हवाई इन्धनको आपूर्ति सहज बनाउन माग

निजी हवाई सेवाप्रदायकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले पर्याप्त मात्रामा हवाई इन्धन उपलब्ध गराउन माग गरेको छ । पछिल्लो समय नेपाल आयल निगमसँग विभिन्न माग राख्दै निगमका ढुवानीकर्ताहरुले इन्धन आपूर्ति बन्द गरेपछि संघले आपूर्तिमा सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गरेको छ ।
संघका अध्यक्ष रामेश्वर थापाले प्राधिकरणका महानिर्देशकलाई पत्राचार गर्दै दसैंको समयमा उडान वृद्धि हुने भएकाले हवाई इन्धनको आपूर्तिमा सहजीकरण गर्न आग्रह गरेका छन् । संघले पत्रमा भनेको छ, ‘पछिल्लो दिनमा निगमले काठमाडौं बाहेक बाहिरी विमानस्थलमा पर्याप्त मात्रामा हवाई इन्धन उपलब्ध नगराएका कारण वायुयान कम्पनीहरुका उडानमा असर परेकाले चाडबाडमा उडान संख्यामा वृद्धि हुने हुँदा आपूर्तिमा व्यवस्था मिलाउन पहल गरिदिनु ।’
दसैं, तिहार तथा छठ पर्व नजिकिँदै आइरहेको परिप्रेक्षमा उडान संख्यामा करिब ४० प्रतिशतसम्म वृद्धि हुने हुँदा मागअनुसार निगमले आपूर्ति व्यवस्था मिलाउनुपर्ने संघको माग रहेको प्रवक्ता योगराज कँडेलले बताए । उनले भने, “इन्धनको आपूर्ति व्यवस्था नहँुदा हवाई सेवामार्फत आवतजावत गर्न चाहने यात्रु सेवाबाट बञ्चित हुनुपर्ने अवस्थाप्रति प्रधिकरणमार्फत निगमको विशेष ध्यानाकर्षण गराएका हौं ।”
निगमको धनगढी र नेपालगञ्ज हवाई इन्धन डिपोले यसै साता वायुयान कम्पनीहरुलाई पत्राचार गर्दै इन्धन ढुवानीकर्ताहरुको हड्तालका कारण भदौ १७ देखि आपूर्ति हुन नसक्दा डिपोमा इन्धन मौज्दात न्यून हुँदै गएकाले काठमाडौं सिनामंगल डिपोबाट नै हवाई इन्धन भर्न भनेको थियो । संघले भने दसैं नजिकिएसँगै उडान संख्या वृद्धि हुने हँुदा इन्धन आपूर्ति सहज बनाउन माग गर्दै आएको छ । ढुवानी व्यवसायीले ढुवानी भाडा वृद्धि समय सापेक्ष हुनुपर्ने भन्दै भदौ १७ देखि धनगढी, नेपालगञ्ज र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन आपूर्ति बन्द गरेका थिए । ढुवानीकर्ताहरुले २४ गतेबाट आपूर्ति बन्द गरेर भारतमा तेल भर्न गएका छैनन् । डिपो कार्यालयहरुले मौज्दात एकदमै न्यून रहेकाले गर्दा आपतकालीन अवस्थामा बाहेक हवाई इन्धन उपलब्ध गराउन नसक्ने जनाएका छन् । ढुवानीकर्ताले ढुवानी भाडा वृद्धिको माग गर्दै हड्ताल गरेका कारण धनगढी र नेपालगञ्जको डिपोमा मौज्दात राख्ने क्षमता समेत कम रहेकाले गर्दा काठमाडौंबाट नै इन्धन भर्न अनुरोध गरिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए । आपूर्ति सुचारु गर्न सरोकारवाला निकायसँग छलफल भइरहेको उनले जनाए ।