तीन दर्जन स्थानीय तहमा वाणिज्य बैंकका शाखा «

तीन दर्जन स्थानीय तहमा वाणिज्य बैंकका शाखा

प्रदेश तथा स्थानीय सरकारको संरचना निर्माणसँगै वाणिज्य बैंकहरूले स्थानीय तहमा शाखा विस्तार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयका अनुसार वाणिज्य बैंकहरूले प्रदेश ७ मा ३६ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने प्रस्ताव गरेका छन् । मुलूक संघीय संरचनामा गएपछि हरेक स्थानीय तहमा कम्तिमा एक वाणिज्य बैकंको सहयोग पुर्या उने लक्ष्य लिएको छ ।
हालसम्म बैकिङ सेवा सहरमुखी तथा सुविधाजनक ठाउँमा मात्र उपलब्ध हुँदै आएकोमा अब ग्रामीण क्षेत्रमा समेत पुर्याउने लक्ष्य रहेको नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक रमेश आचार्यले बताए । सरकारको निर्देशनबमोजिम हरेक स्थानीय तहमा शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई पत्राचार गरेको छ । प्रदेश नम्बर ७ का ९ जिल्लामा कुल ८८ तह छन् । तत्कालका लागि ३६ वटा स्थानीय तहमा बैंक शाखा विस्तार हुँदैछन् । तर, २० वटा स्थानीय तहमा बैंक शाखा विस्तार गर्न कठिनाइ रहेको बताइएको छ ।
सडक, बिजुली, टेलिफोन, सुरक्षालगायत आधारभूत पूर्वाधार नपुगेका स्थानीय तहमा तत्काल बैंक शाखा विस्तार गर्न गाह्रो भइरहेको क्षेत्रीय निर्देशक आचार्यले बताए । बैंकहरूले ७ नम्बर प्रदेशको कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बैतडी, बाजुरा, दार्चुला र बझाङ्मा शाखा विस्तार गर्ने भएका छन् । कैलालीमा भने थप कुनै शाखा विस्तार हुने छैन । कञ्चनपुरका ५, डडेल्धुरा र डोटीमा ४-४, बैतडी, बझाङ र दार्चुलामा ६-६, अछामका तीन र बाजुराका दुई स्थानीय तहमा बैंकहरूले आ–आफ्नो शाखा विस्तार गर्ने जनाएका छन् । डडेल्धुरा र दार्चुलाका १-१, डोटी र अछामका ३-३, बझाङ् र बाजुराका ५-५ तथा बैतडीका दुईवटा स्थानीय तहमा चालू आर्थिक वर्षभित्र बैंक शाखा विस्तार नहुने क्षेत्रीय राष्ट्र बैंकले जनाएको छ भने कैलालीका दुई स्थानीय तहमा पनि बैंक शाखा स्थापना गर्ने छैनन् । ७ नम्बर प्रदेशको ३६ स्थानीय तहमा बैंक शाखा विस्तारका लागि सम्पूर्ण तयारी पूरा भइसकेको समेत राष्ट्र बैंकले बताएको छ ।
कञ्चनपुरको कृष्णपुरको नगरपालिकामा एनसीसी बैंक, बेदकोट नगपालिकामा एनआईसी,लालझाडी गाउँपालिकामा एनएमबी तथा महाकाली र बैलौरी नगरपालिकामा कुमारी बैंकले शाखा विस्तार गर्ने भएका छन् । त्यस्तै, डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा एनआईविएल, नवदुर्गा गाउँपालिकामा प्रभु र भागेश्वर गाउँपालिकामा सानिमा बैंकले शाखा विस्तार गर्नेछन् । डोटीको शिखर नगरmपालिकामा एभरेष्ट बैंक,बोगटान गाउँपालिकामा ग्लोबल आइएमई,आदर्श गाउँपालिकामा मेघा र केआइसिंह गाउँपालिकामा एनएमबी बैंकले शाखा विस्तार गर्ने जनाएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिकामा माछापुच्र्छे बैंक, बान्नीगढी जयगढ गाउँपालिकामा मेघा बैंक र रामारोशन गाउँपालिकामा एनआइसी एसिया बैंकको शाखा स्थापना हुँदैछ । बैतडीका पुर्चौडी नगरपालिकामा ग्लोबल आइएमई बैंक, डिलासैनी गाउँपालिकामा कुमारी बैंक, मेलौली गाउँपालिकामा एनसिसि बैंक, सुनर्या गाउँपालिकामा इन्भेस्टमेन्ट र सिगास गाउँपालिकामा प्रभु बैंकको शाखा स्थाना हुनेछ । बझाङ्को बुंगल गाउँपालिकामा कृषि विकास बैंक, केदारस्यु गाउँपालिकामा सिटिजन्स बैंक, बित्डचिर गाउँपालिकामा कृषि विकास बैंक, खप्तडछान्ना गाउँपालिकामा सनराइज बैंकले शाखा विस्तार गर्नेछन् ।
बाजुराका त्रिवेणी नगरपालिकामा बैंक अफ काठमाण्डू र बुढीगंगा नगरपालिकामा सिद्धार्थ बैंक विस्तार हुनेछन् । दार्चुलाको नौगाड गाउँपालिकामा जनता बैंक, लेकम गाउँपालिकामा लक्ष्मी बैंक, मालिकार्जुन गाउँपालिकामा माछापुच्छ«े बैंक, दुहु गाउँपालिकामा इन्भेस्टमेन्ट बैंक, ब्यास गाउँपालिकामा प्रभु बैंक र मार्मा गाउँपालिकामा सनराइज बैंकको शाखा विस्तार हुने भएको छ । यस्तै, डडेल्धुराका अजयमेरु, डोटीका बडीकेदार, सायल र पूर्वीचौकी गाउँपालिका, अछामका मल्लेख, तुर्माखाद र चौरपाटी गाउँपालिका, बैतडीको पञ्चेश्वर र दोगडाकेदार गाउँपालिका, बझाङका काँडा, सुर्मा, दुर्गाथली र छविसपाथीभरा तथा थलरा गाउँपालिका, बाजुराका गौमुल, हिमाली, पाण्डवगुफा, स्वामिकार्तिक र छेडेदह गाउँपालिका तथा दार्चुलाका अपिहिमाल गाउँपालिकामा तत्काल बैंकहरूका शाखा विस्तार हुनेछैनन् ।
नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय धनगढीका अनुसार २०७३÷०७४ सम्म यस प्रदेशमा १ सय ६८ वटा बैंक शाखा विस्तार भइसकेका छन् भने सबैभन्दा बढी बढी कैलालीमा ७५ र बाजुरामा ४ वटा बैंक शाखा रहेको क्षेत्रीय कार्यालय धनगढीले जानकारी दिएको छ । यस्तै, कञ्चनपुरमा ३८, डोटीमा ९, डडेल्धुरामा १३, अछाममा ९, बझाङ र बैतडीमा ६÷६ र दार्चुलामा ८ वटा बैंकहरूले सेवा दिइरहेका छन् ।

हिमेश बि.क.

प्रतिक्रिया दिनुहोस्