मूल्यपासोभन्दा घातक सूचनापासो «

मूल्यपासोभन्दा घातक सूचनापासो

कुनै नियमन र नियन्त्रण नहुने अनि जिम्मेवार हुन नपर्ने सामाजिक सञ्जाल स्वार्थ सिद्ध गर्ने सहज माध्यम बनेको छ ।

धितोपत्रको मूल्य निर्धारण र सौदाबाजीको मुख्य आधार माग तथा आपूर्ति मानिए पनि वास्तवमा मूल्य प्रभावित गर्ने वा तिरिने सूचनाको मूल्य हो । कसैले सूचनाकै आधारमा आशावादी हुँदै किन्दै गर्दा धारकले निराश (त्रसित) हुँदै बेचिरहेको हुन्छ । यथार्थ, भरपर्दो र शुद्ध सूचना र सूचनामा समान पहुँच स्वस्थ कारोबार वा लगानी निर्णयको आधार भए पनि नेपालका सूचीकृत कम्पनीहरूको गुणस्तरीय सूचना पाउनु असम्भव अनि ‘सूचनामा पहुँच’ भएका व्यक्ति, समूह वा निकायहरूले नै त्यस्ता सूचनाहरूको स्वार्थपरक ढंगले कालोबजारी, उपयोग, विश्लेषण एवम् अर्ध वा भ्रामक सूचना प्रवाह हुँदा आमलगानीकर्ताहरू स्वाभाविक रूपमा ‘सूचनापासो’मा पर्छन् । अझ सूचना प्रवाहका लागि जिम्मेवारी कम्पनी र पदाधिकारी तथा शुद्ध सूचनाको सुनिश्चितताका लागि कार्यरत नियामकहरू जिम्मेवारीबाट पन्छिँदा कारोबारी वा लगानीकर्ताहरू भ्रामक वा अर्धसूचनाको पासोमा पर्नुको विकल्प भेट्टाउन सकेका छैनन् ।
सूचनामा असमान र कमजोर पहुँच अनि आफैँ सूचना र जानकारीको सामान्य आकलन नगरी अरूको भरमा कारोबार गरेर छिट्टै र सजिलै कमाउन खोज्नेहरूलाई स्वार्थी व्यक्ति र समूहले मूल्यपासो (प्राइस ट्र्याप) र ‘सूचनापासो’ (इन्फरमेसन ट्र्याप) थाप्नु अनौठो भएन । त्यसैले मूल्यान्तरका खेलाडीहरूबाट सूचनामा खेल्दै र पासो थाप्दै निश्चित धितोपत्र किनबेच गर्न उक्साउने, लोभ्याउने, तर्साउने र बाध्य पार्ने (बुलिङ) बढ्न थालेको छ ।

सूचनापासो
सूचनाको नाममा स्वार्थअनुरूप विश्लेषण वा भित्री सूचनाको आवरण भिराएर थप आकर्षक वा खराब देखाउँदै कसैलाई कुनै धितोपत्र किन्न, बेच्न वा धारण (होल्ड) गर्न उक्साउने, लोभ्याउने, तर्साउने काम नै सूचनापासो वा जाल थाप्नु हो । यसमा अर्धसत्य र आंशिक सूचना प्रवाह, सामूहिक सिन्डिकेट, हल्ला र प्रचार, भित्री सूचनाका आधारमा कारोबार (इन्साइडर ट्रेडिङ), प्रणालीगत छिद्रको प्रयोग (मार्केट डेप्थ) र झूटको खेती हुन्छन् । सूचनापासो थाप्नेहरूले आमलगानीकर्ता र कारोबारीहरूको छिटो र सहज कमाउने चाहना र सूचनामा पहुँच नहुुनुको फाइदा उठाउँदै १. भावनात्मक (इमोसनल), २. हल्ला (-युमर), ३. भ्रामक (मिस इन्फरमेसन), ४. बढ्दो–घट्दो (बुल एन्ड बियर), ५. संकलन र बिक्री (पम्प एन्ड डम्प), ६. मूल्य (प्राइस), ७. माग र आपूर्ति (डिमान्ड एन्ड सप्लाई), ८. विश्लेषण (एनालाइसिस), ९. नियामकीय (रेगुलिटरी) र १०. नीतिगत (पोलिस) पासोहरू फ्याँक्छन् । सूचनाको मूल्य बुझेका तर पहुँच नभएका सूचनाका भोका लगानीकर्ता र कारोबारीहरूलाई सूचनापासो मा पार्दै बजारमा धितोपत्र किनबेच वा होल्ड गराइसेकपछि परिमार्जित सूचनापासो थाप्ने प्रक्रिया सुरु हुन्छ । सामान्यतः मूल्यपासोको सहयोगी औजारका रूपमा सूचनापासो फालिन्छ र जब लक्षित लगानीकर्ता वा कारोबारी पासोमा पर्छ, ऊमाथि मूल्यगत प्रहार गरिन्छ ।

