कोरोना महामारीमा सूचनाको हकको महत्वबारे आयोगको अन्तरक्रिया «

कोरोना महामारीमा सूचनाको हकको महत्वबारे आयोगको अन्तरक्रिया

सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले कोरोना महामारीका समयमा सूचनाको हकको महत्व विषयक अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले गत वर्ष अर्थात् १५ अक्टोबर २०१९ मा सेप्टेम्बर २८ लाई प्रत्येक वर्ष सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तराष्ट्रिय दिवसका रुपमा मान्ने गरी घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघले घोषणा गरे पश्चातको पहिलो दिवस हो । सेप्टेम्वर २८ लाई सूचनाको सर्वव्यापी पहुँच सबन्धी अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने क्रम सन् २०१५ देखि नै युनेस्कोको महासभाले घोषणा गरे पश्चात शुरु भएको थियो ।
सूचना आयोगले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले यस दिवसको महत्व, संयुक्तराष्ट्र संघले यो दिवस घोषणा गरेको कारण र आयोगले गरेका कार्यहरुका बारेमा प्रष्ट पारेकी थिइन् ।
आयोगकै आयुक्त रत्नप्रसाद मैनालीले कोरोनाका समयमा आयोगवाट भएका आदेश तथा अभियन्ताहरुले नागरिकलाई सचेत बनाउन पर्ने विचार व्यक्त गरे । त्यसैगरी युनेस्को नेपालका प्रमुख क्रिश्चियन म्यानहर्टले विपदका बेलामा सूचनाको हकको महत्व थप बढेर जाने र नेपालले तथा आयोगले गरिरहेको कामको प्रशंसा गर्दै अझै पनि सूचना पाउन मुस्किल रहेको हुँदा यस क्षेत्रमा थप सुधार गर्दै जान पर्ने विचार व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले सूचनाको हक सम्बन्धी कानून ल्याउन महासंघले ठूलो योगदान रहेको तर अझै पनि सूचना पाउने वातावरण बन्न नसेको अवस्थामा रहेको र यसको कार्यन्वयनमा सहयोग र साथ दिन तयार रहेको बताए । यसैगरी सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, नेपालका संयोजक उमिद बागचन्दले आयोग केन्दमा मात्र रहेको, सूचना नदिनेलाई कारवाही हुन नसकेको, सूचना पाउन प्रकृया लामो र झन्झट रहेको विचार व्यक्त गर्दै नियमावली संशोधन पारदर्शी बनाउन पर्ने विचार राखे ।
कार्यक्रममा सञ्जालका बागमती प्रदेश संयोजक शर्मिला पण्डित, प्रदेश २ का संयोजक मनोज रौनियार र विष्णु चौलागाईले सूचनाको हकमा थप कार्य गर्नुपर्ने, सूचना पाउन सहज नभएको, अनावश्यक दुःख दिने गरेको, आयोगको कामलाई छिटो छरितो बनाउन पर्ने, स्थानीय तहमा अलि बढी काम गर्नु पर्ने देखिएको जस्ता विषयहरु उठाएका सथए ।
कार्यक्रमको समापनमा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले संयुक्त राष्ट्रसंघले घोषणा गरेपछि उक्त दिवस पहिलो पटक मनाउन लागिएकोले सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तराष्ट्रिय दिवसका अवसरमा सवैमा शुभकामना व्यक्तगर्दै सूचनाको हकलाई कार्यान्वयन गर्न, थप बलियो बनाउन, नागरिकमैत्री बनाउन, कानूनी व्यवस्थाको कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने, आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताए ।
यस दिवसका अवसरमा आयोगले विगतमा पनि कार्यक्रम आयोजना गर्ने गरेको तर यसपटक कोरोनाका कारण भर्चुअल बैठकमा सीमित हुनु परेको भए पनि यस दिवसका आवसरमा सरोकारवाला सवैले सूचनाको हकको कार्यन्वयनमा प्रतिवद्धता देखाउन पर्ने विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्