एजेन्सी
बिहिवार, असार २५, २०७७
436

नोम्पेन-कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मंगलबार सो नीतिको घोषणा गरिएको हो ।
यहाँ कुकुरको मासुलाई निकै पौष्टिक तत्वयुक्त मासुका रुपमा लिइन्छ । यहाँका मासुका पारखीहरुका लागि पनि कुकुरको मासु लोकिप्रय मानिएको छ ।

तर यहाँ कुकुुरको मासु खाने महोत्सव पनि हुने र त्यसका लागि सो समयमा निकै निर्दयी रुपमा कुकुर मार्ने गरिएकोले जनावर अधिकारकर्मीहरुले यसको विरुद्धमा आवाज उठाउँदै आएका थिए । पशु अधिकारवादीहरुले मासुका लागि पशु मार्न नहुने, कुकुरलाई पनि मार्न नहुने र निर्दयी रुपमा कुकुर मारेर मासुको महोत्सव गर्न नहुने भन्दै विगत लामो समयदेखि माग गर्दै आएका थिए ।
त्यसको विरुद्धमा उनीहरुले अदालतसम्म पनि पुगेर मासुका लागि कुकुर मार्ने कार्यलाई रोक्न भनेका थिए । त्यसैले सरकारले यस्तो निर्णय गरेको जनाएको हो । सिम रिप प्रान्तको कृषि विभागले मंलबार राति अबेर सो नीतिको घोषणा गरेको थियो । मासुका लागि कुकुर मार्ने र त्यसको महोत्सव गर्ने काम अराजक देखिएको र यो पशु अधिकारको विरुद्धमा भएको भन्दै यस्तो प्रतिबन्ध लगाएको जनाएका हुन् ।
उक्त प्रान्तका अधिकारीहरुले मासु खाने प्रयोजनका लागि कुकुर समात्ने, काट्ने तथा बेच्ने कुनै पनि व्यक्तिलाई एक हजार ५०० देखि १२ हजार २०० अमेरिकी डलर बराबरको जरिबना गराइने बताएका छन् ।