एजेन्सी
मंगलबार, मंसिर १२, २०७४
609

कतारको आर्थिक वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताएका छन् ।
गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जीसीसी) मा पर्ने देशहरूमध्ये पनि कतारमा सबैभन्दा धेरै आर्थिक वृद्धि भइरहेको जानकारी दिए ।

उनलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी देशहरूले नाकाबन्दी गरिरहेका बेला पनि तीव्र आर्थिक वृद्धि भइरहेको समाचार सम्प्रेषण गरेको छ ।
समाचारमा जनाइएअनुसार कतारले नाकाबन्दीपछि पनि आर्थिक अवस्था खस्कन नदिन सतर्कता अपनाएकाले वृद्धिदर तीव्र भएको हो ।
कतारले सन् २०१७ मा २.५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ ।
गभर्नर अल थानीले आगामी वर्ष आर्थिक वृद्धिदर अझ बढ्ने बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक वृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको जानकारी उनले दिए ।
साउदी अरब, बहराइन, इजिप्ट र युनाइटेड अरब इमिरेट्स् (युएई) ले गत जुन ५ देखि कतारमाथि कूटनीतिक समस्या सिर्जना गर्दै नाकाबन्दी गरेका छन् ।
कतारले आतंकवादी र अतिवादीहरूलाई सहयोग गरेको, उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउँदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन् । तर, उनीहरूको आरोपलाई कतारले भने पूरै अस्वीकार गरेको छ ।
नाकाबन्दी लगाएका देशहरूले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए ।
ती मागमध्ये इरानसँगको सम्बन्ध तोड्नुपर्ने र कतारमा रहेका टर्कीका सेनाहरू फिर्ता पठाउनुपर्ने लगायतका मागहरू मुख्य रहेका छन् । तर, सहमति नभएपछि नाकाबन्दी अझै पनि कायमै छ ।