Logo

बढी ब्याज पाउने लोभले बैंक तथा वित्त कम्पनीहरूमा आफ्नो रकम जम्मा नगरी सहकारी संस्थाहरूमा जम्मा गर्ने गरेका कारण कतिपय सर्वसाधारण बचतकर्ताहरू डुब्ने गरेका छन् ।

सहकारी संस्थाहरूमा बढ्दो अनिमियता

कतिपय सहकारी संस्था बचतकर्ताहरूको निक्षेप डुबाएर भाग्ने गरेको समाचारहरू बेलाबेलामा आउने गरिरहेको छ । पछिल्लो समयमा पनि कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले निक्षेपकर्ताहरूको लगभग ६ अर्ब रकम हिनामिना गरेर भागेको समाचारहरू आएका थिए । गौतमश्रीले वृद्धभत्ता जम्मा गरेको रकमदेखि बचतकर्ताहरूको करोडांै रकमसम्म झ्वाम परेको बताएका छन् सरोकारवालाहरूले । सहकारीमा एकै व्यक्तिले करोडौं रकम जम्मा गर्नु ठीक हो त ? सहकारी संस्था भनेको त आफ्नो संस्थाका सदस्य तथा सेयरधनीहरूबीच सानो–सानो रकमको लेनदेन, कारोबार गर्नका लागि स्थापना भएका हुन् भन्दा फरक नपर्ला । तर, नेपाल अधिराज्यभरि च्याउसरह उम्रेका सरकारी संस्थाहरूले नियमविपरित, सरकारीको उद्देश्यविपरीत कारोबार गर्ने गरेका छन्; त्यो पनि ग्राहकहरूलाई सेयरधनी नबनाई । सहकारी संस्था भनेका आफ्ना सेयरधनीहरूले मात्र कारोबार गर्ने संस्था भए पनि बेलाबेलामा सहकारी संस्थाहरूले निक्षेपकर्ताहरूको निक्षेपको रकम कुम्ल्याएर भागेका समाचारहरू आइरहेका हुन्छन् । सरकारीका बचतकर्ताहरूले बेलाबेलामा सहकारी संस्थाविरुद्ध उजुरी हालेका समाचारहरू पनि आइरहेका हुन्छन् । तर पनि सहकारी संस्थाहरूमा हुने गरेको बेथितिका बारेमा अनुगमन हुने गरेको पाइँदैन । बेलाबेलामा बचतकर्ताहरूको रकम खाएर सहकारीका सञ्चालकहरू भागेका समाचारहरू आउने गरे पनि काग कराइरहन्छ पिना सुकिरहन्छ भन्ने उखानजस्तै अनुगमन गर्ने नियामक निकायहरू तमासे मात्र भइरहन्छन् ।
राजधानी र अन्य सहरहरूमा टोलैपिच्छे, घरैपिच्छे सहकारी संस्थाहरू स्थापना भएका छन् । अझ एउटै घरमा तीन–चारवटा सहकारीसम्म रहेका छन् । देशभरिमा लगभग ३० हजारको हाराहारीमा सहकारी संस्थाहरू रहेको बताउँछन् सरोकारवालाहरू । देशभरि खुलेका कतिपय सहकारी संस्थाका कारणले निक्षेपकर्ताहरूको अर्बांै रकम डुबेको छ । तर, अनुगमन नगर्ने कारणले गर्दा लाखौं निक्षेपकर्ताको रकम जोखिममा पर्ने गरेको छ । नेपालमा अधिकारप्राप्त नेपाल राष्ट्रिय सहकारी महासंघ, सहकारी मन्त्रालय, सहकारी विभाग, नेपाल सहकारी बोर्डजस्ता अधिकारप्राप्त नियामक निकायहरू भए पनि यिनीहरूको अल्छीपना र कमिसनको चक्करले बचतकर्ताहरूको अर्बांै रकम डुब्ने गरेको छ । त्यसो त गौतमश्री बहुउद्देश्यीय सहकारीले मात्र बचतकर्ताहरूको रकम डुबाएर भागेको छैन, अरू थुप्रै सहकारी संस्थाले पनि निक्षेपकर्ताहरूको निक्षेपलाई झ्वाम पारेर भागेका छन् । अर्बांै रकम झ्वाम पार्नेमा विगतका सहकारी संस्था ओरिएन्टल सहकारी संस्था, सिभिल सहकारी संस्था आदि पनि छन् । ओरिएन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत केही वर्ष चिसो छिँडीमा राज गरेर समेत आइसकेका छन् । त्यसो त सुधीर बस्नेतले सहकारीको रकमलाई आफ्नो हाउजिङ अपार्टमेन्ट व्यवसायमा लगाएका थिए । तर, त्यो व्यवसाय चलाउन नसकेका कारणले सहकारीको रकम डुबेको हो भन्ने भनाइ पनि रहेको थियो त्यस बेला । त्यसैगरी सिभिल सहकारीले पनि बचतकर्ताहरूको लगभग ६ अर्बभन्दा बढीको रकम डुबाएको कारणले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ श्रीमतीसहित झ्यालखानाको चिसो छिँडीमा राज गरिरहेको बताउँछन् । