एसआर ६ परियोजनाको पहुँचमार्ग बनाउन सम्झौता

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फुडसिल गाउँपालिकाले सेती नदी ६ (एसआर सिक्स) जलविद्युत परियोजनाको पहुँचमार्ग निर्माण गर्ने भएका छन् । सो सडक निर्माण गर्नका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय र बोगटान फुडसिल गाउँपालिकाबीच सडक निर्माणसम्बन्धी सम्झौता भएको छ ।
गाउँपालिकाको खत्याडीदेखि परियोजनाको ड्याम बन्ने स्थल मोरासैनसम्मको १५ किलोमिटर सडकको डीपीआर निर्माण, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र जग्गा अधिग्रहण लगायतका स्थानीय समस्या गाउँपालिकाले समाधान गर्ने तथा सडक निर्माणको कार्य प्रदेश सरकारले गर्ने सम्झौता भएको बोगटान फुडसिलका गाउँपालिका अध्यक्ष कमल गड्सिलाले बताए ।
आइतबार मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर मोहनबहादुर कुँवर र गाउँपालिका अध्यक्ष गड्सिलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रवक्ता कुँवरले प्रदेश सरकारले सो सडकको ट्रयाक खोल्ने कार्य गरी गाडी चल्ने सडक निर्माण गर्ने बताए । उनको स्तरवृद्धि र कालोपत्रेको काम परियोजनाले नै आवश्यकता अनुसार गर्ने बताए ।
अध्यक्ष गड्सिलाले गाउँपालिकाले पहिले नै सो सडकको डीपीआर तयार गरिसकेको बताए । उनले परियोजनाकै लक्षित सडक बनाउन सडक चौडाइ बढाउन डीपीआर पुनरावलोकन गर्नुपर्ने र ईआईए बनाउने काम गाउँपालिकाले यसै आर्थिक वर्षभित्र गरिसक्ने बताए । उनले अर्को आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन गरी सडक निर्माणलाई अगाडि बढाउने सहमति भएको बताए । उनले सडक निर्माण सुरु भएको अढाइ वर्षमा सडक निर्माण सम्पन्न गरिने बताए ।
मोरासैनमा प्रस्तावित ४५० मेगावाटको एसआर ६ जलविद्युत परियोजना र डोटीकै शिखर नगरपालिकामा प्रस्तावित ७५० मेगावाटको पश्चिम सेती परियोजनाको अध्ययन लगानी बोर्डको सहकार्यमा भारतको नेशनल हाइड्रो पावर कम्पनी (एनएचपीसी) ले गरिरहेको छ । दिपायलमा परियोजना कार्यालय स्थापना गरी अध्ययन गरिरहेको सो कम्पनीले पाँच वर्षमा सम्पूर्ण अध्ययन सकेर निर्माण गर्ने गरी सम्झौता भएको छ । अध्यक्ष गड्सिलाले निर्माण गर्दा हेभी गाडी र इक्विपमेन्ट समेत लग्न मिल्ने गरी सडक निर्माण गरिने बताए ।
सडक निर्माणका लागि सम्झौता गर्न भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवासहित मन्त्रालयको टोली गाउँपालिका पुगेको थियो । टोलीले सो सडकको अनुगमनसमेत गरेको छ । खत्याडीदेखि मोरासैनसम्म गाडी जाने बाटो छैन । एनएचपीसीको टोलीले पैदल हिँडेर अध्ययन गरिरहेको मन्त्री देउबाले बताए ।
उनले एसआर ६ परियोजना निर्माणलाई सहज बनाउन प्रदेश सरकारले सडक निर्माण गर्ने निर्णय गरेको बताए । टोलीमा रहेका प्रदेश सभा सदस्य शिवसिंह ओलीले यस परियोजना निर्माणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले बोगटान सडकको अधुरो काम पूरा गर्न र बाटोमा पर्ने सबै पुल निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गरे ।