Logo

नमुना विद्यालय छान्दै घोराही

दाङ – घोराही उपमहानगरपालिकाले नमुना विद्यालय बनाउनका लागि विद्यालय छनोट गर्ने कार्य सुरु गरेको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७५-०७६ मा उपमहानगरपालिका क्षेत्रमा रहेका विद्यालयमध्ये नमुना विद्यालय छनोट प्रक्रिया सुरु गरेको हो ।
उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा चालु आवमा दुईवटा नमुना विद्यालय छनोट गर्ने जनाएको छ । नमुना विद्यालय छनोट गर्नका लागि उपमहानगरपालिकाले विद्यालयहरुको निवेदन मागेको छ । आएका निवेदनबाट विद्यालय छनोट गरिने घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत नारायण पौडेलले जानकारी दिए । विद्यालय छनोट गर्न उपमहानगरपालिका शिक्षा शाखाले निश्चित आधारसमेत तयार गरेको छ ।
विद्यालयलाई नमुना बनाउनका लागि केही रकम उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ भने केही रकम विद्यालय आफैंले व्यहोर्नुपर्ने भएको छ । उपमहानगरपालिकाले नमुना विद्यालय बनाउनका लागि प्रतिविद्यालय २ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
नमुना विद्यालय बनाउँदा विद्यालयमा शिक्षाको गुणस्तर राम्रो हुनुपर्ने, विद्यालयको आफ्नो शैक्षिक योजना हुनुपर्ने, नियम बनाएर त्यसको पालना गरेको हुनुपर्ने, शिक्षक तथा विद्यार्थी समयमा आउने र समयमा जानुपर्ने, विद्यालय व्यवस्थापन समितिको नियमित बैठक बसेको हुनुपर्ने तथा विद्यालयको विकास तथा शैक्षिक विकासका लागि योजना निर्माण गरिनु पर्ने आधारहरु तय गरिएको छ ।
उपमहानगरपालिकाले उत्कृष्ट शिक्षकलाई सम्मान तथा पुरस्कृत गरिने जनाएको छ । परीक्षा सकिएपछि उत्कृष्ट शिक्षकलाई सम्मान गरिने छ । यसले गर्दा शिक्षकहरुलाई अध्यापनमा थप हौसला प्रदान गर्ने शाखा अधिकृत पौडेलको भनाइ छ । जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयमा अहिले विद्यार्थीको अनुपातमा शिक्षक छैनन् । यसले शैक्षिक गुणस्तरमा समेत असर पुगेको छ ।
यसैबीच, घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालयहरुको कक्षा ८ को अन्तिम परीक्षामा होम सेन्टर नराख्ने भएको छ । यस वर्ष नगर क्षेत्रका विद्यालयमा विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयमा नभई अन्य नजिकैको विद्यालयमा परीक्षा दिनुपर्नेछ । त्यसैगरी परीक्षामा लेखिएको उतरपुस्तिकासमेत आफ्नै विद्यालयलाई जाँच्न नदिएर अन्य विद्यालयका शिक्षकलाई जाँच्न दिइनेछ । घोराही उपमहानगरपालिकाका विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब ४ हजार छ ।

प्रतिक्रिया दिनुहोस्