक घटनाहरू घट्ने गरेका छन् । तास खेल्ने, गाँजाचरेसको प्रयोग गर्ने, लुटपाट, बलात्कार, हिंसा–हत्याका घटनाहरूसमेत बढेर गएका छन् ।
श्रमकै सन्दर्भमा भन्ने हो भने अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को प्रतिवेदनअनुसार ६ महिनासम्म श्रम गरेपछि स्थायी गर्नुपर्ने मान्यता अगाडि सारेको छ । निजी संघसंस्था तथा व्यवसायको त कुरै नगरौँ, नेपाल सरकारका शिक्षा मन्त्रालयअन्तर्गगका शिक्षकहरूसमेत २०–२२ वर्षसम्म अस्थायी रूपमा कार्य गर्नुपर्ने बाध्यताको सिर्जना गराइएको छ । त्यसैगरी मिडिया क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूको अवस्था पनि दयनीय रहेको छ । न्यूनतम पारिश्रमिकसमेत नपाउने अवस्था विद्यमान नै छ । श्रम पनि दुई प्रकारका हुन्छन्— शारीरिक श्रम र मानसिक श्रम । शरीरलाई सक्रिय बनाई श्रम गर्नुलाई शारीरिक श्रम र दिमागलाई सक्रिय बनाउँदै गरिने श्रमलाई मानसिक श्रम भनिन्छ । दुवै खालका श्रमलाई संयोजन गरी अगाडि बढ्न सकेमा मात्र अपेक्षित विकास सम्भव हुन्छ ।
श्रमले शारीरिक तथा मानसिक स्वस्थता कायम गर्नमा पनि महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । श्रमकै अभावले अचेल नाना प्रकारका रोगले सताउन थालेको छ । परिश्रम गर्ने बानी नहुनाले उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह, मुटुरोगजस्ता विभिन्न रोगबाट पीडित हुनेको संख्या पनि बढ्दै गएको देखिन्छ । आजको विश्व जगत्मा स्वार्थ, भ्रष्टाचार, अपराध बढ्दै जानुको मुख्य कारणमा श्रमको अभाव मुख्य कारक तŒव बनेको पाइन्छ । आफ्नो श्रमको कमाइमा नै मानवले सन्तुष्टि प्राप्त गर्न सक्छ । अवैध ढंगले कमाएको धनले आत्मशान्ति र सुखको वास्तविक अनुभूति पनि गर्न सकिँदैन । हाम्रो वास्तविकता पनि कम्ती हृदयविदारक देखिन्न, किनभने सच्चा श्रमिक भोकै बस्नुपर्ने अवस्था छ भने मुखमात्र चलाउने टाठाबाठाहरू बिनापरिश्रम धनाढ्य हुने जुन परिपाटीको विकास भएको छ त्यसले वास्तविक विकास हुन सक्तैन ।
रातोदिन श्रम गर्ने किसान आफ्नो श्रमको मूल्य प्राप्त गर्न सक्तैन । दिनरात नभनी काम गर्ने मजदुरले उचित पारिश्रमिक र सामान्य हकहितबाट समेत वञ्चित हुनुपरिरहेको तीतो यथार्थ छँदै छ । कामचोर ढंगले राजनीतिक पहुँच भएका छलछाम गर्न खप्पिस वर्ग नै आज ऐसआरामको जीवन बिताउँछन् । दस नङ्ग्रा खियाई पसिना बगाउने वास्तविक श्रमिकको दुरवस्था देख्दा लाग्छ, नाम मात्रको मानव जीवन व्यतीत गरिरहेका छन् । धनाढ्यका घरमा कुकुुरले पनि मासु नखाइरहेको अवस्था छ भने विपन्न श्रमिक दुई छाक टार्न नसकी भोकै बस्नुपरेको घटना सामान्य बनेका छन् । वास्तविक श्रमिकलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने जुन गलत दृष्टि छ, त्यसमा परिवर्तन नआएसम्म देश विकासको मार्गमा अगाडि बढ्न कठिन हुन्छ ।
श्रम नै त्यस्तो महत्वपूर्ण विषय हो, त्यसले नै व्यक्तिको जीवन सुखी र समृद्ध बन्छ भने राष्ट्रको आर्थिक विकास अनि भौतिक पूर्वाधारको निर्माण भई राष्ट्रको समग्र विकास हुन्छ । राज्यले बर्सेनि श्रमबजारमा आउने झन्डै ५ लाख युवा जनशक्तिलाई श्रम उपलब्ध गराउनका लागि उद्योगहरूको स्थापनामा जोड दिने, रुग्ण उद्योगलाई पुनः सञ्चालन नगर्ने कार्य गम्भीरतापूर्वक गर्नुपर्छ । त्यसैगरी युवा जनशक्तिलाई कृषिप्रति आकर्षित गर्नका लागि स्पष्ट कृषि नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । सहज रूपमा कृषि ऋण प्राप्त गर्न सक्ने वातावरण बनाई कृषिको विकासमा ध्यान दिनु जरुरी देखिन्छ । एक दशकअगाडिसम्म हामीले धानचामल निर्यात गथ्र्यौं भने अहिले अर्बौं रकम बराबरको खाद्यान्न आयात गरिरहेका छौँ । कृषिलाई व्यावसायिक र वैज्ञानिक बनाउन सकेमा ठूलो संख्यामा रोजगारी पनि प्राप्त हुने निश्चित छ ।
श्रम नै सर्वश्रेष्ठ देवता हुन्, त्यसलाई नै पुज्नुपर्छ भन्ने सोचका साथ यसलाई नै हामीले व्यवहारमा परिणत गर्न सक्यौँ भने बेरोजगारी भई बस्नु पनि पर्दैन र आर्थिक रूपले विपन्न भएर चिनिनु पनि पर्दैन । अहिले वास्तविक किसानको हातमा जमिन छैन, जमिनदार निमुखा श्रमिकलाई नगन्य श्रममा काममा लगाई बसेका छन् । पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको देखिन्छ । कृषिकार्यप्रति आकर्षण घट्दै गएकाले उर्वर भूमि बाँझै रहेका छन् । त्यसैगरी जथाभावी सहरीकरणको नाममा अव्यवस्थित बसोबासका कारण उब्जाउयुक्त जमिन घरहरूले ढाकेका छन् । राज्यले स्पष्ट नीति अवलम्बन गरी कृषिलाई आकर्षक पेसामा परिणत गर्नेतर्फ ध्यान पु-याउने हो भने कृषिप्रधान देशको पहिचान राख्नसमेत सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्