चार महिनामै रोकियो विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम

दाङ-घोराही उप महानगरपालिकाले चालू शैक्षिक सत्रमा सुरु गरेको विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था चार महिनामै रोकिएको छ ।
बालबालिकालाई स्वास्थ्य सचेतना दिन, स्वास्थ्य प्रवद्र्धन गर्न तथा आधारभूत स्वास्थ्य सेवासमेत विद्यालयमा उपलब्ध गराउने उद्देश्यले संघीय सरकारले यस प्रकारको नीति कार्यक्रम ल्याएको थियो । त्यसै अनुरुप घोराही उप महानगरपालिकाले पनि घोराही क्षेत्रमा रहेका नमुना विद्यालयका रूपमा रहेका माध्यमिक विद्यालय रझेना र पद्धमोदय नमुना माविमा यस प्रकारको कार्यक्रम सुरु गरेको थियो । तर विद्यालयमा राखिएका स्वास्थ्यकर्मीका लागि तलब खुवाउने बजेट रोकिदिएपछि अहिले मावि रझेनामा स्वास्थ्यकर्मी हटाइएको छ भने भरतपुरमा विद्यालय व्यवस्थापन समितिले तलब खुवाउने गरी चालू आर्थिक वर्षसम्मका लागि राखिएको छ । नगरले अन्य विद्यालयमा पनि यस प्रकारको कार्यक्रम विस्तार गर्नुपर्ने समयमा सञ्चालन भएका विद्यालयमा समेत बजेट रोकिदिँदा विद्यार्थीले समस्या भोग्नु परेको छ ।
घोराही उप महानगरपालिकाले बजेट दिएर राखिएको स्वास्थ्यकर्मी बजेट दिन छाडेपछि अहिले विद्यालयमा स्वास्थ्यकर्मी नराखिएको मावि रझेनाका प्रअ उद्धव न्यौपानेले जानकारी दिए । माघको महिनादेखि स्वास्थ्यकर्मीका लागि तलब खुवाउने बजेट नआएको उनले बताए । “विद्यालयसँंग आम्दानी छैन नगरले बजेट नदिएपछि स्वास्थ्यकर्मी राख्न छोडिएको हो,” प्रअ न्यौपानेले भने । यसका बारेमा पटक पटक उप महानगरपालिकामा जानकारी गराउँदासमेत सुनाइ नभएको उनको भनाइ छ । विद्यालयमा स्वास्थ्यकर्मी हुँदा विद्यार्थी बिरामी भई हाले विद्यालयमा नै प्राथमिक उपचार गरिथ्यो तर अहिले विद्यालयमा स्वास्थ्यकर्मी नहुँदा विद्यार्थीहरू सामान्य बिरामी पर्दा अस्पतालसम्म लैजानुपर्ने बाध्यता भएको न्यौपाने बताउँछन् । अहिले विद्यालयमा दैनिक जसो १-२ जना विद्यार्थी बिरामी पर्ने गरेको न्यौपाने बताउँछन् । “विद्यालयको आम्दानीको स्रोत छैन स्वास्थ्यकर्मीको आवश्यक छ कसरी अगाडि बढ्ने भनेर व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर अगाडि बढ्ने छौं ,” प्रअ न्यौपानेले भने । नगरले बजेट नदिएपछि अव आफ्नै खर्चमा भए पनि स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सोचमा आफूहरू रहेको उनले बताए ।
पद्धमोदय मावि भरतपुरले नगरले बजेट दिन छाडे पनि स्वास्थ्यकर्मीलाई राखिराखेको जनाएको छ । विद्यालयले आफ्नै खर्चमा स्वास्थ्यकर्मीलाई अहिले तलब खुवाउने गरेको विद्यालयका प्रअ रामप्रसाद जैसीले जानकारी दिए । गएको माघ महिनादेखि विद्यालयले नै तलब खुवाइ राखेको उनको भनाइ छ । “हामीले विद्यालय व्यवस्थापन समितिको बैठकबाट चालू आर्थिक वर्षको असार मसान्तसम्म राख्ने निर्णय गरेका छौं,” प्रअ जैसीले भने । असार पछि के गर्ने भनेर निर्णय पछि गरिने उनले बताए ।
यता घोराही उप महानगरपालिका शिक्षा महाशाखा प्रमुख विनोद गौतमले नगरले विद्यालयमा स्वास्थ्यकर्मीका लागि चार महिनाको बजेटको निकासा गरिएको बताए । त्यसपछि अहिले बजेट निकासा हुन नसकेको उनको भनाइ छ । “विभिन्न समस्याका कारण बजेट निकासा हुन सकेको छैन,” प्रमुख गौतमले भने । उप महानगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट यस प्रकारको कार्यक्रम सुरु गरेको उनले बताए । “हामीले यस प्रकारको कार्यक्रम क्रमशः विस्तार गर्दै लैजाने योजनामा रहेका थियो तर अहिले सुरु भएका विद्यालयमा समेत बजेट दिन सकिएको छैन,” प्रमुख गौतमले भने ।