Logo

विकास बजेट खर्च कमजोर : संघको ७.४८ र प्रदेशतर्फ १९ प्रतिशत खर्च

म्याग्दीमा विकास बजेट खर्च न्यून भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को साढे सात महिनामा संघ सरकार विकास बजेट खर्च ७.४८ प्रतिशत र प्रदेश सरकारतर्फ कार्यालयको विकास बजेट खर्च १८.९३ प्रतिशतमात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका कोष नियन्त्रक रामभक्त रानाभाटका अनुसार चालू आवको साढे सात महिनामा जिल्लामा संघका कार्यालयको विकास बजेट ७.४८ प्रतिशत भएको छ । संघतर्फ कुल पुँजीगत बजेट ४४ करोड ३१ लाख १० हजार रुपैयाँमध्ये तीन करोड ३१ लाख ८७ हजार ३ सय ९० रुपैयाँ खर्च भएको छ ।

यस्तै चालूतर्फ भने संघको तीन अर्ब ४१ करोड ४४ लाख ३६ हजार ८४ रुपैयाँ बजेट रहेकोमा एक अर्ब ९० करोड ९५ लाख ८१ ह्जार ९ सय ९६ रुपैयाँ खर्च भएको छ । प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट ६८ करोड ७२ लाख, ८८ हजार रुपैयाँमध्ये चालू आवको साढे सात महिनासम्ममा १३ करोड १ लाख ६८ हजार ६ सय ६६ रुपैयाँ खर्च भएको छ ।

यस्तै प्रदेशतर्फको चालू बजेट ४८ करोड २७ लाख ४४ हजार १ सय ८२ रुपैयाँमध्ये १४ करोड सात लाख ७१ हजार रुपैयाँ खर्च भएको कार्यालयले जानकारी दिएको छ । जिल्लामा संघतर्फका कार्यालय १८ प्रदेशतर्फका कार्यालय ११ वटा छन् । त्यस्तै जिल्लाका ६ वटा स्थानीय तहको विकास बजेट खर्च अवस्था पनि कमजोर छ ।

चालू आवको साढे सात महिनामा विकासतर्फको पुँजीगत बजेटमा बेनी नगरपालिकाले १७ प्रतिशत, गाउँपलिकाअन्तर्गत मंगलामा १० प्रतिशत, रघुगंगामा १९ प्रतिशत, धवलागिरिमा १८ प्रतिशत, मालिकामा १६ र अन्नपूर्णमा ८.२५ प्रतिशत बजेट खर्च भएको अवस्था छ ।

कोष नियन्त्रक रामभक्त रानाभाटले बजेट कार्यान्वयनका लागि कार्यालयले वार्षिक खरिद योजना तयार नगर्नु र सयममै ठेक्कापट्टा नहुनुले विकास बजेट खर्च कम भएको बताए । सरकारले आर्थिक वर्ष अन्तिम चौमासिकमा हुने विकास निर्माणमा हुने खर्च हुने प्रवृत्तिमा सुधारका कार्यक्रम गरिरहे पनि चालू आर्थिक वर्षको आठ महिना बितिसक्दा खर्च गर्ने प्रवृत्ति सुधार भएको देखिँदैन ।

विकास बजेट खर्च कम देखिनुमा योजनाहरूको ठेक्का प्रक्रियाबाट प्रक्रियागत ढिलाइ, ठूला कम्पनीले ठेक्का सम्झौता गरेर साना कम्पनीबाट काम गराउनु, स्थानीय जनशक्तिको प्रयोग नुहनुलगायतले समयमै काम सम्पन्न नगर्दा विकास बजेट खर्च न्यून हुँदै गएको रघुगंगा गाउँपालिकाका इन्जिनियर सुदिप गौतमले बचाए ।

विकास बजेट समयमै कार्यान्वयन गर्नका लागि जनप्रतिनिधि, कर्मचारी, इन्जिनियर, निर्माण व्यवसायी र स्थानीयले अपनत्व प्रभावकारी रूपमा ग्रहण गर्न सकेमा विकासका काम तीव्र गतिमा अघि बढ्ने र समयमा विकास बजेट खर्च हुने इन्जिनियर गौतमले बताए । यता विकास बजेट खर्च न्यून भनिरहँदा निर्माण व्यवसायीलाई दोष देखाउने प्रचलन बढ्दो छ ।

तर, निर्माण व्यवसायी संघ म्याग्दीका कोषाध्यक्ष प्रकाश बानियाँले योजनाको ठेक्का लिइसकेपछि पाउने पेसी रकम कार्यालयबाट समयमै नपाउनु र विकास योजनामा काम गरेअनुसारको भुक्तानी समयमै नहुनुले विकास निर्माणको काम समयमै हुन सक्दैन र विकास बजेट खर्च न्यून देखिएको गुनासो गरे । बजेट कार्यान्वयनका लागि सरकारले १५ जेठमै बजेट सार्वजनिक गर्छ । बजेट कार्यान्वयनमा विकास योजनाअनुसार वार्षिक कार्ययोजना नहुँदा असारमा विकास बजेट खर्च बढी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्