Logo

निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता

फाइल तस्बिर ।

नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थालेका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका छाता संगठनसँग छलफल गरेका अर्थमन्त्री महतले आज सोमबार नेपाल बैंकर्स संघ र नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गरेका हुन् । विभिन्न निकायसँगको छलफलपछि अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता अर्थमन्त्रीले जनाएका छन् ।

“हाम्रा नीति निर्माता र नियामकको अस्थिरताका कारण सिर्जित भएको मसस्याका कारण पूँजीबजार घटेको हो भन्ने हाम्रो बुझाइ छ । नेपालको पूँजीबजारमा ठूलो संख्यामा लगानीकर्ता जोडीएकाले उनीहरुको मनोविज्ञान बुझिदिन अर्थमन्त्रीलाई आग्रह गरेका छौँ ।”, अर्थमन्त्रीसँगको भेटबारे पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले भने । अर्थमन्त्री महतले तत्कालका लागि मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएको पनि पौडेलले बताए ।

अर्थमन्त्रीको सचिवालयकाअनुसार आज नेपाल बैंकर्स संघसँगको छलफलका क्रममा पनि उनले यो प्रतिबद्धता दोहोर्‍याएका छन् । “नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर, तरलता अभाव र कर्जा असुलीमा देखिएका समस्याका बारे छलफल भएको छ । छलफलका क्रममा अर्थमन्त्री महतले सबै क्षेत्रको सुझाव सल्लाह लिएर अघि बढ्ने बताउँदै आगामी दिनमा सम्बादलाई निरन्तरता दिनेसमेत आश्वासन दिनुभएको छ ।”, अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

फोरम र बैंकर्स संघसँगको भेटलगत्तै अर्थमन्त्री महतले नेपाल धितोपत्र बोर्डलाई केही दिनभित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न निर्देशनसमेत दिएका छन् । आजै अर्थमन्त्री महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट समितिको बैठक बोलाएका छन् ।

गृहमन्त्रीसमेत सदस्य रहने बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सहभागी थिए । हिजो आइतबार निजी क्षेत्रका छाता संगठनहरूले अर्थमन्त्री महतलाई भेटेर अर्थतन्त्र सुधारका विषयमा छलफल गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघसँगको छलफलमा पनि अर्थमन्त्री महतले अहिले आर्थिक क्षेत्रको खस्कँदा मनोबल उकास्न आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्रीसँगको भेटवार्तामा बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन नेपाल राष्ट्र बैंक र सरकारले संयुक्तरुपमा पहल गर्नुपर्ने, सरकारको पूँजीगत खर्च बढाउनुपर्ने, सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र वैदेशिक लगानी भित्र्याउनका पहल गर्नुपर्नेलगायत सुझाव दिएको महासङ्घले आइतबार विज्ञप्तिमार्फत् जनाएको छ ।

महासंघकाअनुसार अर्थमन्त्री महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाएका छन् । “तपाईँको मनोबल घट्न दिन्न, तपाईसँग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईंबाट पूर्णसहयोग पाउने अपेक्षा गरेको छु ।”

अर्थमन्त्री महतले दिएको जवाफबारे महासंघले भनेको छ । त्यसैगरी, नेपाल उद्योग परिसंघले अर्थमन्त्री महतलाई भेटेर अर्थतन्त्र सुधारका लागि तत्काल गर्नुपर्ने १० बुँदे सुझाव दिएको छ । चुनौतीपूर्ण रहेको अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने, लगानीका लागि प्रोत्साहनलगायतका गर्नुपर्ने सुझाव परिसंघले दिएको छ ।

“ब्याजदर घटाउन एवं तरलताको स्थिती सहज बनाउन संस्थागत सामाजिक उत्तरदायित्व तीन प्रतिशतमा झारिनुपर्ने, नीतिदर र बैंक दर घटाईनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको संचित कोषमा भएको मौज्दात रकमको शतप्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।” परिसंघले भनेको छ । त्यस्तै, मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम पाँच प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, शेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार शतप्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्