Logo

बाढी पहिरोका कारण मनाङमा जोखिम अझै बढ्दो

काठमाडौँ २ असार : सिन्धुपाल्चोक मेलम्चीमा बुधबार आएको बाढी । तस्बिर : रोशन सापकोटा/रासस

लमजुङ- सोमबार देखिको अबिरल वर्षाका कारण हिमाली जिल्ला मनाङमा जोखिम थपिँदै गएको छ । निरन्तर वर्षासँगै मस्र्याङदी नदी र विभिन्न खोलाखोल्सीमा आएको बाढीका कारण जोखिम बढ्दै गएको हो ।
मनाङको सदरमुकाम समेत रहेको चामे बजार आसपासका खोलाखोल्सीमा आएको बाढीले ठूला ढुंगा तथा रुखहरू बगाएर मस्र्याङदी नदीमा पु¥याउदा नदी थुनिएर चामेमा पुनः ताल बनेको मनाङ प्रशासनले जनाएको छ । चामे बजार नदी छेउमा रहेका एक दर्जन घर डुवानमा परेका छन् भने मनाङतर्फ जाने मोटरेवलपुल पनि जोखिममा परेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
सो बाहेक मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत हुम्डेमा गएको ठूलो पहिरोले मस्र्याङ्दी नदी थुनिँदा जोखिम उच्च भएको हो । हुम्डेको सप्रे खोलानजिकै गएको पहिरोले नदी थुनिएको र शनिबार अपरान्हसम्म त्यस तलपानीको बहाव घटेको प्रजिअ लामिछानेले जानकारी दिएका हुन् । अपरान्हपश्चात भने नदीमा पानीको बहाव अत्याधिक बढ्दै गएको छ ।
थुनिएको नदी एकैसाथ फुटेमा सदरमुकाम चामे र धारापानी, तालबजार सहितलमजुङ, तनहुँका क्षेत्रमा पनि प्रभाव पर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
चामेका स्थानीय मेघबहादुर विककाअनुसार मस्र्याङ्दी नदीमा पानीको बहाव बढेसँगै मोटरेवल पुलको सतहसमेत नाघेको छ । नदीमा पानीको बहाव अत्याधिक बढेपछि स्थानीयहरू अहिले आफ्नो घर छोडेर सुरक्षित स्थानमा बसेका छन् । बाढी र पहिरोबाट प्रभावित मनाङका विभिन्न क्षेत्रका करिब ८ सय नागरिकहरूलाई उद्धार गरी सदरमुकाम चामेमा सुरक्षित राखिएको मनाङ प्रशासनले जनाएको छ ।
सोमबारदेखि सुरु भएको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढी र पहिरोले मनाङका १ सय बढी घर प्रभावित भएका छन् । नासोङ गाउँपालिका–१ तालमा ३८ वटा घरहरू डुबानमा परेका छन् भने अन्य घरहरू पनि बाढीको उच्चजोखिममा रहेका छन् ।
यसैगरी मनाङको दुघखोला र मस्र्याङदी नदीको बाढीले पुरानो धारापानीमा रहेको नासोङ गाउँपालिकाको कार्यालय, प्रहरी कार्यालय, दुईवटा बैंकलगायत सर्वसाधरणका घरहरू पनि बगाएको छ । मनाङका सडक तथा अधिकांश खोलाहरूमा राखिएका अस्थायी पुलहरू बगाएकाले आवत–जावतमा समेत समस्या भएको छ ।
मनाङमा मौसम प्रतिकुलताका कारण उद्धारमा समेत समस्या भएको छ । हाल मनाङमै रहेको नेपाली सेनाको हेलिकप्टरले बाढी र पहिरोमा फसेकाहरूको उद्धार कार्य जारी राखेको छ । सेनाले हालसम्म करिब दुईसय जनाको उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । उद्धार गरिएकामध्ये करिब ३ सय जनालाई निर्माणाधीन कारागारको भवनमा राखिएको छ भने अधिकांश स्थानीयहरू सुरक्षित ठाउँमा पाल, टेन्ट टाँगेर बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्