Logo

सिमेन्ट निर्यातले जगाएको आशा

फाइल तस्बिर ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारको इतिहास लामै रहेको भए पनि यसबाट मुलुकले फाइदा लिन सकेको छैन । वस्तु र सेवा निर्यातका तुलनामा आयातको आकार फराकिलो र ठूलो रहेको तथा निर्यातको विस्तार कमजोर बनेका कारण देशको वैदेशिक व्यापार बर्सेनि असन्तुलित हुँदै व्यापारघाटा निरन्तर वृद्धि हुने क्रममा रहेको छ । यस किसिमको निराशाजनक अवस्थाका बीच आशालाग्दो समाचार सार्वजनिक भएको छ— सिमेन्ट निर्यातको बढ्दो व्यापार ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आव २०८०-८१ को सातमहिने अवधिमा गत आवको सोही अवधिको तुलनामा करिब सात गुणाले नेपाली सिमेन्टको निर्यात बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षभरमा करिब ७८ करोडको सिमेन्ट र क्लिंकर निर्यात भएकोमा यस आवको पहिलो सात महिनामै २ अर्ब ६ करोड रुपैयाँ हाराहारीको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । अर्थतन्त्रका सम्पूर्ण परिसूचक नकारात्मक देखिएको अहिलेको समयमा सिमेन्ट निर्यातको बढ्दो ग्राफले आशाको सञ्चार गरिरहेको छ ।

नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा निर्यात हुने गरेको छ । तयारी सिमेन्ट निर्यात हुन थालेको करिब १९ महिना मात्रै भएको छ र यो अवधिमा नेपालबाट २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सिमेन्ट एवं क्लिंकर भारतीय बजारमा पुगेको छ । यति छोटो समयमा नै निर्यातको मात्रा उल्लेखनीय रूपमा वृद्धि हुनु नेपाली सिमेन्ट उद्योगका लागि खुसीको विषय हो । नेपालबाट अर्घाखाँची, पाल्पा, सर्वोत्तम, बाहुबली, बालाजी, सिजी, सृष्टिलगायत नामका सिमेन्ट भारत निर्यात भइरहेका छन् । नेपाली सिमेन्टको उत्पादन स्थानीय चुनढुंगाको प्रयोग गरी हुने गरेकाले यहाँको सिमेन्टमा भारतीयहरूको आकर्षण बढ्दो क्रममा रहेको पाइन्छ । भारतीय बजारमा नेपाली सिमेन्टको माग निरन्तर बढ्दो क्रममा रहेको र सोहीअनुरूप निर्यातमा पनि निरन्तर वृद्धि भइरहेको तथ्यांकले देखाएको छ ।

नेपालमा सिमेन्ट उद्योग फस्टाउनु र निर्यातमा उल्लेखनीय वृद्धि हुनुका केही ठोस कारणहरू छन् । देशभित्र सिमेन्टलाई चाहिने मुख्य कच्चा पदार्थका रूपमा रहेको चुनढुंगाको खानी प्रशस्त मात्रामा रहेको छ । केही वर्षअघिसम्म यस्ता खानी उत्खननसम्बन्धी सरकारी नीति कडा रहेको एवं चुनढुंगा उत्खननका लागि लगानी र प्रविधिको न्यूनता रहेको थियो । तत्कालीन समयमा भारतबाट क्लिंकर आयात गरी सिमेन्ट उत्पादन गर्ने गरिन्थ्यो । तर, चुनढुंगा उत्खननका लागि सरकारले लाइसेन्स जारी गर्न थालेसँगै सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थको सहज उपलब्धता हुन थालेको छ ।

सिमेन्ट उत्पादनमा मुलुक आत्मनिर्भर हुनुका साथै आन्तरिक बजारको खपतले मात्र नसकिने भएपछि सरकारले आव २०७६-७७ बाट सिमेन्टलाई निर्यातजन्य उद्योगका रूपमा सूचीकृत गरेको थियो । यो व्यवस्थाले पनि सिमेन्ट निर्यात गर्नमा उत्साह थपेको देखिन्छ । यसका साथै, स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने, उद्योग र खानीसम्म यातायात एवं विद्युत सेवा विस्तार गर्ने, १० करोड रुपैयाँभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशत छुट दिने जस्ता सरकारी नीतिहरूको सकारात्मक प्रभाव नेपाली सिमेन्ट उद्योगहरूमा परिरहेको देखिन्छ ।
नेपालमा सिमेन्ट उत्पादन हुन थालेको धेरै समय भने भएको छैन ।

सन् १९७४ मा सरकारी लगानीमा हिमाल सिमेन्ट उद्योग स्थापना भई सिमेन्ट उत्पादनको सुरुवात भएको पाइन्छ । यसबीचको आधा शताब्दीमा हालसम्म आइपुग्दा नेपालमा निजी क्षेत्रका ६५ र सरकारको स्वामित्वमा रहेका दुईवटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । नेपालका सिमेन्ट उद्योगहरूमा वार्षिक साढे २ करोड टन हाराहारी सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको नेपाल सिमेन्ट उत्पादक संघको तथ्यांक छ ।

