Logo

सूचना प्रविधिको क्षेत्रमा शैक्षिक तालिम आदानप्रदान गर्न सम्झौता


नेपाल–भारत उद्योग वाणिज्य संघले नेपालमा भारतीय लगानी प्रविधि एवं नेपालमा रहेका युवा जनशक्तिको लागि रोजगारी प्रबद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । युवा रोजगार कार्यक्रमहरु ल्याउने प्रयास स्वरुप भारतमा सञ्चालित बिपिओ कम्पनी भर्टेक्स ग्लोवल सर्भिसेस ईण्डिया तथा नेपाली कम्पनीहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा भर्टेक्स ग्लोवल सर्भिसेस ईण्डिया तथा नेपालका कम्पनीहरु आईडा कन्सल्टिङ, काठमाडौं ईनष्टिच्युट अफ टेक्नोलोजी र टीम भर्टेक्स सर्भिस नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीसँगै भर्टेक्स ग्लोवल सर्भिसेस ईण्डियाले नेपालका कम्पनीहरुसँगको सहकार्यमार्फत नेपालका युवा जनशक्तिलाई विश्वमा सूचना प्रविधिको क्षेत्रमा कार्य गरीरहेका उद्योगहरुको माग बमोजिमको तालिमहरु उपलब्ध गर्न सहयोग गर्ने छ । यसका साथै तिनीहरुको स्तर निर्धारण तथा योग्यता स्तरोन्नति गरी विभिन्न स्तरमा रोजगारी उपलब्ध गराउने समझदारीपत्रमा उल्लेख छ ।
कार्यक्रममा होटल संघका अध्यक्ष सृजना राणाले लामो प्रयासपछि नेपाली युवाहरुलाई विश्वमा खपत हुने जनशक्ति निर्माणका लागि हुने सहकार्य पूरा हुने अपेक्षा गरिन् । नेपाल–भारत उद्योग वाणिज्य संघबीचको आर्थिक सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउन लागिपर्ने बताउँदै अध्यक्ष राणाले नेपाल र भारतीय कम्पनी बीच सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर हुनु सुखद भएको बताइन् । नेपाल र भारतबीच शिक्षा क्षेत्रमा पनि उल्लेख्य सम्भावना रहेको भन्दै उनले सूचना प्रविधिको क्षेत्रमा पनि दुई देशबीच सहकार्य गर्न सकिने प्रशस्त सम्भावना रहेको बताइन् ।
नेपाल–भारत उद्योग वाणिज्य संघको, कार्यक्रम, जनसम्पर्क तथा प्रकाशन समितिका सदस्य आर अशोक कुमारले यो कार्यक्रम विशेष रुपमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अध्ययन गरीरहेका तथा सूचना तथा प्रविधिको क्षेत्रमा विशेष रुची राख्ने विद्यार्थीहरुका लागि फलदायी हुने बताए । उनले विश्व बजारमा रहेको माग तथा नेपालमा रहेका युवा विद्यार्थीहरुको सूचना प्रविधिमा रहेको ज्ञानको स्तर परीक्षण गरी भर्टेक्स ग्लोबल सर्भिसेस ईण्डियाले नेपालमा रहेको कम्पनीहरुसंगको सहकार्य गर्ने बताए ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले सहमतिपत्रमा हस्ताक्षर गरी दुई देशका संस्थाहरुबीच सहकार्य गर्न अघि बढ्नु सुखद भएको बताए ।

प्रतिक्रिया दिनुहोस्