घोराहीमा थारु भाषाको पाठ्यक्रम निर्माण हुँदै

पाठ्यक्रम निर्माणका लागि घोराही उपमहानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर विज्ञ व्यक्ति तथा संस्थालाई प्रस्ताव आह्वान गरेको छ ।
दाङ-घोराही उपमहानगरपालिकाले थारु भाषाको पाठ्यक्रम निर्माण थालेको छ ।
देश संघीय संरचना गएपछि माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । यसै अधिकारको प्रयोग गरेर अहिले विभिन्न स्थानीय तहले आ–आफ्नो स्थानीय तहअनुसार पाठ्यक्रम निर्माण गर्न थालेका छन् । यसै अधिकारको प्रयोग गदै घोराही उपमहानगरपालिकाले पनि थारु भाषामा पाठ्यक्रम निर्माण गर्ने थालेको जनाएको छ । जिल्लामा यसरी पाठ्यक्रम निर्माण गर्न थालिएको सम्भतः यो नै पहिलो हो । जिल्लामा १० स्थानीय तह रहे पनि अन्य स्थानीय तहले पाठ्यक्रम निर्माण गर्न सुरु नगरेको बताइएको छ ।
जिल्लामा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका छन् । मातृ भाषामा अध्यापन गराइए पनि पाठ्यक्रम भने निर्माण भएको थिएन । पाठ्यक्रम निर्माणका लागि घोराही उपमहानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर विज्ञ व्यक्ति तथा संस्थालाई प्रस्ताव आह्वान गरेको छ । १५ दिनको समय दिएर नगरपालिकाले विज्ञ व्यक्ति तथा संस्थालाई निवेदन दिन भनेको छ । यही फागुन ८ गते बसेको नगर शिक्षा समितिको बैठकले थारु भाषामा पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले प्राथमिक विद्यालय सम्मको पाठ्यक्रम निर्माण गर्ने थालेको शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले बताए । विज्ञको छनोट गरेर पाठ्यक्रम निर्माण गरेर नगरमा रहेका प्राथमिक विद्यालयमा लागू गरिने शाखा अधिकृत पौडेको भनाइ छ । पाठ्यक्रम तयार गरी सकेपछि पाठ्यपुस्तक प्रकाशनका लागि पाठ्यपुस्तक विकास केन्द्रलाई प्रदान गरिने बताइएको छ । “नगर क्षेत्रमा रहेका इच्छुक विद्यालयमा थारु भाषाको पाठ्यक्रम लागु गरिने छ,” अधिकृत पौडेलले भने । आउँदो शैक्षिक सत्रबाट लागू गर्ने तयारी गरिएको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ । पाठ्यक्रम निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
स्थानीय पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने उद्देश्यअनुसार नै घोराही उपमहानगरपालिकाले पनि थारु भाषाको पाठ्यक्रम निर्माण गर्न लागेको जनाएको छ । नगर क्षेत्रमा थारु समुदायको संख्या बढी भएकाले पनि थारु भाषाको पाठ्यक्रम निर्माण गर्ने लागिएको बताइएको छ । निर्माण गर्न लागिएको पाठ्यक्रम अनिवार्यभन्दा पनि ऐच्छिक राख्ने विद्यालयमा यसको लागू गरिने अधिकृत पौडेलको भनाइ छ । विशेषगरी नगरका थारु बस्ती बढी रहेका विद्यालयमा लागू गर्ने तयारी नगरपालिकाले गरेको छ । “बालबालिकाले आफ्नै मातृ भाषामा अध्ययन गर्न पाउँदा सिकाइमा समेत सहयोग पुग्ने छ,” अधिकृत पौडेलले भने । सिकाइसमेत प्रभावकारी हुने गरेको उनको भनाइ दाबी छ । यसरी निर्माण गरिने पाठ्यक्रम १ सय पूर्णांकको हुनेछ ।