यो उत्पादनको करिब आधा हिस्सा मात्रै स्वदेशी बजारमा खपत हुने गरेको छ । यसरी हेर्दा, वार्षिक करिब १ खर्ब ५० अर्ब रुपैयाँबराबरको सवा करोड टन सिमेन्ट निर्यात गर्न सक्ने क्षमता र सम्भावना नेपाली सिमेन्ट उद्योगहरूमा रहेको देखिन्छ । पछिल्ला वर्षहरूमा सिमेन्ट उद्योगमा विदेशी लगानीकर्ताहरू पनि आकर्षित भइरहेका छन् । होङ्सी, अर्घाखाँचीलगायत केही सिमेन्ट उद्योगमा वैदेशिक लगानी भित्रिसकेको अवस्था छ । कच्चा पदार्थका रूपमा रहेको चुनढुंगाको सहज उपलब्धताका कारण पनि नेपाली सिमेन्ट उद्योगमा थप वैदेशिक लगानी भित्रिन सक्ने यथेष्ट सम्भावना रहेको छ ।

एकातिर यस किसिमको उत्साहप्रद अवस्था देखिएको छ भने अर्कातिर नेपाली सिमेन्ट उद्योगहरू विभिन्न समस्या र कठिनाइहरूबाट गुज्रिरहेका छन् । संघीयताको कार्यान्वयनसँगै संघीय निकाय, प्रदेश सरकार र स्थानीय सरकारसमेतले सिमेन्ट उद्योगहरूमा कर लगाउन खोज्दा करको दोहोरो–तेहेरो मारमा सिमेन्ट उद्यमीहरू परिरहेका छन् । सरकारले विद्युत महसुलमा दिएको छुटको सीमा बढी र प्रतिशत कम भएको गुनासो उद्यमीहरूले गर्ने गरेका छन् । यसबाहेक सिमेन्ट निकासीलाई टेवा पुग्ने गरी पर्याप्त मात्रामा भौतिक एवं व्यापार पूर्वाधारको विकास हुन नसक्नु, लगानी, उचित प्रविधि र दक्ष जनशक्तिको अभावमा उत्पादन लागत र श्रम लागतमा कमी ल्याउन नसकिनुजस्ता समस्या सिमेन्ट उद्योगहरूले भोगिरहेका छन् ।

चुनढुंगाको उपलब्धता स्वदेशमै रहे पनि अर्को प्रमुख कच्चा पदार्थ कोइला तेस्रो मुलुकबाट आयात गर्नुपर्ने भएकाले यसमा पनि अनेकन् जटिलता रहेका छन् । सिमेन्ट निर्यातमा भन्सारलगायतका निर्यातका प्रक्रिया अझै पनि जटिल रहेका कारण लजिस्टिकको समस्या पनि उत्तिकै रहेको छ । भन्सार नाकाबाट केही किलोमिटर दूरीमा पुर्याउनुपर्ने सिमेन्ट लोड भएका ट्रकहरू भन्सार पास गराउन घण्टौं कुर्नुपर्ने बाध्यता व्यवसायीहरूले भोग्नुपरेको छ । यसबाट निर्यात लागतमा अनावश्यक वृद्धि भइरहेको देखिन्छ । बेलाबेलामा देखिने गरेको श्रम विवाद र अनेकौं स्वार्थ समूहको चेपुवामा पर्नुपर्ने नेपाली उद्यमीहरूको आम समस्या सिमेन्ट उद्योगहरूमा पनि देखिने गरेको छ ।

अर्थतन्त्रमा देखिएको शिथिलताका कारण देशभित्र निर्माण क्षेत्र सुस्ताएको र आन्तरिक बजारमा सिमेन्टको खपत घटे पनि निर्यातमा देखिएको उत्साहप्रद बढोत्तरी नेपाली अर्थतन्त्रका लागि सुखद पक्ष हो । स्वदेशी कच्चा पदार्थका रूपमा रहेको चुनढुंगासमेतको प्रयोग गरेर उत्पादन हुने सिमेन्ट नेपालका लागि तुलनात्मक लाभ धेरै भएको वस्तु पनि हो । मुख्य कच्चा पदार्थ देशभित्र प्रशस्त पाइने भएकाले सिमेन्ट निर्यातबाट नेपालले चौतर्फी लाभ लिन सक्ने अवस्था छ । यो स्थितिमा फस्टाउँदै गएका सिमेन्ट उद्योग र उत्साहजनक मात्रामा भइरहेको सिमेन्टको निर्यातलाई हरतरहले थप प्रोत्साहित गर्नुपर्ने देखिन्छ । अतः सिमेन्ट उत्पादन र निर्यातको अथाह सम्भावनालाई थप सुदृढ तुल्याउन नेपाली सिमेन्ट उद्योगमा देखिएका समस्याहरूको सम्बोधनसहित उपयुक्त कदम चाल्न सरकार, उद्यमीलगायतका सरोकारवालाहरूले बेलैमा तदारुकता देखाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्