चेक बाउन्सको भयावह दृष्य
महिनामै दुई हजार कालोसूचीमा

पछिल्लो समय अर्थतन्त्रका गतिविधि सुस्ताएसँगै आयमा आएको गिरावटले लेनदेन र बन्द व्यापारमा अराजकता सुरु भएको छ । चालू आर्थिक वर्षमा चेक बाउन्सको घटनामा भएको वृद्धिले लेनदेन र बन्द व्यापारमा अराजकता मौलाएको देखिएको हो । कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांकअनुसार चेक बाउन्सको अपराधमा महिनाको दुई हजारभन्दा बढी कालोसूचीमा पर्न थालेका छन् । चेक बाउन्सको प्रकृति समेत फरक–फरक छ ।
केन्द्रका अनुसार चालू आर्थिक वर्षको मंसिरमा मात्र १ हजार ९ सय ४५ जना चेक बाउन्सका कारण कालोसूचीमा परेका छन् । गत आर्थिक वर्षको मंसिरमा चेक बाउन्सका कारण कालोसूचीमा पर्ने ३ सय ६६ जनामात्र थिए । यी दुई वर्षलाई तुलना गर्दा यो वर्ष कालोसूचीमा पर्नेको संख्या ५ सय २० प्रतिशतले बढेको छ । यस्तै, गत कात्तिकमा १ हजार ५ सय ३९ चेक बाउन्सका कारण कालोसूचीमा परेका छन् । गत वर्ष कात्तिकमा यो संख्या ३ सय ११ मात्र थियो । यही वर्ष पनि कात्तिकको तुलनामा मंसिरमा ४ सयभन्दा बढी कालोसूचीमा परेको देखिन्छ ।
पछिल्ला महिनाहरूमा चेक बाउन्सका घटना बढ्दै जाँदा बैंकहरूलाई समेत हैरानी भएको छ । बैंकहरूले चेक बाउन्स भएपछि चेक दिने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई पत्राचार गर्ने गर्छन् । पछिल्ला महिनाहरूमा अर्थतन्त्रमा समस्या आइरहँदा कालोसूचीको घटना अत्यधिक रुपमा बढिरहेका छन् । जसमध्ये पनि चेक बाउन्सका कारण कालोसूचीमा पर्नेहरूको संख्या ९० प्रतिशतकै हाराहारीमा बढेको केन्द्रका अपरेसन प्रमुख ओमकारलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कालोसूचीमा पर्नेहरूमध्ये ९० प्रतिशत चेक बाउन्सका कारण र बाँकी १० प्रतिशत कर्जा तिर्न नसकेका परेका छन् । पछिल्ला महिनाहरूमा कर्जा प्रवाहमा बैंकहरूले कडाइ गरेका छन् । कर्जामा लगाइएको उच्च ब्याजदरका कारण पनि कतिपयले खाली चेक पठाउने गरेको देखिएको बैंकर्सहरू बताउँछन् ।
वाणिज्य बैंकका एक उच्च अधिकारीका अनुसार सामान्य अवस्थामा पनि चेक बाउन्सका घटनाहरू आइरहेका हुन्छन् । तर, पछिल्ला महिनाहरुमा धेरै बढेका छन् । उनले कारोबारसँग भने, “विभिन्न किसिमका चेक बाउन्सका घटनाहरू बढेको पाइएको छ । अहिले कालोसूचीमा पर्नेहरूमा पनि चेक बाउन्सकै कारण बढी देखिने गरेको छ ।” विगतमा वित्तीय साक्षरताको अभावमा चेक बाउन्सका घटना घट्ने गरेका भए पनि पछिल्लो समय जानी-जानी नै चेक बाउन्स गर्ने प्रचलन बढेको श्रेष्ठको बुझाइ छ ।
कतिपयमा चेक बाउन्स भनेको के हो वा कसो गरे चेक बाउन्स हुन्छ भन्ने जानकारीकै अभाव देखिने गरेको छ । तर धेरैमा सबै जानकारी हुँदाहुँदै पनि बाउन्समा परेको देखिएको उनले बताए । कर्जा वा अन्य व्यवसायको लेनदेन मिलाउन पैसा अभाव भएपछि तत्कालको समस्या टार्न बैंकमा पैसा नभए पनि चेक दिने प्रचलन बढेको छ । अहिले चेक बाउन्सको परिवेश हेर्दा धेरैजसो सहरी क्षेत्रका व्यक्तिहरूले गरेको देखिएको छ ।
