एजेन्सी
बिहिवार, जेठ ३, २०७५
3649

टोकियो- जापानले पनि अमेरिकी निर्यातमा ४० करोड ९० लाख डलरको भन्सार लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियममा लगाएको भन्सारको बदलामा यो कदम उठाउन लागिएको एनएचकेले जनाएको छ ।
जापानी सरकारले यो योजनाको बारेमा विश्व व्यापार संगठनलाई सूचित गर्ने तयारी गरिरहेको छ । यस किसिमको जानकारीलाई विश्व व्यापारको नियमको प्रक्रियाको रुपमा अवलम्वन गरिने एनएचकेले जनाएको छ ।

यसलाई वासिङटनले पनि जापानलाई अमेरिकी भन्सार छुट पाउने मुलुकको सूचीमा समावेश गरोस् भन्ने प्रयासको अंशको रुपमा हेरिएको छ ।
टोकियोको भन्सारको बदलाको योजना अमेरिकाले जापानी सामग्रीमा लगाएको भन्सार जत्तिकै हुने एनएचकेले जनाएको छ ।
टोकियोले डब्लूटीओको नियममा आधारित भएर केही कदम उठाउने विमर्श गरिरहेको अवस्थामा बदलाको कारबाही गरिने वा नगरिने भनेर अन्तिम निर्णय भइनसकेको एक सरकारी अधिकारीले बताएका छन् ।
“हामीले कस्तो विशेष प्रतिक्रिया दिनुपर्छ भन्ने विषयका केही पनि निर्णय भइसकेको छैन । अमेरिकी भन्सारले जापानी कम्पनीमा पार्ने प्रभावको बारेमा अध्ययन भइरहेको छ । वासिङटनलाई जापानलाई पनि छुटको सूचीमा राख्नका लागि आह्वान गरिनेछ,” परिचय नखुलाउने शर्तमा अधिकारीले बताए ।
ट्रम्पको भन्सारको निर्णयबाट छुट नपाउनेमा जापान मात्रै प्रमुख अमेरिकी मित्र राष्ट्र हो । जापानी प्रधानमन्त्री सिन्जो अबेको अमेरिकी राष्ट्रपतिसँग नजिकको सम्बन्ध हुदाहुदै पनि छुटको सूचीमा जापान नपर्नुलाई धेरैले आश्चर्यका रुपमा हेरेका छन् ।
अमेरिकी निर्णयको बिरुद्धमा ईयू र चीनसँग साझेदार बन्ने वा नबन्न्ने भन्ने विषयमा टोकियो चिन्तित रहदै आएको छ । चीन र ईयूले अमेरिका बिरुद्ध समान किसिमको बदला लिने बताउदै आएका छन् । जापानको अमेरिकासँग बलियो अवस्थाको प्रतिरक्षा सम्बन्ध रहदै आएको छ ।
तर केही सरकारी अधिकारीले अमेरिकी कदमको बिरुद्धमा विश्व व्यापार संगठनमा व्यापार विवाद उठाउन सक्ने विषयलाई अस्वीकार गरेका छैनन् ।