कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७
353

गोकर्ण अधिकारी-टोकियो, जापान -दक्षिण पश्चिम जापानमा शुक्रबार र शनिवारको भिषण वर्षापछि आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।बाढी, पहिरो र डुबानबाट कुमामोतो र खागोशिमा प्रिफेक्चर नराम्ररी प्रभावित बनेको छ ।कुमामोतो प्रिफेक्चरमा एक दशक यताकै ठूलो बर्षाले नदिहरुको सहत बढ्दा वस्ति क्षेत्रमा वितण्डा मच्चाएको हो ।
जुलाई ५ तारिख साँझ सम्ममा डुबानका कारण निधन हुनेको संख्या २५ नाघेको हो ।अझै एक दर्जन व्यक्तिको अवस्था चिन्ताजनक रहेको र त्यतिनै संख्यामा बेपत्ता रहेका छन् ।कुमामोतोको कुमा नदि सहित स्थानिय ११ बढी नदि तथा खोलामा पानीको सहत बढेर बस्तिमा पस्दा बिपदले बिनासको रुप लिएको थियो ।सबैभन्दा बढी हितोसी, आशिकिता लगायत शहर प्रभावित बनेको छ । यि स्थानमा शहरनै जलमग्न बन्दा स्थानियलाई अन्य क्षेत्रमा उद्दार गरेर लगिएको छ ।हालसम्म २ लाख १० हजार बढी नागरिकको उद्दार गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनिहरुलाई १ सय बढी आश्रयस्थलहरुमा राखिएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको यो क्षेत्रमा धेरै व्यक्तिलाई एकैस्थानमा राख्नुपर्दा कोरोना संक्रमण फैलनसक्ने चिन्ता अधिकारीहरुले गरेका छन् ।कुमा शहरमा रहेको एक बृद्धबृद्धा हेरचाह केन्द्रमा बाढी पस्दा मानविय क्षती धेरै हनुपुगेको बताईन्छ ।
उद्दार कार्य जारी रहेको बताउदै कुमामोतो प्रिफेक्चरका अधिकारीहरुले ३० वटा जिल्ला बाढी, पहिरो र डुबानबाट नराम्ररी प्रभावित भएको बताएका छन् ।यहाँको मौसम एजेन्सीले आगामी केहीदिन लगातार बर्षा हुने सम्भावना रहेको बताउँदा प्रभावितहरु थप समस्यामा परेका छन् ।प्रधानमन्त्री आबे शिन्जोले नागरिकको सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँदै उद्दार र आश्रय स्थलको उचित व्यवस्थापनमा जोड दिन प्रिफेक्चर अधिकारीहरुलाई आग्रह गरेका छन् ।जापान सरकारले स्थानिय सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै उद्दारमा आत्मरक्षा बल सहित सबै उद्दार संयन्त्रहरु परिचालन गरेको छ ।सयौंको संख्यामा कुमामोतो तथा खागोशिमा क्षेत्रमा रहेका नेपालीहरु हालसम्म सुरक्षित रहेको नेपाली राजदूतावास जापानले जानकारी दिएको छ ।