एजेन्सी
मंगलबार, जेठ १, २०७५
2434

बेइजिङ- चीनको शिचुआन एयरलायन्सको विमान ३यू–६३३ मा अचानक ककपिटको झ्याल खुलेपछि विमानका को–पाइलट विमानको बाहिरनै झुन्डिएका छन् । यो घटना लगत्तै पुरै विमानमा हल्लीखल्ली मच्चिएको छ । तर पाइलटको विवेकका कारण अवस्थालाई नियन्त्रणमा लिइएको थियो ।
यो घटना भएको समयमा विमान करिब ३२ हजार फीटको उचाइमा थियो । हावाको गती तीव्र भएकाले यात्रुको सामान पनि यत्रतत्र भएको थियो । विमानमा भएको अधिकांश उपकरणले काम गर्न छोडेको थियो । उक्त समयमा पाइलट लियू शुआनजियानले यात्रुलाई स्थितिलाई आफू नियन्त्रण लिने बताउदै नआत्तिनका लागि आग्रह गरेका थिए । यसको २० मिनेटपछि लियूले विमानलाई सफल रुपमा अवतरण गराएका थिए ।

ठूलो दुर्घटनाबाट विमानलाई जोगाउन सफल भएकोमा पाइलटको प्रशंशा भएको छ । विमानमा सवार सबै यात्रु सकुसल र सुरक्षित भएको बताइएको छ । यो विमान चोङक्यूङबाट ल्हासाका लागि उडेको थियो । यो रुटमा १ सय भन्दा बढी उडान भरिसकेकाले यसको फाइदा भएको लियूले बताए ।
सिसा फुटे लगत्तै विमान भित्रको तापमानमा लगातार गिरावट आइरहेको थियो । सोही समयमा लियूले एयर ट्राफिक कन्ट्रोलमा विमानमा भएको घटनाको बारेमा जानकारी गराएका थिए । एटीसीको सहयोगबाट सफल अवतरण गराइएको थियो । विमानको झ्याल फुट्ने विषयमा अग्रिम रुपमा कुनै जानकारी आफूलाई नभएको र यो अचानक रुपमा फुटेको पाइलटले बताए ।