सूचनापासोको माध्यम
सूचनापासोको माध्यम भनेको सूचना प्रवाहका साधनहरू नै हुन् । सूचना प्रविधिको विद्युतीय युग हुँदा सूचनापासोका लागि परम्परागतसँगै नवीन प्रविधि र माध्यमहरू विशेष गरी सामाजिक सञ्जाल र अनलाइनहरूको बढी प्रयोग हुन्छ । पासोमा कति, कसलाई र कसरी पार्ने उद्देश्यअनुरूप व्यक्ति सम्पर्क, सामाजिक सञ्जाल, सञ्चारमाध्यम, बजारीकरण (मार्केटिङ) जस्ता माध्यमहरूबाट सूचनापासो थापिन्छ ।
(क) व्यक्तिगत सम्बन्ध र कानेखुसी : सूचनापासोको परम्परागत र प्रभाविकारी रूपमा प्रयोग हुँदै आएको माध्यम कानेखुसी (ह्विस्परिङ) वा व्यक्तिगत तवरमा सूचना प्रवाह हो । पासो थाप्नेले विशेष सूत्र वा स्रोतको हवाला दिँदै सम्बन्धित धितोपत्र किन्न, बेच्न वा नबेच्न प्रेरित र कतिपय अवस्थामा दबाबसमेत दिइन्छ । किनिसकेको धितोपत्र बेच्न आशा र सम्भावनाको स्वप्न देखाउँदै महँगोमा किन्न उक्साउँछन् भने किन्न खोज्नेले खराब अवस्थाको चित्रण गर्दै त्रसित बनाउँछन् । यसका लागि धितोपत्र दलालहरू, प्रभावशाली व्यक्तिहरू, बजारको फ्लोरको प्रयोग हुन्छ ।
(ख) सामाजिक सञ्जाल : सूचना आदानप्रदानसँगै विशेष सूचनामा पहुँच र स्वार्थपरक सूचना प्रवाह गर्दै सूचनापासो र मूल्यपासोमा पार्ने सबैभन्दा प्रभावकारी माध्यम सामाजिक सञ्जालहरू, जस्तै ः फेसबुक, ट्विटर, युट्युब, ह्वाट्सएप, मेसेन्जर र भाइबर ग्रुप हुन थालेका छन् । सूचना र छलफलको बहानामा खोलिएका अनेकन् पेजहरूसँगै सूचना, विचार, प्राविधिक वा आधारभूत विश्लेषण, अनुभव आदानप्रदान, तुलनात्मक विश्लेषणहरू जस्ता लाग्ने तर स्वार्थपरक पोस्टहरू र पासो थाप्ने क्रम बढेका छन् । आधिकारिक र यथार्य सूचना व्यवस्थित रूपमा प्रवाह र सहजै उपलब्ध नहुँदा लगानी तथा कारोबार निर्णयका लागि आमलगानीकर्ता र कारोबारीहरू सञ्जालमा उपलब्ध गुणस्तरहीन सूचनाहरूमा भरपर्न बाध्य छन्, जसको फाइदा सूचनापासो थाप्ने स्वार्थीहरूले उठाइरहेका छन् । अझ कुनै नियमन र नियन्त्रण नहुने अनि जिम्मेवार हुन नपर्ने सामाजिक सञ्जाल स्वार्थ सिद्ध गर्ने सहज माध्यम बनेको छ ।
(ग) सञ्चार माध्यम : परम्परागत रेडियो, टिभी, पत्रपत्रिका वा अनलाइनहरू सबै सञ्चार माध्यमहरूको चासो धितोपत्र बजारमा बढेको छ भने उनीहरूको पहुँच सूचीकृत कम्पनी, नियामक, राज्यका निकायहरू सबैतिर रहँदै आएको छ । तर धितोपत्र बजारसम्बन्धी पर्याप्त ज्ञान र दक्षताको अभावमा कतिपय सञ्चार माध्यमहरूबाट जानी–नजानी भ्रामक सूचना प्रवाह हुनपुग्छ । कतिपय अवस्थामा सञ्चार माध्यमहरू स्वार्थ समूहको पासोमा परेर दिग्भ्रमित सूचना प्रवाह भइरहेको हुन्छ । स्वार्थ समूहबाट समाचार, टिप्पणी, विश्लेषण, लेख, अन्तर्वार्ताजस्ता अनेक नाममा सूचनापासो थाप्ने क्रम बढेको महसुस गर्न सकिन्छ ।
