Logo

पर्यटकलाई सात दिन क्वारेन्टाइन व्यावहारिक होला त ?

हालै विभिन्न सञ्चारमाध्यममा आएको समाचारअनुसार विभिन्न देशका पर्यटकहरू अब नेपाल भ्रमण गर्नका लागि आउन पाउनेछन् । तर, त्यसरी नेपाल भ्रमण गर्न आउने विभिन्न देशका पर्यटकहरूले नेपालको कुनै पनि हिमाल आरोहण गर्न जानुअघि वा कुनै पनि पदयात्रा क्षेत्रमा पदयात्रा गर्न जानुअघि सात दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ । सञ्चारमाध्यमहरूमा जनाएअनुसार सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी पर्यटकले नेपालमा पर्वतारोहण तथा पदयात्रा गर्न आउँदा पालना गर्नुपर्ने सर्तसम्बन्धी मापदण्ड–२०७७ जारी गरेको छ ।
यसरी नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी पर्यटकले नेपालमा पर्वतारोहण तथा पदयात्रा गर्न आउँदा पालना गर्नुपर्ने विभिन्न सर्तमा नेपालमा पर्वतारोहण तथा पदयात्रा गर्न आउने विदेशी पर्यटकहरूले नेपाल आउनुअगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्ने तर भिसा प्राप्त नहुने अवस्थामा नेपालमा रहेका ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्ने, त्यसरी सिफारिस गरी आएका विदेशी पर्यटक आउँदा सम्बन्धित पर्यटक बिन्दु (नाका) मा भिसा उपलब्ध गराउने, नेपाल प्रवेश गर्दा ७२ घण्टाअगाडिको पीसीआर रिपोर्ट पेस गर्नुपर्ने, कम्तीमा सात दिन क्वारेन्टाइनमा रहने गरी होटल बुकिङ गरेको कागजात पेस गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तीमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलरबराबरको कोरोना बिमा गरेको हुनुपर्ने, विदेशी पर्यटक नेपाल प्रवेश गरेपछि कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्नैपर्ने, सो अवधिमा विदेशी पर्यटकले आफ्नै खर्चमा नेपालमा पीसीआर चेक–जाँच गर्नुपर्ने, कोरोना नेगेटिभ रिपोर्ट आएमा÷भएमा मात्रै पर्वतारोहण वा पदयात्रामा जान पाउनेलगायतका सर्तहरू रहेका छन् । तर, त्यसै पनि विश्वको पर्यटन अर्थतन्त्रमा कोभिड–१९ ले पारेको भयानक असरको यो अवस्थामा यस्ता अव्यावहारिक र झन्झटिलो लाग्ने मानेर कोही पर्यटक आउलान् त ? प्रश्न वास्तवमै गम्भीर छ ।
हुन पनि गत मार्च अन्तिम–अप्रिल सुरुताका संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व पर्यटन संगठन (डब्लूटीओ) ले केही महिनाअघि तथ्य–तथ्यांकसहित एक प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनअनुसार कोरोनाका कारण विश्व पर्यटन क्षेत्रको आगमन संख्यामा सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिशतसम्मले कमी आउने अर्थात् विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० घट्ने बताइएको थियो । स्मरणीय छ, यो तथ्यांक कोभिड–१९ को असर सन् २०२० को अप्रिल–मे महिनासम्म कायम रहेमा भनी गरिएको तथ्यांकसहितको प्रतिवेदन हो । तर, कोभिड–१९ को प्रभाव अप्रिल–मे महिना काटेर अक्टोबरको सुरुमा आइपुग्दासम्म पनि कायमै रहेको मात्रै होइन कि झनै बढ्दै गएकाले गर्दा सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिशत भनी जुन प्रक्षेप्रण गरिएको थियो, त्योभन्दा बढी नै (७०–७५ देखि ८०–८५ प्रतिशत) घट्ने अनुमान गर्न सकिन्छ ।
हुन पनि हाम्रो जस्तो कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान केवल २.३, २.९, ३.४ देखि बढीमा ४.७ सम्म रहेको देशमा त गत ७ महिनामा २४ अर्बभन्दा बढी नेपाली रुपैयाँबराबरको क्षति बेहोरेको छ भने पर्यटनमा आएको यस्तो मूर्दा शान्तिले आफ्नो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान लगभग ५०–५३ देखि १९–२१ प्रतिशतसम्म रहेका देशहरू जस्तै मकाउ, माल्दिभ्स, अजुबा, सेसेल्स, ब्रिटिस भर्जिन आइल्यान्ड, अमेरिकन भर्जिन आइल्यान्ड, बहामास, भानुआट, केपभर्डे, क्रोसिया, ग्रेनाडा, थाइल्यान्ड, सिंगापुरलगायतका देशहरूको हालत के होला ? ती देशका जनताका घरव्यवहार कसरी चल्ला ? ती देशको समग्र अर्थतन्त्र कसरी धानिएला ? विश्व पर्यटनको वर्तमानको डावाँडोल स्थितिले ल्याउने आर्थिक मन्दीको सहजै अनुमान गर्न सकिन्छ ।
–निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्