Logo

सुक्खा डाँडाको ७७ रोपनीमा सिँचाइ सुविधा

तातोपानी गाउँपालिका–७ ताम्तीका नरबहादुर रावतको एक दशक बगैंचा सिँचाइका लागि खोलाकै पानी बोकेर बित्यो । समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको सुक्खा डाँडालाई हराभरा बनाउने, स्याउ फलाउने लक्ष्य लिएर गाग्रीमा पानी बोकेरै भए पनि बगैंचामा सिँचाइ गर्न बाध्य थिए । समय खेर जाने, विरुवालाई पर्याप्त चिस्यान नपुग्ने, थकान लाग्ने समस्या त छँदै थियो । तर स्रोत भए पनि परिचालन र सदुपयोग नहुँदा विरुवा हुर्काउन नरबहादुरलाई खोलाको पानी बोक्नुको विकल्प थिएन ।

तर अहिले बगैँचामा धाराबाटै सिँचाई गर्न पाउँदा निकै खुसी छन् । ग्रागीमा पानी बोकेर सिँचाइ गर्नुपर्ने बाध्यता यति छिटै अन्त्य होला भनेर नसोचेका रावत बगैंचामै धारा पुग्दा दंग छन् । त्यस्तै ताम्तीकै खड्क रावत पनि बगैंचामा सिँचाइ सुविधा पुगेपछि खुसी छन् । खोलाको पानी बोकेका भरमा गरिएको सिँचाइले बिरुवालाई नपुग्ने, उत्पादन राम्रो नहुने समस्यासँगै सिँचाइका लागि भोग्नु परेका दुःख बिर्सन नसकिने रावतको भनाइ छ ।

अहिले सिँचाइ सुविधा पुगेपछि खुसी नहुने कुरै छैन । उनी भन्छन्, “बाँझिन लागेको जमिनमा पनि सिँचाइ पुग्ने छ । बगैंचा विस्तार हुनेछन् । समयको बचत, पर्याप्त सिँचाइ गर्न सहज हुने र उत्पादन वृद्धि हुने आशा छ ।” सिँचाइ सुविधा पुगेपछि नरबहादुर र खड्क रावतजस्तै ताम्ती गाउँका २०६ वटै घरधुरीका एक हजार बढी नागरिक उत्साहित भएका छन् । कृषि उत्पादनको प्रचुर सम्भावना भएर पनि सिँचाइ नहुँदा उब्जनी घट्दै गएको ताम्तीमा अब कृषि क्रान्ती सुरु हुने तातोपानी–८ का वडाध्यक्ष तिलक रावतको दाबी छ ।

पानीको अभावले सुक्खा हुँदै बाँझिएको जमिन, नांगिएका डाँडामा पर्याप्त सिँचाइ पुग्ने, ताम्तीलाई कृषिमा आत्मनिर्भर गाउँ बनाउन नागरिक जुट्ने वडाध्यक्ष रावतको भनाइ छ । करिब १२ वर्षअघि नेपाल रेडक्रसले चामल दिएर निर्माण गरिएको शिलधारा सामूहिक स्याउ बगैंचामा पर्याप्त सिँचाइ नहुँदा बिरुवा सुक्दै गएका थिए । तर अब बगैंचा नै ताम्ती गाउँ समृद्धिको आधार बन्ने आशा गरिएको वडाध्यक्ष रावतले बताए ।

१४ लाखमा सिँचाइ पोखरी, ७७ रोपनीमा सिँचाइ

तातोपानी–७ को करिब ७७ रोपनी सुक्खा डाँडाको जमिन सिँचाइ हुनेगरी १४ लाख बढी लगानीमा सिँचाइ पोखरी निर्माण गरिएको छ । अमेरीकी जनताबाट आर्थिक सहयोग र मर्सीकोर नेपालको अगुवाइ तथा किर्डाक नेपालको साझेदारीमा सञ्चालित भकारी परियोजनामार्फत् सिँचाइ पोखरी निर्माण गरिएको हो ।

परियोजनाको ११ लाख ६६ हजार ३४२ रुपैयाँ र ताम्तीबासीको दुई लाख ८७ हजार ३१४ रुपैयाँ जनश्रमदान गरी जम्मा १४ लाख ५३ हजार ६५६ रुपैयाँ लागतमा २० घनमिटर क्षमताको सिँचाइ पोखरी निर्माण भएको किर्डाकका विपद् व्यवस्थापन अधिकृत पविना खड्काले बताइन् । उनका अनुसार खेर गएको स्रोतलाई सदुपयोग गर्न अध्ययन गरी निर्माण गरिएको सिँचाइ पोखरीमार्फत् ताम्ती गाउँको सुक्खा डाँडाको ७७.७ रोपनी जग्गमा सिँचाइ पुगेको छ ।

पोखरीबाट बगैंचामा सिँचाइ गर्न लाइन विस्तार, आठवटा धारा निर्माण, बोटबोटमा सिँचाइ गर्न ३२ रोल गार्डेन पाइपसमेत स्थानीयलाई दिइएको परियोजनाका इन्जिनियर रघुनाथ रिमालले जानकारी दिए । उनले भने, “ताम्तीमा सिँचाइ पोखरीमात्रै निर्माण भएको छैन । ताम्ती गाउँ समृद्धिको योजना बनेको छ । खोलाको पानी बोक्ने कष्ट हटेको छ भने उत्पादन वृद्धि हुने, आयआर्जनमा सुधार हुने आशा गरिएको छ । तर संरचनाको दिगो संरक्षणमा ध्यान दिनुपर्छ ।”

सिँचाइ पोखरी योजना हस्तान्तरण गर्दै तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले सुक्खा डाँडाको ७७ रोपनीमा सिँचाइ सुविधा पुग्नु खुसीको कुरा भए पनि संरचनाको दिगो व्यवस्थापनमा ध्यान दिन सुझाव दिइन् । समृद्ध तातोपानी बनाउन विकास साझेदार संस्था किर्डाकले इट्टा थप्दै आएकोमा उत्पादित वस्तुको बजारीकरण, निर्माण भएको संरचनाको संरक्षणमा पालिकाले लगानी गर्ने उल्लेख गरिन् ।

तातोपानीका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु रावलले सिँचाइ पोखरी किसानको आयआर्जन, स्याउ यत्पादन वृद्धि र पालिकाको समृद्धिसँग जोडिएको संरचना भएकाले संरक्षणमा स्थानीय जुट्नु पर्ने बताए । पालिकाको भौतिक र सामाजिक विकासमा समेत भकारी परियोजनाको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।

शनिबार सिँचाइ पोखरी हस्तान्तरणसँगै सुर्कीको एकीकृत शत्रुजीवन व्यवस्थापन सिकाइ केन्द्र, रारालिहिको क्रिपपर्खाल, कुडारीको वर्षा पम्पको समेत अनुगमन गरिएको छ । अनुगमन पश्चात परियोजनाले भौतिक तथा सामाजिक विकासका क्षेत्रमा गरेको अनुशरणयोग्य कामको निरन्तरता र भौतिक संरचनाको संरक्षणमा स्थानीय तहले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्