(घ) कम्पनी : कम्पनीहरूले नै लगानीकर्ताहरूलाई सूचनापासोमा पार्ने पत्याउनै गाह्रो, तर सूचीकृत कम्पनी र पदाधिकारीहरूले जानाजान वा अन्जानमा यथार्थ, पर्याप्त र समयमा सूचना नदिने अनि सार्वजनिक सूचनासमेत भ्रामक, अधकल्चो, ढिला दिने र जिम्मेवारी नलिने नौलो होइन । सार्वजनिक निष्कासनको विवरणपत्र अनुसारका आर्थिक–व्यवसायिक गतिविधि नहुने मात्र होइन, वित्तीय विवरणहरूमा कानुनले तोकेका न्यूनतम सूचना समेत प्रवाह नगर्ने, वास्तविक अवस्थाको झल्काउने यथार्थ र पर्याप्त जानकारी नदिने, प्रतिसेयर आयमा छेडखानी सामान्य हुन थालेको छ । लगानीकर्ता र कारोबारीहरूको भावनामा खेल्दै कम्पनीहरू असम्भव लाभांश र हकप्रदको गलत वाचा गर्ने, झुलाउने, झुक्याउने गर्छन् । औपचारिक वा अनौपचारिक माध्यमबाट सार्वजनिक हकप्रद, लाभांश, मर्ज वा प्राप्तिजस्ता मूल्य संवेदनशील सूचनाहरूप्रति गैरजिम्मेवार कम्पनी र पदाधिकारीहरू माथि कुनै कारबाही नहुँदा खुलमखुल्ला स्वार्थपरक सूचनापासो थाप्न क्रम बढ्दो छ ।
(ङ.) नियामक : धितोपत्र बजारमा कारोबार र सूचना प्रवाहको लागि नेप्सेको वेबसाइट र त्यस्ता सूचनाहरूको अभिलेख र नियमन गर्ने नेपाल धितोपत्र बोर्ड (सेवोन) छ । यस्तै बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंक, बिमा कम्पनीहरूको बिमा समिति र जलविद्युत् कम्पनीहरूको नियमन विद्युत् नियमन आयोगबाट नियमन हुन्छ । विभिन्न तहमा रहेका नियामकहरूले प्रवाह गर्ने नीतिगत निर्देशन, सूचना, निर्णयहरूको अनिश्चितता, निरन्तरता र व्यावहारिक कार्यान्वयन नहुँदा पनि लगानीकर्ताहरू सूचनापासोमा पर्ने जोखिम रहन्छ । अझ लगानीकर्ताहरूको हित संरक्षण र बजार सुशासनको मुख्य जिम्मेवार निकायहरूले समेत कम्पनीबाट प्रवाहित सूचनाहरूको सम्परीक्षण समेत नगरी लगानीकर्ताहरूमाझ पु-याइदिँदा सूचनाहरू जानकारीमूलकभन्दा घातक बन्दै आएका छन् । नेप्सेको विन्डोबाट प्रवाहित लाभांश र हकप्रदका कतिपय सूचनापासोमा परेर लगानी गरेका लगानीकर्ताहरू अन्ततः पुर्पुरोमा हात राख्न बाध्य भएका मात्र होइन, त्यस्ता सूचनाको जवाफदेहिताका लागि तततत् निकायमा पुग्दासमेत कुनै कारबाही र जिम्मेवारी लिनुभन्दा पन्छिने कामले लगानीकर्ताहरू सूचनापासोमा छट्पटाउन बाध्य छन् ।

