Logo

घोराहीको प्राथमिकतामा भूमि बैंकको स्थापना र करारमा जग्गा

दाङ-घोराही उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विश्वव्यापी कोरोनाको संकटलाई व्यवस्थापन गर्दै आन्तरिक कृषि उत्पादनलाई समेत नीति र कार्यक्रमले प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रमको सारांश नै आधुनिक कृषि प्रणाली तथा बाँझो रहेका जग्गामा कृषि उत्पादनलाई प्राथमिकता दिइने बताइएको छ । नगरप्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किसानलाई ६० प्रतिशत अनुदानमा मल बीउ उपलब्ध गराउने, भूमि बैंक स्थापना गर्ने तथा खाली जग्गा करारमा दिने नीति समेत ल्याएको बताए ।
यसका लागि आवश्यक पूर्वाधार तयार गर्ने पनि नीति तथा कार्यक्रममा जनाइएको छ । नीति तथा कार्यक्रममा किसानलाई पूर्णकालीन कृषक परिचय–पत्र उपलब्ध गराउने, सिँचाई नभएका स्थानहरुमा ताल तलौयाको निर्माण, स्यालो ट्युबेल निर्माण, डिप बोरिङ तथा थोपा सिँचाई प्रणालीलाई समेत प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी रैथाने बालीको प्रबद्र्धन, पशुपंक्षीको उत्पादन र बजारीकरण तथा जैविक विविधता ल्याउनका लागि एक वडा एक सामुदायिक बीउ बैंक स्थापनामा पनि नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ । त्यसैगरी पशुपालक किसानहरुलाई उत्साहित गर्नका लागि कृतिम गर्भाधानलाई निरन्तरता दिने पनि बताइएको छ । त्यसैगरी नीति तथा कार्यक्रममा शून्य शुल्कमा आधारभूत तहसम्मको पढाइको ग्यारेन्टी गर्दै उमेर पुगेका सबै बालबालिकालाई विद्यालय ल्याउने समेत योजना प्रस्तुत गरिएको छ ।
आगामी आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको जानकारी गराएका थिए ।
कोरोनाको व्यवस्थापन, स्वास्थ्य क्षेत्रको सवलीकरण, कृषि तथा पशु विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको उनको भनाइ रहेको छ । कार्यक्रममा शैक्षिक क्रियाकलापलाई नियमितता र व्यवस्थापन गर्न श्रम बैंक तथा भूमि बैंक स्थापना मार्फत रोजगारी सिर्जना र आयोजना बैंक तयार गरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेको नगरप्रमुख चौधरीले बताए । “कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण सफलता हासिल गर्न स्वास्थ्य उपकरण तथा औषधि आपूर्तिको उचित व्यवस्था मिलाइने छ”, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चौधरीले भने, “क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य परीक्षण तथा थप आइसोलेसन वार्डको स्थापना गरी उपचारको समुचित प्रवन्ध मिलाइने छ ।
” घोराहीमा उपमहानगरपालिका स्तरीय अस्पताल स्थापना गरिने उनले बताए । उपमहानगरवासी विशेषगरि सिकलसेल एनेमिया र प्रसुति सेवाका बिरामीहरुका लागि रगत निःशुल्क प्रदान गर्न नगर प्रमुख रक्त सञ्चार सेवालाई निरन्तरता दिइने छ । त्यसैगरी कृषि उत्पादन वृद्धि गर्न सबै कृषियोग्य भूमिमा सिँचाई सुविधा पु¥याउन विशेष प्राथमिकता दिइने छ । भवन संहिता विपरीत भवन निर्माण गर्ने घरधनीलाई नगरबाट उपलब्ध गरिने सेवा सुविधाबाट बञ्चित गरिनुका साथै भवन आचारसंहिता पालना गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने उनले बताए । त्यसैगरी पूर्णसरसफाई अभियान सफल पार्न स्वच्छता वडा घोषणा गर्ने टोल तथा वडाहरुलाई पुरस्कृत गरिने छ । त्यसैगरी छिटो न्यायको सिद्धान्त अनुसार मुद्दाहरु छिटो टुंग्याउने नीति लिई प्रभावकारी न्यायको प्रत्याभूति गरिने उनले बताए । न्यायिक समितिका पदाधिकारी, मेलमिलाप कर्ता लगायतको क्षमता विकासका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने कार्यक्रमहरु रहेका छन् ।

