Logo

१ अर्ब लागतमा चरिकोटमा नयाँ खानेपानी योजना निर्माणाधीन

दोलखा-भीमेश्वर नगरपालिकाको ६ वटा वडामा एक वर्षपछि नयाँ लाइनबाट खानेपानी वितरण हुने भएको छ । निर्माणाधिन सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना अन्र्तगतका प्रतिक्षित हात्तीछहराको योजना पूरा भएपछि नयाँ पाइप लाइनबाट उपभोक्ताहरुले नयाँ धाराको पानी प्रयोग गर्न पाउने भएका छन् ।
आयोजनाको अहिले ४० प्रतिशत भौतिक प्रगति भएको छ । झण्डै एक अर्ब लागत रहेको आयोजनामा १० वटा मुहानको पानी प्रयोग गरी भीमेश्वर नगरपालिकाको वडा नं. २देखि ७ सम्मका ४ हजार घरमा नयाँ धाराबाट पानी घरघरमा पुग्नेछ ।
निर्माणाधीन आयोजना पूरा भएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको गुणस्तरीय पानी उपभोक्ताले प्रयोग गर्न पाउने चरिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामकृष्ण केसीले जानकारी दिए । आयोजना एसियाली विकास बैंकको ऋण लगानीमा निर्माण भएको हो । आयोजनाको लागत एसियाली विकास बैंकको ७० प्रतिशत ऋण र २५ प्रतिशत नगर विकास कोषको २५ वर्षे सहुलियतपूर्ण ऋण रहेको छ । ५ प्रतिशत उपभोक्ताबाट नगद सहभागीता हुनुपर्नेमा ३ प्रतिशत भूकम्पका कारण सरकारले छुट गरेको छ ।
आयोजनाबाट सबैभन्दा बढी भीमेश्वर नगरपालिका–३ र ६ को चरिकोट बजार, वडा नं. ४ जिलू लाभान्वित हुनेछन् । अध्यक्ष केसीका अनुसार वडा नं. २ दोलखाको ६० प्रतिशत, वडा नं. ३ को ९८ प्रतिशत, वडा नं. ४ को सत प्रतिशत, वडा नं. ५ माटी को ६० प्रतिशत वडा नं. ६ को ९९ प्रतिशत र वडा नं. ७ को ४५ प्रतिशत उपभोक्ताले पानी उपभोग गर्ने छन् । नयाँ लाइन जोडे पनि केही पुराना लाइनबाट पानी उपभोग गर्ने उपभोक्ताहरुले पुराना लाइनबाट समेत पानी उपभोग गर्न पाउने छन् ।
यो आयोजनाबाट उपभोक्ताको घरको कम्पाउण्डसम्म लाइन पु¥याउने छ । त्यसपछि पानीको मिटर राख्ने छ । कम्पाउण्डमा पुगेको पानीको लाइनलाई उपभोक्ताले आफ्ना आवश्यकता अनुसार धारा निर्माण गर्न सक्ने छ । उपभोक्ताले न्यूनतम शुल्कमा ६ हजार लिटरसम्म मासिक पानी उपभोग गर्न सक्ने छ । त्यसपछि पानी उपभोग अनुसार शुल्क थप गर्ने संस्थाको लक्ष्य छ । न्यूनतम् शुल्क र न्यूनतम् पानीको बारेमा अहिले नै अन्तिम निर्णय भइनसकेको उनले बताए ।
आयोजनाका परामर्शदाता वीरेन्द्र महर्जनले आयोजनाको गुणस्तरीयतका विषयमा कुनै सम्झौता नहुने बताए । अहिले सबैतिर कुलो निर्माण र मुख्य लाइनको पाइप विच्छ्याउने काम भइरहेको बताए । पानीको ४७ किलोमिटर मुख्य प्रसारण लाइन, १४९ किलोमिटर वितरण लाइन निर्माण हुने उनले बताए । आयोजनाको ४ वटा पानी शुद्धीकरण प्लान्ट, १३ वटा रिजर्भवेर ट्याङ्की निर्माण हुने छ ।
पानीको नियमित रेखदेखका लागि चरिघ्याङमा कन्ट्रोल रुम सहितको भवन निर्माण भएको छ । त्यसमा अत्याधुनिक प्रविधि जडान हुनेछ । त्यसैबाट जलविद्युत आयोजनाहरुमा जस्तै पानीलाई इन्टेकमा बन्द गर्ने खोल्ने र कुनै ठाउँमा समस्या आए देखिने र त्यसैका आधारमा मर्मत संभार हुने छ ।
उपभोक्ताहरुलाई विरतणका लागि प्रति सेकेण्ड ४३ लिटरदेखि अधिकतम ५१ लिटरसम्म पानी उपलब्ध हुने छ । अहिले निर्माणाधिन संरचनाले २० वर्षसम्म अहिलेकै दरमा जनसंख्या वृद्धि हुँदा पानी सहजै पु¥याउन सकिने अध्यक्ष रामकृष्ण केसीले बताए । आयोजनामा उच्च गुणस्तरमा ध्यान दिएको उनले बताए । पाइप चोरी नहोस् र कसैले निजी प्रयोनका लागि दुरुपयोग नगरोस् भनेर फ्याक्ट्रीबाट आयोजनाकै नाम नै प्रिन्ट गरेर पाइप उत्पादन गरिएको छ । आयोजनाको मुहान मुख्य रूपमा हात्तीछहरा र घट्टे खोला हुन् ।
आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रतिफलमा आधारित अनुदान सहयोगबाट २० प्रतिशत अतिविपन्न उपभोक्तालाई धारा र सरसफाइमा सहयोग गर्ने कार्यक्रम छ । अहिले राष्ट्रिय योजना आयोगले तोकेको मापदण्डका आधारमा विपन्न, दलित महिला छनौटको काम वडा वडाबाट माग भइरहेको छ । चरिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव ध्रुव बस्नेतका अनुसार यस्ता उपभोक्तालाई प्रतिपरिवार सरसफाइमा शौचालय निर्माणमा ११ हजार र धारा निर्माणमा ११ हजार बराबरको सहयोग हुनेछ । यस्तो सहयोग १ करोड बराबर हुने उनले अनुमान गरे ।
आयोजना २ वर्ष अर्थात ७३२ दिनमा पूरा गर्ने गरी २०७५ चैतमा निर्माण कम्पनी जेएनटीसीजी–एमएसएनएस जेभीसँग सम्झौता गरेको हो । निर्माण कम्पनीका प्रोजेक्ट व्यवस्थापक दिपक आचार्यले आउँदो चैत मसान्तमा आयोजना पूरा गर्नु पर्ने भए तापनि कोभिड १९ का कारण ६ महिना लामो लकडाउनका कारण केही महिना ढिला हुन सक्ने बताए ।
सम्झौता अनुसार आयोजना पूरा भएको एक वर्ष निर्माण कम्पनी आफैंले आयोजना सञ्चालन गरेर उपभोक्तालाई पानी वितरण गर्नुपर्छ । दोस्रो वर्ष उपभोक्ता समितिले सञ्चालन गर्ने र मर्मत निर्माण व्यवसायीले गर्ने र तेस्रो वर्षदेखि पूर्णरूपमा उपभोक्ता संस्थाले सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्