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सिभिल बैंकको अध्यक्षसमेत रहेका थिए त्यस बेला । त्यसैगरी विगतका सभासद् पनि थिए भने इच्छाराजको नेतृत्वमा सिभिल बैंकका साथै सिभिल होम्स, सिभिल मल, सीटीसी मलजस्ता कम्पनीहरू पनि सञ्चालनमा रहेको बताउँछन् सरोकारवालाहरू । त्यसो त धेरैजसो सहकारी संस्थामा सामाजिक सुशासनको कमी, नीति–नियमको पालना नहुनुका साथै अनुशासित भएर संस्था सञ्चालन गरेको पाइँदैन भन्ने सरोकारवालाहरूको भनाइ रहेको छ भने नियामक निकायहरूले अनुगमन नगरेको र यिनीहरूको निष्क्रियताका कारणले पनि केही सहकारी संस्थामा अनिमियता पलाएको हो र निक्षेपकर्ताहरूको निक्षेप जोखिममा पर्ने गरेको हो भन्दा पनि फरक नपर्ला ।
आखिर किन आकर्षित हुन्छन् त सर्वसाधारण, खासगरी सहकारी संस्थाहरूमा, ब्याज धेरै पाउने लोभले अनि लोभले लाभ लाभले विलाप हुन्छन् । बैंक तथा वित्त कम्पनीहरूमा भन्दा ५/७ प्रतिशत बढी ब्याज दिने गरेको बताउँछन् सहकारीका निक्षेपकर्ताहरू । यस कारणले पनि सहकारी संस्थाहरूमा सर्वसाधारणको आकर्षण रहेको भन्ने भनाइ रहेको छ । केही सहकारी संस्थाले १८ प्रतिशतसम्म ब्याज दिने गरेको बताउँछन् बचतकर्ताहरू । पछिल्लो समयमा ज्यान मार्ने मुद्दामा सञ्चालकहरू झ्यालखानामा बसिसकेका इन्द्रचोकमा रहेको एउटा सहकारी संस्थाले बचतकर्ताहरूलाई १८ प्रतिशत ब्याज दिएको स्वयम् बचतकर्ताले बताएका छन् । बचतकर्ताहरूलाई बढी ब्याज दिने र चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने तथा धेरैजसो लगानी घरजग्गामा गर्ने गरेका कारण पनि केही सहकारीहरू डुबेका हुन् भन्दा फरक नपर्ला । हिन्दीमा एउटा उखान छ, ‘हमतो डुबेगे सनम आपको भी ले डुबेगे’ भन्ने जस्ता भइरहेका छन् केही सहकारी संस्थाहरू । केही सहकारीहरूको गलत नियतका कारण हजारांै बचतकर्ता डुब्ने गरेका छन् । आफ्ना सदस्य तथा सेयरधनीहरूको बीचमा मात्रै सानो–सानो रकमको कारोबार गर्ने फम्र्याटमा सञ्चालन गर्नुपर्ने कतिपय सहकारी संस्थाले दैनिक लाखौं/करोडौं कारोबार गर्ने गरेका छन् भने बढी ब्याज पाउने लोभले बैंक तथा वित्त कम्पनीहरूमा आफ्नो रकम जम्मा नगरी सहकारी संस्थाहरूमा जम्मा गर्ने गरेका कारण कतिपय सर्वसाधारण बचतकर्ताहरू डुब्ने गरेका छन् । सरकारी संस्थाहरू करोड/करोड रकम जम्मा गर्नका लागि होइन भन्नेसमेत थाहा नपाएका कारण पनि सहकारीमा जम्मा गरेको रकम जोखिममा पर्ने गरेको छ ।
आफ्नो मेहनतको कमाइ जम्मा गर्नका लागि सहकारी संस्थाहरूभन्दा बैंक तथा वित्त कम्पनीहरू भरपर्दा छन् भन्दा फरक नपर्ला । त्यसो त केही वित्त कम्पनीहरूमा पनि घोटालाचाहिँ नभएको भने होइन । तर पनि सहकारी संस्थाहरूभन्दा ब्याज अलि कम भए पनि बैंक तथा वित्त कम्पनीहरू कम जोखिमका छन् । त्यसैगरी बढी ब्याज पाउने लोभले केही सहकारीहरूमा बचत गर्ने निक्षेपकर्ताहरूलाई भन्नुपर्ने हुन्छ— किन दु:ख पाइस् मंगले आफ्नै ढंगले । त्यसो त कतिपयको भनाइमा सहकारी संस्थाका सञ्चालकहरूले निक्षेपकर्ताहरूको रकम झ्वाम पारेर भागेको भन्ने पनि रहेको छ । तर पनि भाग्ने सबै सहकारीको अवस्था यस्तो भने नभएको पनि बताउँछन् सरोकारवालाहरू । केही संकटमा परेका सहकारी संस्थाहरूले आफूले लगानी गरेको ऋण उठाउन नसकेर बचतकर्ताले मागेको समयमा रकम दिन नसक्ने अवस्था आएपछि यस्तो अवस्था आउने गरेको हो भन्दा पनि त फरक नपर्ला नि !

प्रतिक्रिया दिनुहोस्