रोजगारका अवसर र एक वडा एक उद्यान

लमही नगरपालिकाले नयाँ आर्थिक वर्ष २०७७ -०७८ को वार्षिक नीति तथा कार्यक्रम सावर्जनिक गरेको छ । नगर प्रमुख कुलबहादुर केसीले नीति तथा कार्यक्रम सावर्जनिक गरेका हुन् । कोरोना भाइरस संक्रमणका कारण रोजगारी गुमाएका तथा वेरोजगार व्यक्तिलाई रोजगारीका अवसर बढाउने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउँदै नागरिकको जीवनस्तर सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नीति तथा कार्यक्रममा राखिएको छ । नीति तथा कार्यक्रममा कोरोनाका कारण विदेश तथा स्वदेशमा जागिर गुमाएका तथा बेरोजगार युवालई व्यावसायिक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
कृषि र पशुलान क्षेत्रबाट रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै आगामी वर्षका धेरै कार्यक्रम कृषि र पशुपालनतर्फ केन्द्रित गरिएको छ । “कम समयमा तयार हुने र बढी आम्दानी दिने खालका खेती मार्फत् विपन्न वर्ग र महिलाहरुको आयस्तर वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने छ”, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख केसीले भने, “एक वडा एक पशुपालन स्रोत केन्द्र स्थापना गर्ने नीति लिइने छ ।” कोरोना रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने योजनालाई प्राथमिकता राखेको छ । वार्षिक नीति तथा कार्यक्रममा कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने, क्वारेन्टाइन व्यवस्थित बनाउने र आधारभूत आवश्यकताका वस्तुको सहज आपूर्ति व्यवस्था मिलाउने विषयलाई प्राथमिकतामा राखिएको हो । त्यसैगरी नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्न नगरभित्र सञ्चालन भएका स्वास्थ्य चौकीमा क्रमशः कम्तिमा एक जना एमबिबिएस डाक्टरबाट स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख छ । लमही अस्पताललाई थप सेवामुखी, स्रोतसाधनयुक्त, दक्ष चिकित्सक र स्वस्थ्य सामग्रीको व्यवस्था गरी सामान्य शल्यक्रिया सेवा सुरुवात गरिने, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला सेवा, सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सेवा, बहिरंग र अन्तरंग सेवालाई थप गुणस्तरीय बनाइने उल्लेख गरिएको छ ।
लमहीमा सर्पदंश उपचार केन्द्र सेवा सञ्चालनका लागि संघीय सरकार तथा प्रदेश सरकारको सहकार्यमा पर्याप्त औषधी, उपकरण तथा जनशक्तिको व्यवस्था गरिने, प्रदेश सरकारको सहयोगमा लमहीमा निर्माण हुन लागेको ट्रमा सेण्टरको भवन निर्माणको लागि आवश्यक सहजीकरण र समन्वय गरिने नीति लिइएको छ ।
आमासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी अवस्थामा पोषणयुक्त खानाको महत्व दर्साएर, पोषणयुक्त खाना खाने बानीको विकास गर्न सुत्केरी आमालाई पोषण खाद्य सामग्री हस्तान्तरण गरिने नीति लिइएको छ ।
नगरपालिकाले एक वडा एक उद्यान, एक वडा एक जलाशयको अवधारणलाई अघि सारेको छ । यो अवधारणाअनुसार कार्यक्रम सञ्चालन गर्न सामुदायिक वन, टोल विकास संस्था तथा विद्यालयहरुसँग सहकार्य गर्दै उद्यान, नहर, पोखरी तथा पानीका मूल संरक्षण गर्न कार्यक्रम गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्