कारोबार संवाददाता
शुक्रवार, बैशाख ५, २०७७
910

जापान सरकारले सात प्रिफेक्चरमा लागू गरेको आपतकाललाई जापानभर विस्तार गर्ने घोषणा गरेको छ । कोरोना भाईरससँग जुध्न बनाइएको नयाँ कानुनमा टेकेर सरकारले अप्रिल १६ तारिख मध्यरातबाट जापानभर आपतकाल लागू गर्ने घोषणा गरेको हो ।
सरकारको निर्णयसँगै अप्रिल १७ तारिखको सुरुवातसँगै जापानभर आपतकाल लागू हुनेछ ।

प्रधानमन्त्री शिन्जो आबेले आपतकाल लागूको घोषणा गर्दै प्रत्येक व्यक्तिलाई नगद दिने विषयमा अध्ययन अघि बढेको र हरेक व्यक्तिलाई १० मान समान किसिमले दिइने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार रातको ८ बजे बसेको बैठकपछि आपतकाल लागू गर्ने घोषणा भएको हो ।
होक्काईदो सहित ईबाराकी, इशिकावा, गिफु, आईचि, क्योतो लगायत प्रिफेक्चरले आफुहरुलाई पनि आपतकाल लागू गरिएको सूचीमा समावेश गर्न आग्रह गरिरहँदा सरकारले देशभर आपतकाल लागूको घोषणा गरेको हो ।
अन्य प्रिफेक्चरहरुमा समेत संक्रमणको दर बढिरहेको र एक प्रिफेक्चरबाट अर्को प्रिफेक्चरमा जाने नागरिकको संख्या कायम रहेकोले देशव्यापी आपतकाल घोषणा गरिएको बताईएको छ ।
आपतकाल यसअघि घोषणा गरिएको मितिसम्म अर्थात् मे ६ तारिखसम्म लागू हुने भएको छ ।
आपतकाल लागूको घोषणा गर्दै प्रधानमन्त्री आबेले नागरिकहरुलाई अनावश्यक घरबाहिरको यात्रा रोक्न तथा गोल्डेन विकको बिदा लगायत अन्य अनावश्यक यात्रा बन्द गर्न र घरमै रहन नागरिकहरुलाई अनुरोध समेत गरेका छन् ।
प्रधानमन्त्री आबेले सम्वोधनका क्रममा आपतकाल घोषणाबाट कम्तिमा ७० देखी ८० प्रतिशत मानिहरुको आवागमन घट्ने लक्ष्य राखिएको बताएका छन् । मानिसहरुलाई परेको असहज परिस्थितिको लागि क्षमा माग्दै प्रधानमन्त्री आबेले यो असहज परिस्थितिमा संक्रमण फैलनबाट रोक्न थप सहकार्यको आशा व्यक्त गरेको छन् ।
प्रतिव्यक्ति १० मान येन उपलब्ध गराउने विषय अघि बढेको बताउँदै जापानी प्रधानमन्त्री आबेले यस बाहेक कोरोना संक्रमणका कारण आम्दानी उल्लेख्य रुपमा घटेर समस्यामा परेका परिवारका लागि ३० मान येन समेत उपलब्ध गराउने योजना आफूसँग रहेको उल्लेख गरेका छन् ।