सूचनापासोबाट बच्ने र बचाउने
कारोबार र लगानी निर्णयका लागि अत्यावश्यक सूचनाको कालोबजारीको सम्भावनासँगै पहुँचवालाहरूले सूचनाको स्वार्थपरक उपयोग र मूल्य असुली गर्छन् नै, त्यसबाट बच्ने जिम्मेवारी लगानीकर्ता र कारोबारीमै रहन्छ । त्यससँगै लगानीकर्ताहरूको हित संरक्षणका लागि कार्यरत निकायहरूले पनि यथार्थपरक, पर्याप्त, शुद्ध सूचना र सूचनामा समान पहुँचका लागि जिम्मेवारी लिनै पर्छ । लगानी तथा कारोबार अगाडि सूचनाको शुद्धता परीक्षण र स्वविश्लेषण सीप र क्षमताको विकासले सामाजिक सञ्जाल, मिडिया, कम्पनीबाट प्रवाहित सूचना र सूचनापासो छुट्ट्याउन र पासोबाट सुरक्षित हुन सकिन्छ ।
१. कम्पनीका प्रकाशित विवरण अध्ययन गर्दा व्यावसायिक प्रकृति र अवस्था, मुनाफाका स्रोत, नियामकीय व्यवस्थाका समग्र पक्षमा सजग हुँदै विस्तृत अध्ययन र पुनःपरिक्षण गर्ने ।
२. सामाजिक सञ्जालमा विश्वासिला व्यक्तिहरूलाई मात्र फलो गर्ने, उपलब्ध सूचनाहरूको परीक्षण गरेर मात्र कार्यान्वयन गर्ने, सूचनापासो थाप्ने कुरामा चनाखो बन्ने, लहलहैमा नलाग्ने ।
३. निःशुल्क र सहजै उपलब्ध गराइएका वा प्रवाहित सूचनाहरूको विश्वसनीयतामा सहज हुँदै अप्रत्यक्ष मूल्यप्रति चनाखो हुने । अनौपचारिक सूचनाहरू लिँदै गर्दा त्यसको आधिकारिक वा भरपर्दो स्रोतबाट पुष्ट्याइँ गरेर मात्र कार्यान्वयन गर्ने ।
४. सबै लगानीकर्ताहरूलाई सूचनापासोबाट जोगाउन र यथार्थपरक, भरपर्दो र शुद्ध सूचनाको सुनिश्चितताका लागि बजार सञ्चालक वा नियामकले सूचना÷तथ्यांक भण्डारण, व्यवस्थित अभिलेख, कम्पनीबाट सूचनाहरूको परीक्षण गरेर सबैको समान पहुँच सुनिश्चित गर्ने । गलत सूचना प्रवाह गर्ने कम्पनीका पदाधिकारीहरूलाई कारबाही गर्ने ।
५. नियामकले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट प्रवाह भएका सूचनाहरूको नियमित अनुगमन÷नियमनका लागि आवश्यक सफ्टवेयर वा संयन्त्रको व्यवस्था गर्दै, भ्रामक, गलत र तथ्यहीन सूचना प्रवाह गर्ने व्यक्ति र निकायहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने ।

प्रतिक्रिया दिनुहोस्