Logo

वातावरण संरक्षण : आजको आवश्यकता

वन विनाश, भू–क्षय, बाढीपहिरोका साथै प्रदूषण एवं जलवायुको असरजस्ता वातावरणीय समस्या ठूलो चुनौती भएकाले सोको समाधान गर्नु अति आवश्यक भएको छ ।

पृथ्वीमा भएका अनेकौं तत्वहरूमध्ये एकको घटी वा बढीले अरूलाई समेत असर पार्छ । अन्य प्राणी, वनस्पति तथा समग्रमा जीवित प्राणी र मानव जातिको अस्तित्वमा समेत प्रश्नचिह्न लाग्न सक्छ । पृथ्वीमा भएका विविध तत्वको कारणले वातावरणको नियन्त्रणमा भएको उदासीनताले वातावरणको क्षेत्रमा चिन्तित हुनुपर्ने अवस्था छ । वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनीतिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएको वातावरण विनाश मानव बाँच्ने आधार संख्याहरू नष्ट हुँदै गएर पग्लिँदो हिमश्रृंखला जल्दोबल्दो समस्यामा परिणत भएकोले वर्तमान समयमा वातावरणलाई वातावरणप्रेमीले अति महत्वका साथ हेर्न थाल्नु स्वाभाविकै हो । तर, सम्बन्धित सरकारी पक्षले आफ्नो दायित्व पूरा गर्न सकेको छैन ।
उल्टो सरकारवरिपरि घुम्नेले प्राकृतिक स्रोतको दोहन गरी विपद् निम्त्याएका छन् । योजनाकार तथा नीति निर्माताहरू वातावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा नपुगेको कारण यो वातावरणीय दुर्दशा भई पृथ्वीमा ठूलो असर परेको छ । यसको असर ओजोन तहमा समेत परेको छ, जसको परिणाम विगत तथा हालमा मानिसले वातावरणप्रति गरेको परिणाम तथा त्यसले मानिसलाई पारेको नोक्सानीलाई हेर्दा वातावरणको यथोचित संरक्षणबिना दिगो विकास दीर्घजीवी हुन नसक्ने प्रस्ट छ । मानव जातिको समुन्नति एवं अस्तित्वकै लागि पनि वातावरणको महत्व प्रस्ट हुँदै गएको छ । तसर्थ, मानवजातिको सुख, समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जति महत्व छ त्यत्तिकै मात्रामा वातावरणको संरक्षण पनि अपरिहार्य छ । वातावरणीय विनाशले नेपाल र नेपालीहरूको वातावरणीय परिवेशमा नकारात्मक परिणाम ल्याएको छ ।
यसै सिलसिलामा विश्वभरि नै अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइयो । नेपाल पनि विभिन्न कार्यक्रमका साथ यो दिसव मनाइयो । पृथ्वी दिवसको पृष्ठभूमिलाई हेर्दा सन् १९७० को अप्रिल २२ मा अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा वातावरण शिक्षा कार्यक्रमको रूपमा प्रथम पटक यो दिवस मनाइएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई प्रेरणा दिएको थियो । क्रमशः सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाको बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने गरेको पाइन्छ । बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, तीव्र औद्योगीकरणले पृथ्वीको वातावरण तथा ओजोन विनाशलाई निम्त्याएको छ । यस वर्षको विश्व पृथ्वी दिवसको नारा इन्भेस्ट इन आओर प्लानेट अर्थात् पृथ्वीमा लगानी गरौँ भन्ने रहेको छ । सोका लागि प्रकृतिमा रमाउँदै रूख रोपी हरियाली बढाउने, पुनः प्रयोग गर्न मिल्ने ऊर्जाको प्रयोग, प्लास्टिकको कम प्रयोग तथा वातावरणीय संरक्षण गर्नु आजको आवश्यकता हो ।
मुख्यतः वातावरण तथा ओजोन तहको विनाशबाट जलवायु परिवर्तन भएको छ । जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्याको रूपमा देखिएको छ । हरितगृह ग्याँस उत्सर्जनमा न्यूनीकरण नहुनाले तापमान वृद्धि भएको छ । नेपालमा पनि राजधानी काठमाडौंमा बेलाबखत ३६ डिग्रीसम्म तापक्रम मापन गरिएको पाइन्छ । यो जलवायु परिवर्तनको असर हो । नेपालको हिमाली क्षेत्रमा ०.६ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न गई हिमश्रृंखला पग्लनु, पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टिजस्ता समस्या देखा पर्नु, २ हजार मिटरको उचाइसम्म लामखुट्टे देखा पर्नु, वन्यजन्तु लोप हुनु, कोभिड–१९ महामारीलगायत हैजाजस्ता रोग फैलनु, विनाशकारी आँधी र बाढी आउनु, नदीनालाको सतह घट्दै जानु आदि वातावरण तथा ओजोन तह विनाशबाट उत्पन्न परिणाम हुन् ।
