प्याजमा कालोबजारी गर्ने ८ व्यवसायीलाई १५ लाख जरिवाना «

प्याजमा कालोबजारी गर्ने ८ व्यवसायीलाई १५ लाख जरिवाना


कृत्रिम अभाव गराएर प्याजमा कालोबजारी गर्ने ८ जना व्यवसायीलाई सरकारले १५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न स्थानमा रहेका ८ वटा व्यवसायीलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरेको हो ।
प्याजमा कालोबजारी भएको चौतर्फी गुनासो आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार आफैँ बजार अनुगमनमा गएका थिए । अनुगमनका क्रममा ठगी गरेको फेला परेपछि व्यवसायीलाई कारबाही गर्न उनले निर्देशन दिएका थिए । त्यसलगत्तै विभागले बिहीबार प्याजमा कालोबजारी गर्ने ८ व्यवसायीलाई कारबाही गरेको हो ।
कसुरअनुसार प्रतिव्यक्ति ५५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरेको विभागले जानकारी दिएको छ । बजार अनुगमनका क्रममा कृत्रिम अभाव गराएर तेब्बरसम्म मूल्य लिएको फेला परेपछि ८ व्यवसायीलाई कारबाही गरिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार प्याजमा ठगी गर्ने व्यवसायीलाई कारबाही गरेर १४ लाख ७० हजार रुपैयाँ असल गरिएको छ ।
विभागका अनुसार उलक सब्जी भण्डार, दुलाल आलु भण्डार, विजेरा गौतम र राजन आलु प्याज भण्डारलाई ५५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । यस्तै पशुपति आलु प्याज भण्डारलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।
यसैगरी न्यु सापकोटा स्टोरलाई दुई लाख ५५ हजार रुपैयाँ, माता सरस्वती खानेपानी प्रालिलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको विभागले जानकारी दिएको छ । सबैभन्दा धेरै आरके ट्रेर्डसलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गर्दै आएका छन् । प्रतिकेजी ४० देखि ५० रुपैयाँ रहेको प्याजलाई एक सय ५० रुपैयाँसम्म पु-याएका छन् ।
प्याजको मूल्यमा ठगिएमा तुरुन्त खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्लो समय विभागले बजार अनुगमनको कामलाई तिव्र रुपमा अगाडि बढाएको जनाएको छ । विभागले कालीमाटी, बल्खु, तीनकुने लगायतका अन्य बजारमा अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्