‘बजारबाट हराएको पैसा खोज्दैछु’

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सृजना भएको संकेत गरेका छन् ।
पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको बताएका हुन् । मन्त्री शर्माले तरलताको अभाव सृजना गराउन ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताए । “पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु” नले भने, “हाम्रो पुँजी निस्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।”
उनँले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए । “नयाँ विकास भएका विभिन्न प्रविधिको दुरुपयोग गरेर क्यापिटल फलाई हुने प्रकृया देखा परेको छ” उनले भने, “त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् ।”
पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्ने क्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए । “बैंक ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु” उनले भने, “उत्पादन मुलुक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु ।” बैंकिङ प्रणालीमा बिस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुने उनले विश्वास व्यक्त गरे । अर्थमन्त्री शर्माले मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताए । “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डण्डी तथा डण्डीजन्य वस्तु, खानेतेल, प्लास्टिकलगायतको मुल्य बढेको छ । त्यस्तै ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाँडादर पनि वृद्धि भएको छ । अर्कातिर डलरको बिनिमयदर पनि बढेको छ” उनले भने, “त्यसैले यो सबैको चाप भुक्तानीमा पर्न गयो र शोधानान्तरस्थित हामीले सोचेभन्दा केही फरक पर्न गएको हो ।”
उनले पछिल्लो समय शोधानान्तर स्थिति सुधार हुन थालेको बताउँदै चाँडै अर्थतन्त्र लयमा आउने दावी गरे । रेमिट्यान्सको एजेन्ट कमिसनदर कम गराउन पहल भइरहेको तथा रेमिट्यान्स बचतमा १ प्रतिशत ब्याजदर बढी दिएर आकर्षित गर्ने काम भइरहेको पनि उनले बताए ।
‘बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ’
अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् ।
मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए ।“बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ” उनले भने, “अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु ।” उनले राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न नहुने पक्षमा आफू रहेको बताए । उनले चाँडै नै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने उनले बताए ।
उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृंखलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै बिस्तारै सुधार भइरहेको बताए ।