६ दशकअगाडि नेपालको जनसंख्या करिब ५० लाख थियो भने हाल करिब ३ करोड पुगेको अनुमान छ । तर वन, जङ्गल र जमिनको क्षेत्र बढेको छैन, जमिनको उत्पादकत्व बढेको छैन । कृषि आकाशे पानीमा निर्भरता, आयातित बीउ, रासायनिक मल र कीटनाटक विषादीको प्रयोगबाट उत्पादन केही मात्रामा बढेको भए तापनि गुणस्तरीय र स्वस्थ खाद्यान्न पाउनु चुनौती भएको छ । सन् १९७०÷८० को दशकतिर अम्लीय वर्षाको समस्या चर्चामा थियो भने अहिले जलवायु परिवर्तनको चर्चा विश्वभर व्यापक छ । नेपालजस्तो कम विकसित देशमा औद्योगिक तथा सहरी विकासको क्रममा जल तथा वायु प्रदूषण र फोहरमैलाको समस्या र ग्रामीण भेगमा वनविनाश चुनौती बन्दै गएको छ । प्राकृतिक स्रोतको उच्च प्रयोगबाट सिर्जना भएको भू–क्षय, बाढी, पहिरो, कृषि उत्पादन र वनको उत्पादकत्वमा कमीजस्ता समस्याहरू वृद्धि भएका छन् । यी समस्याहरूले जनस्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । वन विनाश, भू–क्षय, बाढीपहिरोका साथै प्रदूषण एवं जलवायुको असरजस्ता वातावरणीय समस्या ठूलो चुनौती भएकाले सोको समाधान गर्नु अति आवश्यक भएको छ ।
वातावरण संरक्षण, हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् रूपमा प्रभाव पार्छ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वका लागि प्रकृतिबाट धेरै वस्तु ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट ।
नेपालको सन्दर्भमा अनियन्त्रित रूपमा डोजर चलाई प्राकृतिक स्रोतसाधनको दोहन, होहल्ला, आवाज तथा हर्न, कारखानाको ध्वनि, सिमेन्ट, गिट्टी उद्योग, इँटा उद्योग आदिले वातावरण विनाश भई सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । फोहोरमैला व्यवस्थापनका लागि उचित ल्यान्डफिल्ड साइट नहुनुलाई पनि वर्तमान वातावरणको विनाशको एक प्रमुख तŒवका रूपमा लिन सकिन्छ । घरायसी प्रयोजनबाट, कारखानाबाट, अस्पतालबाट, सडेगलेका वस्तुहरूबाट, वायु, जल, माटो आदिमा हानिकारक तथा घातक फोहोरमैला निस्कन्छ । यसको उचित व्यवस्थापनको अभावले पनि वातावरणमा तीव्र हानि पु¥याउँछ । यस्तै भू–क्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्ल वर्षा, वनविनाश, सवारी साधन तीव्र वृद्धि, अनियोजित सहरीकरण, अनियोजित औद्योगीकरण, जनसंख्या वृद्धि, जनचेतनामा कमी आदि कारक तत्वबाट वातावरण विनाश भई पग्लिँदो हिमश्रृंखलाजस्ता जल्दोबल्दो समस्या आदि वातावरण विनाशको कारक तत्वको उपज होइन र ? वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई वर्षायाममा वर्षा नभई धान, मकै, आलुजस्ता कृषि उत्पादनमा ठूलो असर परेको छ ।
जनचेतनामा वृद्धि, वन संरक्षण, बढ्दो सवारी साधनको नियन्त्रण, भू तथा जलाधारको संरक्षण, जनसहभागितामा वृद्धि, विद्यार्थीहरूको भूमिका, गैरसरकारी संस्थालाई उचित प्रयोग, नैतिक शिक्षा, आम सञ्चार दिगो योजनाकार, संरक्षणको मुख्य संरक्षक तत्वहरू हुन् । हामी सबै यसतर्फ लाग्नु जरुरी छ, नत्र नेपाल आमाले सराप्नेछिन् । पृथ्वी हामी र हाम्रा सन्तति सबैको साझा फूलबारी हो ।
अतः विश्वकै अपार प्राकृतिक सम्पदाको धनी राष्ट्र नेपालमा वातावरण संरक्षण गरी ओजोन तह बचाई बिहानीको सुनौलो सगरमाथा, शीतल फेवातालमा परावर्तित माछापुच्छ्रे को छाया, लालीगुराँसको फूलबीच लुकामारी खेल्ने डाँफेचरी, मुनाल, कालिजजस्ता चराचुरुङ्गी, चारकोसे झाडीले प्रसिद्धि कमाएका हाम्रा जङ्गल अनि त्यसमा छुनुमुनु गर्ने हरिण मृग, कस्तूरी, सावकहरू, गैंडाका केटाहरू, हात्तीका छावाहरू र कोइलीका मधुर स्वरहरू संरक्षण गर्नु हाम्रो दायित्व मात्र नभई कर्तव्य पनि हो । यो कर्तव्य पालना गर्न सकेमात्र हरेक वर्ष अप्रिल २२ मा मनाइने विश्व पृथ्वी दिवसले सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्