मेलम्ची खानेपानी आयोजना अनिश्चित
नयाँ ट्युबेल निर्माणको तयारीमा केयूकेएल

मेलम्चीको पानी आउने मिति अनिश्चित बनेसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नयाँ ट्युबेल निर्माण गर्ने तयारी अघि बढाएको छ ।
मेलम्चीको पानी आउने समय अनिश्चित बनेपछि उपत्यकामा देखिएको खानेपानीको हाहाकारसम्बन्धी समस्या समाधान गर्न नयाँ ट्युबेल खन्ने तयारी अघि बढाएको हो ।
मागअनुसारको खानेपानी आपूर्ति व्यवस्थापन हुन नसक्दा उपत्यकामा खानेपानीको समस्या बढ्दै गएको र समस्या समाथान गर्न र खानेपानीको आपूर्तिलाई सहज बनाउन थप ट्युबेल निर्माणको काम थालनी गर्ने तयारी गरेको केयूकेएलले जनाएको छ ।
केयूकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले ट्युबेलको पानीलाई प्रशोधन गरेर पाइपलाइनबाटै वितरण भइरहेको बताएका छन् । “अब नयाँ ट्युबेल निर्माणको काम थालनी गर्न नपर्ला मेलम्ची आएसँगै आपूर्ति सहज होला भन्ने लागेको थियो, तर मेलम्चीको पानी कहिले आउने भन्ने टुंगो लागेको छैन, त्यसैले खानेपानीको मागअनुसारको आपूर्ति केही सहज गर्न नयाँ ट्युबेल खन्ने तयारी गरेका हौं,” उनले भने, “मेलम्चीको १६ करोड लिटर खानेपानी आए पनि ट्युबेल त चाहिन्छ, मेलम्चीको सबै चरणको काम सम्पन्न भएपछि ५१ करोड लिटर पानी थप हुने छ, त्यसपछि भने हामीले सतहमुनिको पानी चलाउनु पर्दैन ।”
केयूकेएलका अनुसार चालू आर्थिक वर्षमा १३ वटा ट्युबेल निर्माण गर्ने लक्ष्य रहेकोमा टाखामा १, नरेफाँटमा १, सानेपामा १ ओटा ट्युबेल निर्माणको काम सम्पन्न भएको छ । ती ट्युबेलबाट दैनिक करिब ३० लाख लिटर पानी उत्पादन भइरहेको केयूकेएलले जानकारी दिएको छ । बाँकी मध्यपुरमा १, लोकन्थलीमा १, तार्केश्वरमा २, बूढानीलकण्डमा २, महालक्ष्मीस्थान १, ललितपुर १, भक्तपुरमा र चाँगुनारायणमा १ गरी १० ओटा ट्युबेल निर्माणको काम छिट्टै थालीन गर्ने तयारी भइरहेको केयूकेएलको भनाइ छ । हाल जमिनमुनि पानी भए नभएको विषयमा अध्ययन भइरहेको छ ।
केयूकेएलका अनुसार उक्त ट्युबेलबाट करिब एक करोड लिटर पानी व्यवस्थापन हुनेछ । २५ वटा पुराना ट्युबेल मर्मत गर्ने तयारी भइरहेको छ । उक्त ट्युबेलबाट ५० लाख लिटर थप हुने केयूकेएलले बताएको छ । केयूकेएलको तथ्याङ्कअनुसार हालसम्म १०१ वटा ट्युबेल रहेको र त्यहाँबाट तीन करोड लिटर पानी व्यवस्थापन भइरहेको छ ।
तर भूगर्भविद्हरूले भने जमिनमुनिको पानीको बढ्दो प्रयोगका कारण उपत्यकाको जमिनको सतह भासिँदै गइरहेको भन्दै चिन्ता जनाएका छन् । सतहमुनिको पानीको लेभल घटिरहेको र यसले जमिनसमेत भासिने खतारा बढाएको बताएँछन् भू–गर्भविद् डा. सुवोध ढकाल । “उपत्यकामा धेरै घर बनेर सतहमुनिको पानी घटेको छ, ढुंगेधाराहरू सुकेका छन्, जमिनमुनीको भण्डारको पानी निकालिएको छ तर पानी हाल्न सकिएको छैन, जमिनमुनि पानीको रिचार्ज बढ्न सकेको छैन,” उनले भने, “यसले पानी सुक्ने खतरा पनि बढिरहेको छ, मेलम्ची आएपछि जमिनमुनिको पानी केही संञ्चिति हुन सक्छ तर सतहमुनिको पानी संरक्षणका लागि पनि राज्यले नीति लिएर अगाडि बढ्नुपर्छ ।”
खानेपानी मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै दैनिक ४५ करोड लिटर दैनिक आवश्यक छ ।
हाल १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । मेलम्चीको पहिलो चरणको आयोजना सुधारको काम सम्पन्न भएपछि १७ करोड लिटर पानी थप हुने छ । दोस्रो चरणको आयोजना सम्पन्न भएपछि भने पुनः थप ३४ करोड लिटर पानी वितरण हुने सरकारको योजना छ । मेलम्चीको दुवै चरणको आयोजना सम्पन्न भएपछि काठमाडौंबासीले दैनिक ५१ करोड लिटर पानी पाउँनेछन् ।
मेलम्चीको पहिलो चरणको सम्पन्न आयोजनामा समस्या आएपछि उपत्यकामा खानेपानीको हाहाकार बढ्न थालेको छ । तर खानेपानी मन्त्रालयले चैत १५ सम्ममा मेलम्चीको खानेपानी उपभोक्ताको धारामा आउने दाबी गरेको छ । मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्टट्र्याकबाट सम्पन्न गर्ने तयारी भएको छ । चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना मर्मतको काम सम्पन्न गर्दै उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्टट्र्याकको माध्यमबाट आयोजना मर्मतको काम अगाडि बढाउन लागिएको हो । खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले मेलम्ची खानेपानी आयोजना सुधारको काम फास्टट्र्याकबाट अगाडि बढाउने तयारी भइरहेका जानकारी दिए ।