Logo

उद्योग खारेजी हुने क्रम बढ्यो

पर्वत– पर्वतमा उद्योग तथा व्यवसाय खारेज गर्ने क्रम बढ्दै गएको छ । मुलुकमा देखिएको आर्थिक मन्दीका कारण उद्योग ब्यावसाय छाड्नेको संख्यामा वृद्धि भएको हो ।

पर्यटन तथा उद्योग कार्यालय पर्वतमा उद्योग तथा व्यावसाय दर्ता गरेकाले खारेज गर्नका लागि निवेदन दिने क्रम बढेको हो । आर्थिक वर्ष ०७९/८० मा ९२ उद्योग खारेज भएका छन् । २३ वटा उद्योग र ६९ वटा वाणिज्य तर्फका फार्म खारेज भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष ०७९/८० मा ५२ प्रतिशत बढस्ले उद्योग, वाणिज्य दर्ता खारेज गर्नका लागि निवेदन दिएका छन् । आर्थिक वर्ष ०७९/८० मा २७४ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

जसमध्ये १२७ उद्योग रहेका छन् । १४७ वाणिज्य तर्फका फर्म रहेका छन् । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा ५४१ उद्योग दर्ता भएका थिए । ती मध्ये २९२ वटा उद्योग र २४९ वटा वाणिज्य फर्म रहेका थिए । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा ११ वटा उद्योग र ६० वटा वाणिज्य गरी जम्मा ७१ वटा उद्योग खारेज भएका छन् । अघिल्लो वर्षको तुलनामा उद्योग दर्तासमेत ५७ प्रतिशतले घटेको छ । वाणिज्यतर्फका फर्म दर्ता ४० प्रतिशतले घटेको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आर्थिक वर्ष ०७९/८० मा उद्योग दर्ता तथा नविकरणवाट २७ लाख ५० हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ । जिल्लामा ७९७ उद्योग तथा वाणिज्य फार्म दर्ता रहेका छन् । ती मध्ये गत आर्थिक वर्षमा १ हजार १४१ नविकरण भएको कार्यालय प्रमुख मुना अधिकारीले जानकारी दिइन् । मुलुकमा देखिएको आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभाव लगायतका कारण उद्योग विस्थापित बनेको अधिकारीले बताइन् ।

लाखौं रुपैयाँ लगानी गरेर उद्योग व्यावसाय सञ्चालन गरेपनि पर्याप्त आम्दानी हुन नसकेपछि उद्योग तथा व्यावसायी नै विस्थापित हुनुपरेको उनले बताइन् । कोरोना संक्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम समेत उल्लेख्य मात्रामा रहेको कार्यालयले जनाएको छ । कोरोना संक्रमणपछि देखिएको चौतर्फी आर्थिक मन्दीको प्रभाव उद्योग व्यावसायमा परेको हो । कार्यालयले गत आर्थिक वर्षमा ९४.५५ प्रतिशत प्रगति हासिल गरेको छ । चालुतर्फ ९१.०५ प्रतिशत, पुँजीगततर्फ ९५.९३ प्रतिशत प्रगति हासिल गरेको हो ।

प्रदेश सरकार अन्तर्गतको उक्त कार्यालयले आर्थिक वर्ष ०७९/८० मा ३३ योजना सम्पन्न गरेको छ । पूर्वाधारतर्फ विनियोजित २ करोड १३ लाख रुपैया खर्चिएको छ । जसबाट २ हजार ८९५ मिटर पदमार्ग समते निर्माण गरिएको छ भने मन्दिर, चौतारी, पार्क लगायतका पर्यटकीय पूर्वाधार समेत निर्माण गरिएको कार्यालय प्रमुख अधिकारीले जानाकारी दिइन् । पहिले घरेलु तथा साना उद्योगको मात्र काम गर्दै आएको उक्त कार्यालयले गत कात्तिक महिनादेखि पर्यटनसँग सम्वन्धित काम गर्ने जिम्मेवारी समेत पाएको हो ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका उद्योग वाणिज्य प्रशासन महाशाखा प्रमुख रामप्रसाद आचार्यले पछिल्लो समय उद्योग व्यवसायवाट विस्थापित हुने दर बढ्दै गएको भन्दै यसको मूख्य कारण आर्थिक मन्दी भएको बताए । उनले प्रदेश सरकारले तीन तहका सरकारबीचको आवश्यक समन्वय नहूँदा पर्यटन तथा उद्योग कार्यालयमा दर्ता भएका उद्योगहरु खारेज गर्ने क्रम बढेको बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षको कार्यक्रममा उद्योग र व्यवसायमैत्री नीति ल्याउने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्