‘कर्पोरेट चेक बाउन्सका घटना बढे’
बैंकहरूका अनुसार पछिल्ला दिनहरूमा चेक बाउन्स गर्नेहरूमा ठूला कारोबार गर्ने उद्यमी तथा व्यवसायीहरू पनि रहने गरेका छन् । विगतमा व्यक्तिगत चेक बाउन्सका घटना बढी हुने गरेकोमा अहिले कम्पनीहरूको समेत चेक बाउन्सको घटना बढेको एक बैंकर बताउँछन् । “कारोबारको प्रकृति हेरी करोडौं रकमको समेत चेक बाउन्स हुने गरेको छ,” एक बैंकरले भने ।
विगतमा व्यक्तिगत घटनामा चेक बाउन्स हुने गरेको पाइए पनि अहिले त्यो अवस्था उद्योगी व्यवसायीहरूमा देखिएको हो । कतिपय ठूला व्यवसायीहरूले भुक्तानीका क्रममा दिने गरेको चेक नै बाउन्स हुने गरेको पाइएको ती बैंकर बताउँछन् । घरजग्गा कारोबारमा भुक्तानी गरिने चेकहरू पनि पछिल्लो समय बाउन्समा बढी पर्ने गरेको छ ।
किन हुन्छ चेक बाउन्स ?
भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यसलाई चेक बाउन्स भनिन्छ । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले चेक बाउन्स हुने अवस्था सिर्जना गर्नै नहुने बताए । चेक बाउन्स कानुनविपरीत हो भन्ने जान्दाजान्दै पनि त्यसमा लाग्नु नै गलत भएको उनको भनाइ छ । उनले भने, “चेक बाउन्स गर्नै भएन । यसमा र, अनि, तर भन्ने अवस्थै छैन ।”
कालोसूचीमा पर्दा के हुन्छ ?
बैंक तथा वित्तीय संस्थाले चेक बाउन्स गरेका कारण तथा कर्जा समयमै तिर्न नसकेपछि ग्राहकलाई कालोसूचीमा राख्ने गरेका छन् । खराब कर्जाका कारण कालोसूचीमा पर्ने अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले पटक पटक ग्राहकहरूलाई सचेत गराएका हुन्छन् । चेक बाउन्सको घटनामा, चेक बाहकले चेकमा लेखिए अनुसारको रकम ३ पटकसम्म प्राप्त गर्न नसकेमा चेक बाउन्स गरिदिन बैंकलाई अनुरोध गर्नुपर्ने हुन्छ ।
सोही बमोजिम बैंकले चेक बाउन्स भएको जनाउ वा कागजात उपलब्ध गराउँछ । बैंक तथा वित्तीय संस्थाको चेक बाउन्स गर्नेलाई कालोसूचीमा राख्नका लागि कर्जा सूचना केन्द्रमा सिफारिस गर्छ । सोही सिफारिसअनुसार केन्द्रले कालोसूचीमा राखिएको सूचना प्रकाशन गर्छ । कालोसूचीमा परेपछि कुनै पनि बैंक ग्राहकले आफ्नो खातामा बचत गर्न मात्रै पाउँछ ।
उसले बचतको रकम वा कर्जा दुवै लिन नमिल्ने हुन्छ । कालोसूचीमा परेको व्यक्ति वा समूहले कुनै पनि बैंकमा खाता खोल्न पाउँदैन । कालोसूचीमा परेका व्यक्ति वा समूहले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाउँदैन । साथै कुनै पनि सरकारी कार्यकारी प्रमुख वा पदमा बस्न पाउँदैन । कालोसूचीमा रहँदा सांसद समेत बन्न नपाउने व्यवस्था रहेको छ ।