Logo

मुक्तिनाथ कृषि कम्पनीका आठवटा सहायक पब्लिक कम्पनी

मुक्तिनाथ कृषि कम्पनीले चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहायक कम्पनीहरुको औपचारिक समुद्घाटन गरेको छ ।
कम्पनीले मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फूड बैंक, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. गरी आठवटा सहायक कम्पनी एकैसाथ सुरु गरेको हो ।
देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवा प्रदान गरी कृषिचक्र बनाउने उद्देश्यले बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको बताइएको छ ।
स्थापनाकाल देखिनै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समुह, सहकारीसँग सहकार्य गर्दै कृषिको मूल्य श्रृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको बैंकको भनाइ छ । जसका लागि ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ र ‘समृृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ भन्ने मुलमन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानको शुरुवात गरी सोही अनुसारका कार्यक्रमहरु गर्दै आएको बैंकको भनाइ छ ।
मुक्तिनाथ कृषि कम्पनीले बितेका ४ वर्षमा विशेषगरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्या, भइरहेका प्रयास, व्यावसायिक अवसरहरु र समग्र कृषि क्षेत्रको विकासमा समग्र निजी क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरु पहिचान गर्नका लागि मुख्यत व्यतित गरेको र स्पष्ट मार्गचित्र तयार गरेको दावी गरेको छ । कम्पनीले आफ्नो उद्देश्य अनुसार हाल कृषकलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनको खरीद सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धि कार्यहरु गर्दै आएको जनाएको छ ।
हालसम्म कम्पनीले ६२ जिल्लामा विभिन्न व्यावसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको जनाएको छ । जसका लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय स्थापनको अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्